काठमाडौँ । लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने जनता समाजवादी पार्टी (जसपा) चार सांसदलाई मन्त्री बनाउने भएका हुन्।
सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ता गरेका थिए।
अविश्वासको प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रले पोखरेलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। माओवादी केन्द्रका दुई मन्त्रीहरूले राजीनामा दिएका थिए।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पोखरेलले नयाँ मन्त्री थप्न लगेका हुन्। उनीहरूको सपथ ४ बजे हुने बताइएको छ।
अविश्वास प्रस्ताव दर्ता गरेको दुई घन्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन्।
माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन्। मन्त्रीहरूको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने स्रोतले दाबी गर्यो।
यीमध्ये कल्पना पाण्डेबाहेक अरू सबैले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।







