काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका कुनै पनि शर्त मान्य नहुने प्रष्ट पारेका छन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा झलनाथ खनाल सहितका नेताहरुले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन माग गरेपछि ओलीले यस्तो जवाफ दिएका हुन् ।
अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताएका छन् । ओलीले एमाले २०७५ जेठ २ मै फर्किएको भन्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरुको व्यवस्थापनमात्र भएको बताएका थिए ।
उनले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय कुनैपनि हालतमा फिर्ता नहुने बताए । ‘फिर्ता नहुनेसमेत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईहरु यसबीचमा बैठकमा आउनुभएन,अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन ।’
ओलीले माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेको भन्दै माधव र भीम रावलको स्पष्टिकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारवाहीको भागिदार हुने बताएका छन् ।
ओलीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेबाट त्यस्तो स्पष्टिकरण नआउने अपेक्षा समेत गरेका छन् । मुख्य नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले माधव नेपाल र भीम रावलमाथि केन्द्रीय कमिटी बैठकबाटै कारवाहीको निर्णय हुने बताए ।