काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खानल पक्षीय नेताहरूप्रति लक्षित गर्दै उनले चैत ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिएका हुन् ।
अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दै उनले पटक–पटक बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।
‘२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला,’ उहाँले भन्नुभयो, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’
प्रधानमन्त्री ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले कसैलाई कतैबाट ननिकालेको बताए । तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताए ।