सर्वदलीय बैठकमा ओलीले भने : सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सर्वदलीय बैठकमा ओलीले भने : सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु स्वाभाविक रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।

राष्ट्रपति निवास शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा सहभागी नेमकिपा सांसद् प्रेम सुवालका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाएका थिए । ‘प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो । उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन’, सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।

सुवालका अनुसार प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि असन्तुष्टि जनाएका थिए । ‘चुनाव प्रतिगमन कसरी हुन्छ ? अबको डेढ वर्षमा स्थानीय तहको चुनाव हुन्छ र दुई वर्षमा संघ र प्रतिनिधिसभाको हुन्छ, त्यस्तो अवस्थामा चुनाव कसरी प्रतिगमन हुन्छ ? भनेर प्रश्न गर्नुभएको थियो,’ सुवालले भने ।

दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल तथा पूर्वप्रधानमन्त्रीहरुसँग मंगलबार अपराह्नका लागि सर्वदलीय बैठक आह्वान गरेकी थिइन्।

संघीय संसद्मा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई भने सहभागी भएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस