एक वर्षदेखि बिजुलीको पर्खाइमा कालिकोटवासी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एक वर्षदेखि बिजुलीको पर्खाइमा कालिकोटवासी


२९ चैत्र २०७७, आइतबार


मान्म । कालीकोटवासी झण्डै एक वर्षदेखि विद्युतकाे प्रतीक्षामा छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महिना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासी एक वर्षदेखि विद्युतकाे प्रतीक्षामा रहेका हुन् ।

सान्तीघाट जलविद्युत् आयोजना हालसम्म नबन्दा जिल्ला सदरमुकाममा हाल जेनेरेटरको माध्यमबाट दैनिक दुई घण्टा बत्ती दिने गरिएको छ । कालीकोटवासीलाई भने जलविद्युत् आयोजना कहिले बन्ला र विद्युत् कहिले आउला भन्ने पिरलो छ । यसको मर्मत हुने कुनै आधार नभएकाले विद्युत्का पोल र तारका लाइन हेरेर चित्त बुझाउने अवस्था आएको खाँडाचक्र नगरपालिका–१ का स्थानीयवासी प्रेमबहादुर शाहीले बताए। उनले विद्युत् नियमित नहुँदा दैनिक कामकाजमा असर पार्ने गरेको बताए ।

कालीकोटका सान्तीघाट जलविद्युत् आयोजना र राष्ट्रिय प्रसारण लाइनका विद्युत्का पोल र लाइन गाउँमा आए पनि बत्ती कहिले आउला भनेर बाटो हेरेर बसेको रास्कोट नगरपालिका–६ का विक्रमबहादुर शाहीले बताए । विद्युत् तारको लाइन आइपुग्दा बत्ती पनि छिटो सञ्चालन गर्न माग गरे। ‘नगरका सबै वडामा पोल गाडेर तार तान्ने काम भइसकेको छ तर बत्ती आउने कुनै टुङ्गो छैन’, उनले भने।

कालीकोटको एक मात्र आयोजना सान्तीघाट जलविद्युत् आयोजनाको उत्पादन भइरहेको विद्युत् बिग्रेकाले बनाउने काम भइरहेको छ । सान्तीघाटभन्दा राष्ट्रिय प्रसारण लाइन ल्याउने गरी गाउँमा विद्युतीकरणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।

गाउँमा लाइन विस्तार गरेर ठिक्क पार्ने र राष्ट्रिय प्रसारण लाइन आउनेबित्तिकै गाउँमा बत्ती दिने कार्यालयको योजना रहेको वितरण केन्द्र्रका प्राविधिक शिवचन्द्र चौलागाईँले बताए । ‘पहिला गाउँगाउँमा विद्युत्का पोल र तार तान्ने काम भइरहेको छ’, उनले भने,‘त्यो काम चाँडै सम्पन्न हुन्छ, राष्ट्रिय प्रसारण लाइन जोड्ने काम हुनेछ ।’

आर्थिक सर्वेक्षण, २०७५ अनुसार कर्णालीका ७३ प्रतिशत जनता विद्युत् पहुँचभन्दा टाढा छन् । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये हुम्ला, जुम्ला, कालीकोट, डोल्पा र मुगु जिल्लाका ४३ स्थानीय तहमा अझै विद्युत्को पहुँच पुग्न सकेका छैनन् । कर्णालीका १७ लाख ७० हजार नागरिकमध्ये अझै ७३ प्रतिशत जति बत्तीविहीन छन् । कर्णालीमा नौ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो तर साविक कर्णाली अञ्चलका ८० प्रतिशत नागरिक अँध्यारोमै दिन गुजारा गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस