काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ।
कोरोना भाइरस संक्रमणको जालो भत्काउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पढाउने व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
अहिले कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेको मन्त्रालयले बताएको छ । प्रवक्ता गौतमले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्नुपर्ने बताएका छन् ।
बरु जनस्वास्थ्य मापदण्ड पालना गर्छौँ तर विद्यालय बन्द नगरौँ भनेर जोखिमसँग खेल्न नहुनेसमेत गौतमले बताएका छन् । हिजो शिक्षा मन्त्रालयले आयोजना गरेको छलफलमा विद्यालय सञ्चालकहरुले बरु जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्ने व्यवस्था मिलाइनुपर्ने तर विद्यालय बन्द गर्न नहुनेमा जोड दिएका थिए।
त्यसपछि तत्कालै विद्यालय बन्द गर्ने मनस्थितिबाट शिक्षा मन्त्रालय पछि हटेको थियो।स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमणको चेन ब्रेक गर्न विद्यालय बन्द गर्नुको विकल्प नरहेकोले एक महिना बन्द गर्नका लागि सरकारलाई सिफारिस गरेको छ।