उत्कृष्ट प्रहरी कर्मचारी थापा छनोटमा « प्रशासन
prasaLogo
९ बैशाख २०७८, बिहीबार

उत्कृष्ट प्रहरी कर्मचारी थापा छनोटमा


प्रकाशित मिति : 22 April, 2021 12:48 pm

वाग्मती । गत चैतमा प्रदेशकै उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा प्रहरी निरीक्षक रोशन थापा छनोटमा परेका छन् । वाग्मती प्रदेश, प्रहरी कार्यालयले प्रत्येक महिना घोषणा गर्ने प्रदेशस्तरीय उत्कृष्ट प्रहरी कर्मचारीको चयन गर्ने क्रममा गत महिना उनी परेका हुन् ।

वाग्मती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनस्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले कार्यालयले कार्यविधि नै बनाएर प्रत्येक महिना प्रदेशस्तरीय उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।

प्रहरी निरीक्षक थापालाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढङ्गबाट सम्पादन गरेको, टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, सञ्चालनलगायत कार्यमा नियमित खटिइ उत्कृष्ट श्रव्यदृश्य सामग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माण गरेको जनाइएको छ ।

प्रदेशअन्तर्गत २२ भन्दा बढी रेडियो स्टेशनबाट समेत पाक्षिक रूपमा प्रहरी दर्पण कार्यक्रम प्रसारणको व्यवस्थाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको, प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कार्यालय प्रमुखबीच भएको कार्यसम्पादन सम्झौताको मासिक प्रगति विवरणको मूल्याङ्कन गर्ने कार्यमा अहम् जिम्मेवारी निर्वाह गरेकाले उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ ।

मकवानपुरमा वडा प्रहरी कार्यालय हेटौंँडा सानो पोखराका कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट मकवानपुरकै उत्कृष्ट प्रहरी कर्मचारी बन्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको मूल्याङ्कनको आधारमा विष्ट मकवानपुरको प्रहरी कर्मचारीभित्र चैत महिनाको ‘बेष्ट पुलिस’ घोषित भएका हुन् ।

वडा तथा नगर क्षेत्रमा हुने घटना तथा दुर्घटना न्यूनीकरण, गैरकानूनी रूपमा हेटौँडा बसेका चिनियाँ नागरिक, हराएको मोटरसाइकल फेला पर्न देखाएको सक्रियता र हेटौंँडा–२ र ५ मा लागेको डढेलो नियन्त्रणमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालयले विष्टलाई जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

विष्टलाई मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उत्कृष्ट पुलिसको प्रसंशापत्र प्रदान गरे । प्रहरी निरीक्षक विष्ट अनुसन्धानमा अब्बल मानिन्छन् । यसअघि भक्तपुरमा रहँदा उनको सबल अनुसन्धानले भक्तपुर प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने सफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस