चार महिने भ्रूणको बिलौना ! « प्रशासन
prasaLogo
२९ फाल्गुन २०७७, शनिबार

चार महिने भ्रूणको बिलौना !


प्रकाशित मिति : 13 March, 2021 8:48 am

कुनै एक रात अनायासै मेरो बाबुको शुक्रकीट आमाको डिम्ब सँग मिलन भयो अनि म नयाँ चेतना बोकेर पाठेघरको एक कुनामा समाहित हुन पुगेँ । त्यसपछि सुरु भयो मेरो वास्तविक कहानी । म त्यही शुक्रकीटको एक अंश लिएर आमाको डिम्ब सँगै रुमलिए । लाग्छ त्यो दिन मेरा लागि मात्र होइन परिवारको लागि पनि सुखद थियो । त्यो मिलनको क्षण बाहिरबाट नदेखिएता पनि त्यो अदृश्य शक्ति म सँग थियो । किनकि आत्मा वा चेतना कहिल्यै नाशवान् हुँदैन । नाश हुने त केवल मन र शरीर न हो ।

त्यसपछि आमालाई त्यतिबेला मात्रै थाहा भयो जतिवेला आमाको रजस्वलामा पूर्णविराम लाग्यो । अनि सुरु भयो उकउक र सामान्य बान्ताको सुरुवात । केही पीडा भए पनि आमाको अनुहारमा खुसी थियो । बुवाको चेहरा झन् उज्यालो थियो । बुवा खुसी नहुन् पनि कसरी पूरा २४० दिन पेटमा आमाले हुर्काउँदाको पीडा बालाई के थाहा ?

मात्र एक अंश शुक्रकीट सापटी दिएमात्र पुग्ने कत्ती मज्जा केटा मान्छेलाई । आमा कहिलेकाहीँ गनगनाउँदै त्यहीँ गुनासो गरेको सुन्थे म ।

एउटा सानो अंश म बिस्तारै डल्लोमा परिणत हुँदै गए। आमाको उक उक र वान्ताले कहिलेकाहीँ मलाई असजिलो हुन्थ्यो । तर पनि म सुरक्षित भएको महसुस गर्थे । हुनत बच्चाको लागि आमाको पेट जस्तो सुरक्षित अरू ठाउँ यो संसारमा कुन होला ? म बिस्तारै बढ्दै गए । मेरा प्रत्येक अङ्गहरूले सामान्य रूपरेखा तयार गर्ने तयारीमा थिए ।

यस्तै साढे तीन महिना जति भएको हुँदो हो । बुवाआमा रातमा माया प्रेमका गफ गरेको सुन्ने मेरो बानिनै परिसकेको थियो । कहिलेकाहीँ मलाई असजिलो हुन्थ्यो । केही चिजले सामान्य घोचे जस्तो हुन्थ्यो । पछि थाहा भो म पेटमा हुँदा पनि छोडेनन् बाले आमालाई । यस्तो बेलामा संसर्ग गर्न हुन्न भन्ने कुरा थाहा छैन कि क्या हो ? हाम्रा बा आमालाई । कहिलेकाहीँ अलि बढी असजिलो हुन्थ्यो म अलि सुरक्षित कुनातिर जान्थे । पछि यो क्रियाकलापमा पनि कमी आयो । सायद आमाले नमानेर होला । म लगभग १६÷१७ हप्ता जतिको भएको थिए ।

एक रात जब बा र आमा गम्भीर भई मसिनो कुरा गरिरहेको सुने । बा आमा दुवै सल्लाह गरी एक मतले भन्दै हुनुहुन्थ्यो भोलि हस्पिटल गएर चेक गर्ने । छ भने राख्ने । छैन भने फाल्ने र सफा गर्ने । राख्ने ! फाल्ने ! सफा गर्ने ! के भनेका हुन् ? मेरा बा आमाले मैले केही कुरा बुझिन । यो भन्दा अघि बा आमाले यस्तो मैले नबुझ्ने कुरा कहिल्यै गरेका थिएनन् । संसर्ग गरेको त टुलुटुलु भित्रबाट हेर्ने म, आज राख्ने र फाल्ने शब्दलाई बुझिन। सोधपुछ गर्ने कुरा पनि आएन । राति मनमा कुरा परे पनि आमा निदाएपछि म ननिदाउने कुरै भएन ।

भोलिपल्ट बिहानै मोटरसाइकलमा बसेर २० कि.मि. पर रहेको एक प्राइभेट हस्पिटलमा बाले आमालाई लिएर जानुभयो । म पनि अलिअलि थेचारिँदै सँगै गए । डाक्टरले राम्रै चेक गरे ।बाले झ्याप्प सोधिहाल्नु भो । के छ ? डाक्टर सा प ? डाक्टरले उत्तर दिइहाले छोरी । छोरी ! बा को अनुहार कालो भयो । आमाको अनुहार मलिन भयो । दुवैको मुहार हेर्न लायक थिएन । बा थ्याच्च कुर्सीमा बस्नुभयो । मैले सबै कुरा थाहा पाएँ ।

म भन्दा अघि २ दिदीको जन्म भइसकेको रहेछ । एउटी ४ वर्षकी र अर्की साढे दुई की । हिजो रातिको कुरा पनि त्यही रहेछ । म तेस्रो छोरी हुन लागेकी रहेछु । मेरो मन खिन्न भो । आमा रुनु भो । बा केही बोल्नु भएन ।

बाले डाक्टरलाई भन्नू भो डाक्टर साब एभर्सन गर्न मिल्छ ? यो एभर्सन भनेको केहो ? मलाई थाहा थिएन तर डाक्टरको मुखबाट एउटा शब्द निस्कियो । त्यस पछि म डरले थरथर भए काम्न थाले । रोएँ, मन एकदम नरमाइलो भो । डाक्टर भन्दै थिए, हेर्नुस् यो पेटको बच्चा मार्ने कुरा नगर्नुस् । ४ महिना भएपछि धेरै गाह्रो हुन्छ । मलाई थाहा भो । यी पापीहरुले मलाई यहाँ मार्न ल्याएका रहेछन् । हिजो रातिको राख्ने र फाल्ने कुरो यही रहेछ । मलाई आमाको पेट च्यातेर बाहिर आएर दुवैको मुखमा थुकदिम जस्तो भयो तर नसकिने कुरा कल्पना गरेर मात्रै के फाइदा ?

करिब आधा घण्टापछि मेरो मन हलुका भयो । मैले डाक्टरलाई मुरिमुरी धन्यवाद दिए । नेपालका सबै डाक्टर यस्तै होउन् । खुसी हुँदै संसार देख्ने मेरो आस बलियो हुँदै गयो ।

हस्पिटलबाट एकदम मलिन अनुहारमा बाआमा घरमा आउनु भो । घरमा कुनै प्रकारको खुसी आएन । कहिलेकाहीँ आफ्नै लिङ्ग देखेर घृणा लाग्थ्यो । कमसेकम केटाको रूप र आकार लिएको भए परिवारमा कति खुसी आउँथ्यो होला दुई दिदीको म प्यारो भाइ आहा ! म कल्पना गर्दै निदाउँथे ।

एक हप्ता पछि मेरो मनमा फेरि भुईँचालो आयो । फेरि छटपटी भो । रुन मन लाग्यो । पेट भित्र यताउति गर्न थालेँ । बालाई एक जनाले कुरा लगाइदिएछन् । ४ महिनाको बच्चा भारतको गोरखपुरमा फाल्छ रे ! यो कुरो बाले आमालाई सुनाउँदा आमा पनि बेखुसी हुनु भएन । यी कस्ती आमा हुन् आफ्नै पेटको बच्चा मार्न लाग्दा पनि नाइँ भन्न नसक्ने । आमा बा झैँ खुसी नभए पनि भोलि नै गोरखपुर जाने कुरामा आमा पनि सहमत हुनु भयो ।

मलाइ रातभरि निन्द्रा लागेन । रातभरि खुट्टाले आमाको पेटमा हानिरहे । तर आमाले थाहा पाउनु भएन। मैले मनमनै भगवान् सँग प्रार्थना गरे । भोलिपनि डाक्टरले अस्ति नेपालकै डाक्टरले भने जस्तै भनिदिओस् । अनि बाआमालाई रुँदै भने ‘मलाइ जन्माउनुहोस् बाआमा म तपाईँहरूको इज्जतदार अनि मेहनती छोरी बन्नेछु, धेरै पढ्नेछु, अनि डाक्टर बनेर तपाईँहरूको सेवा गर्नेछु, यो संसारमा छोरीले पनि केही गर्न सक्छन्, मलाइ मारेर पाप नबोक्नुहोस् ।’

तर यी सबै याचनाहरू, संसार हेर्ने मेरा कल्पनाहरू पेटमा मात्रै सीमित थिए । यो याचना म र आमाको पाठेघरले बाहेक अरू कसैले सुनेको थिएन ।

भोलिपल्ट फेरि बिहानै गोरखपुर पुगियो । पहिलो पटक सुनौली नौतवनाबाट रेल चढियो । त्यो पनि रमाइलो नै लाग्यो । बाटोभरि मनमा डर भन्दापनि आशा लागिरह्यो नेपालको डाक्टरले जस्तै मिल्दैन ? भन्छन् की भनेर । आखिर डाक्टर त सबै एउटै हुन् । आशा अनि विश्वासले गर्दा त्यति डर लागेन ।

डाक्टरले पूरा भिडियोले मलाई हेर्दै कम्प्युटरमा केके गर्न थाले । १५ मिनेटमा नै डाक्टर बा भएको ठाउँमा आएर र भन्न थाले ‘…बच्चो ४ महिनोकि होतिए, एभर्सनके लिए ज्यादा गाह्रो होतिए, बट् हम सफल करदुङ्गा चिन्ता मत किजिए, पैसा अलिक ज्यादा लाक्तिए… त्यस्तै त्यस्तै … !

साला देशीले किन हुन्न भन्थ्यो र ? पैसाको बार्गेनिङको लागि रहेछ । बा तयार हुनु भो १२००० आइसी दिन । पैसाको कुरो मिलेपछि मेरो होसहवास नै उड्यो । चार महिनामा नै पेट भित्रबाटै टुक्राटुक्रा भएर जानू लेखेको रहेछ मलाई ।

कत्रो आस थियो धर्तीमा टेकेर यो संसारमा एक प्रेरणादायी नारीको रूपमा स्थापित हुने अनि बाबुआमा, घरपरिवार र समाजको सेवाको लागि समर्पित हुने, तर आफ्नै बाबुआमा नै कलङ्कित भएपछि कसको के लाग्छ र ?

तर, याद गर्नुस् ! मेरो शरीरलाई मारेपनी मेरो आत्मा वा चेतना जीवित रहन्छ । र म अर्को जन्म लिएर फेरि आउने छुँ । तर तिमी पापीहरूको कोखमा होइन, छोरीलाई सम्मान गर्नुपर्छ भन्ने मायालु र दयालु बाबुआमाको कोखमा पुनर्जन्म अवश्य हुनेछ ।

यी र यस्ता कल्पनाहुरु मनमा तुफान बनेर आइरहे । करिब १ घण्टापछि नै आमालाई एउटा सुई लगाइयो । सुई सिधै मेरो शरीरमा आएर पोलेको आभाष भयो । भतभती पोलेको महसुस भयो । चीत्कार बढ्दै गयो अनि आशा पूर्णतया बन्द भयो । एक छिनमै योनिमार्ग हुँदै आएको एउटा तीखो कैचिजस्तो साधनले मेरो घाँटी थिचेको आभाष भयो । त्यही बेला ऐया ! ऐया !! भनेको शब्द नै अन्तिम थियो । तर अदृश्य चेतनाले भने डाक्टर र बाआमाको कर्तुत भने हेरिरहेको थियो, मौन रूपमा । मौन रूपमा ।।

Tags :
प्रतिक्रिया दिनुहोस