निलो स्कुटी ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निलो स्कुटी !


२२ फाल्गुन २०७७, शनिबार


मेरो कोठाको गल्लीनेर हुँइकिदै एउटा स्कुटी छिर्‍यो । नजिक, झन् नजिकै हुँदै आइरहेको त्यो स्कुटी मेरो घरको गेटनेर नआउन्जेल अघि बढिरह्यो, अनि झ्याप्प रोकियो । टयाँ..टयाँ.. गर्दै एकनासे हर्न बजाईरहयो ।

एकबिहानैको त्यो सुनसान र शान्त वातावरणलाई भङ्ग गर्न खोजे पनि नसकेपछि आफै हरेस खाई एकैछिनमा बन्द भयो ।

एउटा हातले हेलमेट झिक्दै अर्को हातले चापी समाएकी एक युवती बिस्तारै स्कुटीबाट तल ओर्लिन् । निलो जिन्स पाइन्ट गुलाबी टिसर्टमा ठाँटिएकी युवती एउटा हातले पाइन्टको खल्तीमा केही खोजेझैँ छामछुम गरिन् । झट्ट मोबाइल निकालिन् बाहिर । एउटा खुट्टाले मेरो घरको वालमा आड लाउँदै अर्को साईडतिर फर्की फोन गर्न थालिन् ।

मेरो मोबाइलमा चन्दाको फोनको घण्टी बज्यो । मोवार्इल उठाउन अनेक प्रयत्न गरेँ । तर पनि अहँ फोन उठ्दै उठेन, पटक्कै उठाउन सकिनँ । अनि त मोबाइल बजिरह्यो-पुरा कोठा नै गुन्जिनेगरी ।

झल्याँस्स निद्राबाट ब्युँझेँ ।

ओहो ! म त मस्त निद्रामा पो रहेछु । फोन बजिरहेको थियो, जस्कै आवाजले मेरो त्यो मिठो निदरी भङ्ग पारेको । तर आइरहेको फोन चन्दाको थिएन । काठमाडौँ सहरबाट मेरो साँईलो काकाले गर्नुभको फोन थियो त्यो ।

“हैन के परेछ र बुढाले बिहान बिहानै फोन गरेछन् आज ?” मनमनै यस्तो सोचेँ ।

फोन उठाएँ ।

“काका दर्शन !”

“सन्चै छ बाबु, अनि घरतिर, बाआमा सबै आरामै ?” काकाले उताबाट सोध्नुभयो ।

मैले पनि काकालाई फोनबाट दर्शन गर्दै काकी र भाईबैनाको समेत सन्चो बिसन्चो सोधेँ । कुराकानीकै क्रममा काकाले मलाई एकाबिहानै फोन गर्नुको कारण बताउनुभयो– राजधानी सहरमा काम मिल्योरे मलाई, कुनै एउटा स्कुलमा पढाउने जागिर । बेरोजगारी पीडामा छट्पटिएको म काकाको कुरा तुरुन्त मानेँ । घरमा सल्लाह गरेर भोलिबिहानै हिँड्ने बताएँ ।

म खुसीले गद्गद् थिएँ ।

बेलुका बाआमासँगको सल्लाह बमोजिम भोलिबिहानै काठमाडौँको साइत गर्ने कुरा भयो । बेलुका खाना खाएपछि लुगा र अन्य आवश्यक सामानहरू प्याक गर्‍यौँ । सबै तयारी पूरा गरेर म सुत्नको लागि बेडरुमतिर लागेँ ।

रातभरि अनेक थरिका कुराहरू मनमा खेल्न थालेँ ।

बेरोजगारी भई बस्दाका ती उराठलाग्दा सबै क्षणहरू एक पटक सम्झिन मन लाग्यो-अब कहिल्यै भोग्नु नपरोस् भनी । मैले जागिर पाएँ भने अब त्यस्ता दुःखहरू पक्कै दोहोरिने छैनन् । मेरो आफ्नै कमाई भएपछि त म पनि गाउँमा गनिन्छु होला केही सामाजिक काम गर्दा पनि । अनि मेरो पनि केही हैसियत बन्छ कि ?

यस्तै यस्तै सोच्दै रमाउन थालेँ, केही कल्पनामा नि डुबेँ ।

काठमाडौँ जान पहिलो बस भेट्ने गरी अल्लि बिहानै झिसमिसेमै घरबाट निस्किएँ । हुन त काठमाडौँ मेरो लागि नौलो थिएन, कारण म एस.एल.सी पछिको सबै पढाई उतै बसेर गरेँ । उता बसेर मेरो ब्याच्लर लेभलको पढाई सके पनि जागिर केही भेट्न नसक्दा गाउँ फर्किएको थिएँ ।

राजधानीबाट गाउँ फिर्ता भएदेखि अहिलेसम्म अनेक प्रयास गर्दा नि नोकरी गर्ने अवसर चाहिँ मिलेको थिएन । बेरोजगारी पीडाले छट्पटिदै जागिरको लागि व्याकुल भ’को म यसपाली केही उत्साही यसकारण भ’को थिएँ । हिजो पढाई सकेर खालि हात गाउँ फर्किदा युद्धमा हारेको सिपाहीजस्तो म, आज भने बडो जोशका साथ काठमाडौँ प्रस्थान गरेँ । बिहानै हिँडेको गाडी बाटोमा जाम पर्दा सम्साँझसम्म काकाको डेरा मैतीदेवी आइपुगेँ ।

काकाका सपरिवारसँग भेट्घाट्को मज्जा त बेग्लै थियो, तापनि काकाबाट त्यो स्कुलको बारेमा विस्तृत रूपमा जान्नलाई अझ बढी जिज्ञासु थिएँ । त्यो पनि केही बेरको काकासँगको कुराकानी पश्चात् पाएँ । पछि लोवर सेकेन्डरी लेभलमा दिए पनि अहिले प्राईमेरी लेभलको टिचरको जब रहेछ । राजधानीको नाम चलेको र सेलरी राम्रो हुने स्कुलमा गनिन्छ रे त्यो स्कुल पनि । यी कुराहरू भने काकाका साथीहरू कुरा गर्दा थाहा पाएँ ।

हुन त मेरो शैक्षिक योग्यता ब्याचलर पास । तर म प्राइमरी टिचरको जागिर गर्दै थिएँ । तापनि आफूलाई नोकरी पाउनुमै पहिलो खुसी ठानेँ । अनि यहाँ सबैले योग्यता अनुसारको जागिर नै भेटेका छन् र ? धन्न यही भएनि पाइयो । राजधानीमा अडिन सकेँ भने त अरू अवसरको पनि खोजी गर्न सकिएला नि । यस्तै सोच्दै यसैमा सन्तोष लिन थालेँ । अरू थप सुविधा र सहुलियतको बारेमा त्यति ठूलो अपेक्षा राखिन ।

बसको लामो यात्राले थकित भएर बेलुकी छिटो निदाएको म बिहान सबेरै उठेँ । नुहाइधुवाई सकी स्कुल जाँदा लाउने सर्टपाईन्टमा आइरन धस्न थालेँ । जागिरको पहिलो दिन सबैको नजर पर्ने । फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्ने राम्रै ख्याल गरे । पहिले पहिले १८ घण्टा लोडसेडिङ हुने ठाउँमा यसपालि भने सहजै कपडा आइरन गर्न पाएँ । यसमा पनि दङ्गै भएँ म ।

खाना खाईवरी आफ्नो नयाँ ड्युटी स्थलतिर लागेँ । कोठा नजिकै रहेको त्यो स्कुल १० मिनेटमै पुगियो । काकाले गेटसम्म पुराएपछि म सरासर प्रिन्सिपल सरकोमा पुगेँ । उहाँको निर्देशनबमोजिम म त्यही दिनदेखि पढाउन थालेँ ।

स्कुल पढाएको पहिलो दिन । केही नौलो अनि केही सकस पनि । अनेक कुराहरू मनमा खेलिरहे जतिन्जेलसम्म म कक्षामा पुगी पढाउन सुरु गरेको थिइन । पढाउँदै जाँदा त्यो पनि सहज मान्न थालेँ । मलाई आफूले जानेका कुराहरू सिकाउन पाउँदा रमाइलो लाग्थ्यो । अनि ससाना बच्चाबच्ची मलाई साह्रै मन पर्ने । म उनीहरूसँग रम्दा झनै आनन्द महसुस गर्थेँ । ती ससाना बाबु नानीको गतिबिधिहरुलाई नजिकबाट नियाल्न पाउँदा अझै बढी प्रफुल्लित थिएँ ।

मेरो पहिलो पिरियड कक्षा ३ मा थियो । सायद क्लास टिचर भएकोले पनि होला क्लास ३ का बिद्यार्थीहरुसँग झनै बढी नजिक हुन पुगेँ । निर्दोषपन बोकेका ती केट्केटीहरु पनि अरू सरमिस भन्दा मसँगै बढी झ्याम्मिन्थे । त्यसमा पनि अझै नजिक हुन खोज्थी आयुषी ।

मान्छे फुच्ची र सानी भईकन कति परिपक्व थियो उसको व्यवहार । बालचन्चलता रहे पनि सबैसँग मिलेर बस्ने, कोही कसैको रिस नगर्ने उसको त्यो स्वभाव देख्दा मलाई त बच्चाबच्ची भगवानकै साक्षात् रूप नै हुन् जस्तो लाग्थ्यो । साँच्चै आयुषीको जस्तो रूप र व्यवहार, उस्तै थियो पढाइ पनि । उ कक्षामा सधैँ प्रथम हुन्थी । सायद उस्का यी सबै गुणले होला उ कक्षामा सबैकी प्यारी पनि बनेकी । अनि मेरो पनि उ प्रति अल्लि बढी नै चासो रह्यो ।

आयुषीको मुहार हेरिरहँदा कता कता पूर्व परिचित जस्तै लाग्थ्यो । यद्यपि यसभन्दा पहिले आयुषीलाई कहींकतै भेटेको, देखेको मेरो कुनै सम्झनामा थिएन । अरू विद्यार्थीले होमवर्क नगरेको दिन पनि उसले चाहिँ गरेकै हुन्थी । उ स्कुल गयल भएको दिन पनि सायदै हुन्थ्यो । म आएदेखि उ कहिल्यै स्कुल गयल भएको थाहा पाइन ।

विद्यार्थीले ठुलै गल्ती गरे पनि पिट्ने बानी थिएन, न त चर्को डाँको नै छाड्थेँ । केवल सम्झाएर गल्ती नदोहोराउन आग्रह गर्थेँ । तर एक दिन अकस्मात् म आफैलाई त्यो अवस्था नआउने क्षणबाट रोक्न सकिनँ ।

शुक्रवारको दिन थियो । घरायसी कामले बिहानै बाहिर निस्केको म त्यो दिन गाडी जामले समयमा स्कुल पुग्न सकिन । अघिल्लो दिन प्रिन्सिपल सरसँगको सल्लाह बमोजिम सेकेन्ड पिरियड भेट्ने गरी आउँदै थिएँ । त्यो बेला मेरो दोस्रो पिरियड क्लास २ मा थियो । केही हतारिदैं सरासर कक्षामा पसेँ । अचानक केट्केटीको भीड देखेँ । सधैँ मलाई देख्दा गुडमर्निङ सर भन्दै उठ्ने बिद्यार्थीहरु यताउता रुमलिँदै तमासा हेरिरहेका थिए । २।४ जना चाहिँ एकआपसमा लुछालुछ गर्दै थिए । त्यो देखेर मेरो कन्सिरीको रौँ तातेछ छ क्यारे, आवेशमा आई सबैलाई एक एक चड्कन लगाएँ ।

आयुषी पनि मेरो झापडको प्रहारमा परिछे । अझै रिस नमरेर झगडा गर्ने मध्येका तिनीहरूलाई क्लास अगाडी लगी कुखुरा बन्न लगाएँ । झापड खाएका बिद्यार्थीहरु भुईँतिर हेर्दै झोक्राइरहेका थिए । तर आयुषी भने मलिन अनुहार बनाउँदै टिलपिल आँसु बगाइरहेकी थिई । केहीबेरको सम्झाईबुझाई पछि आफ्नो कक्षामा जान भनेँ । बाँकी त्यहाँका विद्यार्थीलाई त्यो दिनको पाठ पढाएँ ।

त्यसको भोलिपल्ट सधैँ क्लासको पहिलो बेन्चमा बस्ने आयुषीलाई कहींकतै नि देखिन । सोधेँ बिद्यार्थीहरुसँग । उ बिरामी परेर नआकी रे । होइन हिजोसम्म त ठीकै थिई त, आज अकस्मात् कसरी बिरामी परी ?

म केहीबेर सोचमग्न भएँ । अनि सम्झेँ हिजो उसलाई एक थप्पड लगाइ कुखुरा बनाको पनि । कतै मेरो कुटाइले बिरामी परेकी त होइन ? आफूलाई सम्हाल्दै त्यो दिनको पाठ पढाउन सुरु गरेँ । किताबका प्रत्येक हरफमा उनै दगुरेजस्तो लाग्न थाल्यो । कताकता ठुलै गल्ती गरेंकि जस्तो महसुस भयो ।

आखिर मैले आवेशमा आएर वास्तविकता नबुझी निर्दोषलाई नि सजाय दिन पुगेछु । त्यो बल्ल हेक्का भयो । खोइ त्यो दिन मेरो दिमाग पनि कता गको होला ? म आफैलाई दोषी देख्न थालेँ । तब मात्र आफूलाई पश्चतापको भुमरीमा पाएको अनुभूति गरेँ, जब त्यो घट्नाको बारेमा अश्मीले बताई ।

कक्षा २ मा पढ्ने एकजना केटीले अश्मीको कपी चोरिछे। अश्मीले आफ्नो कपी माग्न जाँदा आयुषीलाई पनि साथमा लगिछे । जब उनीहरू त्यहाँ पुगे । अश्मीमाथि २।२ जना केटीहरू झम्टिन लागेछन् । त्यो देख्न नसकेर सँगै गकी आयुषीले छुट्ट्याउन मात्र के लागिरहिछे त्यही बेला सर आए भनेर भागाभाग पो हुन थालेछ । त्यही बेला झगडा गर्नेसँगै घानमा परिछे बिचरी पनि ।

आयुषी आफैमा शान्त, अति सुभाषिली र झगडा मन नपराउने खालकी केटी थिई । तापनि मैले कुरै नबुझी सबैलाई चड्काउँदा त्यसको मारमा परेकी रहिछे बिचरी । मैले मनमनै आत्मग्लानी भएको महसुस गरेँ । अब आइन्दा कसैलाई पनि कुट्दिन भनी बाचा समेत गरेँ, मनमनै म आफैसँग ।

त्यो घटना घटेको पनि १।२ दिन हुँदै साता बितिसक्यो । तर नि आयुषी स्कुल आउने कुनै छाँटकाँट नै देखिन । नरमाईलो लाग्न थाल्यो । मलाई झन् मेरो कर्मले पोल्न थाल्यो । पुरै स्कुल नै उराठिलो र खल्लो लाग्न थाल्यो । पढाउने जाँगर पनि कत्ति आएन ।

एक मन त उसकै घरमा गएर ड्याडीममी सामु माफी मागी उसलाई मायाले काखमा लिऊँ भन्ने लाग्यो । तर उसको घर नदेखेकोले त्यो पनि सम्भव हुन सकेन ।

अर्को दिन स्कुल पुग्दा परैबाट आयुषीलाई देखेँ । साथीसँग खेल्दै थिई, साहै रमाइलो लाग्यो । स्कुलमा वसन्त ऋतुको पुनरागमन भयझैँ लाग्यो । आयुषी स्कुल आउन छाडेदेखि मरेका जोस,जाँगरहरू पुन बौरिन थाले । अझ आयुषीलाई क्लासमा नजिकबाट भेटेपछि छुट्टै आनन्दको अनुभूति हुन्छहोला, यस्तै सोचिरहेँ ।

आयुषीको आगमनसँगै उत्साही भएको यो मन फेरि एकाएक खुम्चिन थाल्यो । साँच्चै बिरामी नै परेकी रहिछे आयुषी । त्यो दिनको पिटाई र हप्कीले मानसिक असर परेछ बिचरीलाई । कहिल्यै गल्ती नगर्ने भएकीले कसैको चर्को गालीसम्म नसुनेकी उ साँच्चै त्यो दिनदेखि सातै गएजस्ती भकी । उसको मुहारमा पहिलेझैँ चमक थिएन । न त म सामु पहिलेजस्तै लाडिन्थी । मलाई भने ऊसँग माफी माग्न मन लागेको थियो, तर पनि लाचार भई त्यतिसम्म पुग्न सकिन । बिस्तारै उसलाई फकाउने ध्याउन्नमा लागेँ ।

पढाउने क्रममै सबै विद्यार्थीलाई प्रोत्साहित हुने खालका निर्णय सुनाएँ– सधैँ होमवर्क गर्नेलाई क्याटवरी, क्लासमा सोधेको जान्नेलाई विभिन्न पुरस्कार दिने भनेर । तर ती सबैमा विजेता प्रायः उही आयुषी नै हुन्छे भन्ने मलाई पक्का थियो ।

समयको प्रवाहसँगै आयुषी मसँग पुन नजिक हुन थाली, अनि त मैले पनि उ लगायत कोही कसैलाई गालीसम्म पनि गरिन । सबै बिद्यार्थीहरु मसँग पहिलेझैँ नजिक भइसकेका थिए, म यो अवसरलाई अब फेरि गुमाउन नपरोस् भनी हरदम सचेत बनेँ । आयुषी हरेक परीक्षामा प्रथम हुन्थी । उसको लगनशील र अनुशासनको खुलेर तारिफ गर्ने म उसलाई औधी माया गर्थेँ साथै अरूलाई आयुषीको उदाहरण दिई उः जस्तै बन्न प्रेरित गर्थेँ पनि ।

एकदिन मलाई आयुषाले आफ्नो बर्थडेमा उसको घरमा आउन निम्ता गरी । म पहिलेदेखि नै उस्का ड्याडीममीसँग भेटेर आफ्नो गल्तीको प्रायश्चित गर्ने मौका खोजिरहेको थिएँ । यही समयलाई सदुपयोग गर्ने सोच बनाएँ । आयुषीले आफ्नो निवासको बारेमा मलाई लोकेसन पनि दिएकी थिई । ज्ञानेश्वरचोकमा आएपछि उ मलाई लिन आउने आश्वासन पनि दिएकी थिई ।

स्कुल छुट्टी भएपश्चात् सरासर कोठामा गएँ । केहीबेर आराम गरेर आयुषीको बर्थडे मनाउन जाने कुरा थियो । बाहिरबाट कसैले मेरो ढोकामा ढक्ढक् गरेको आवाज आयो । जुरुक्क उठेर ढोकाको छेस्किन खोलेँ । ढोकाको बाहिरपट्टी गहभरि आँसु पारेर रुन्चे स्वरमा पल्लो कोठामा बस्ने एकजना दिदी उभिरहेकी । एकछिन मेरो मुटु चिसो भयो । त्यो दिदीको छोरी क्षणभरमै मुर्छा परिछन् रे, अनि त अस्पतालसम्म जाने कोही नभएर मेरो सहयोग माग्न आ कि ।

म कत्तिबेर नगरी उनीसँगै अस्पताल गएँ । अबेरसम्म अस्पतालमै बस्नुपर्‍यो उनको उपचारको क्रममै ।

रातभरिको अनिदोले ज्यान थकित थियो । स्कुल पनि जाऊँ कि नजाऊँ जस्तो भयो । जानचाहिँ केही ढिलो भए पनि गएँ । म हिजो उसको घरमा नगको भनी आयुषी रिसाएर राम्ररी नि बोलिन् । हिजो उसले बारम्बार फोन गर्दा पनि नउठाएकोमा समेत गुनासो गरी । बिस्तारै मैले उसलाई सबै कुरा बताएँ, त्यसपछि त उ पनि खुसी नै देखिई ।

स्कुलको वार्षिक परीक्षामा आयुषी पहिले झैँ प्रथम भई । पुरस्कार वितरण र विभिन्न कार्यक्रम राखिएको अभिभावक दिवस उल्लासमय नै थियो । धेरैजसो विद्यार्थीका कोही न कोही अभिभावक आका थिए । त्यस कार्यक्रमको दिनमा विभिन्न व्यक्तिहरू आउने जाने क्रम चलिरह्यो ।

यसैक्रममा मेरो नजर यतैतिर आइरहेको निलो स्कुटीमा पर्‍यो । त्यो स्कुटी गुडिरहेको हेरिरहन मन लाग्यो । मलाई त्यो स्कुटीको चाल देख्दा मेरो स्कुल जीवनको खुबै याद आयो, अझ बढी याद आयो चन्दाको, जो यस्तै निलो स्कुटीमा सवार हुँदै मलाईकलेज जाँदा लिन आउने कुरा बताउँथिन् ।

म एकछिन भए पनि उनीसँगको कल्पनामा डुबेँ । साँच्चै कति सुशील र सुन्दरी थिइन त्यो बेलाकी मेरी चन्दा । सँगै बाँच्ने र मर्ने कसम खाई कहिल्यै नछुट्टिने भनेका हामी मेरै समस्याले छुट्टिनुपरेथ्यो ।

स्कुटी पार्किङ गरेर जब ती युवतीले हेलमेट झिकिन्, त्यसपछि म झन् अचम्मित भएँ । निलो स्कुटी देख्नेबित्तिकै मेरो स्मृतिमा छाएकी चन्दा स्मृतिमा मात्र होइन, त्यही स्कुटीमा आइसकेकी रैछिन । शायद स्कुलको कार्यक्रममा आ कि, कसैको अभिभावक भएर । उनी सरासर कार्यक्रमस्थलतिर लम्किइन । मैले उनलाई देखिरहँदा उनले मलाई देखिन् या देखिनन् त्यो चाहिँ मैले पत्तो पाउन सकिन ।

विभिन्न साङ्गीतिक कार्यक्रमका साथ स्कुल पुरै गुन्जिएपनि त्यहाँ बसुन्जेल मेरो ध्यान कुनै प्रस्तुतितिर नभई विगतमा धकेलिएँ । जहाँ म र चन्दाको छुट्टै संसार थियो । यद्यपि अहिले भने त्यो भताभुङ्ग भइसकेको छ । ९ कक्षा पढ्दै गर्दा प्रेमको अङ्कुर हालेको हाम्रो माया झन् झन् चुलिदैं गयो, उनी मभन्दा केही धनी परिवारमा हुर्के,बढेकीले एस.एल.सी. पास भएपछि स्कुटी किन्ने योजना थियो उनको । प्रायः निलो रङ्ग मन पराउने उनी स्कुटी पनि निलै रङ्गको किन्ने अनि मलाई पछि राखेर घुमाउने भन्दै भावी योजना सुनाईरहन्थीन् ।

तर हाम्रो समाज हुर्केबढेकी चेली बेलैमा बिहे गरिदिनुपर्छ भन्ने सोचले ग्रसित । अनि त्यसैको मारमा परिन् मेरी चन्दा पनि । अझ त्यसभन्दा नि दुखदायी अन्त भयो हाम्रो प्रेम कहानीको । म त्यतिबेला सानै थिए, भर्खर एस.एल.सी. दिई बसेको अल्लारे ठिटो, मलार्ई कसले नै पत्याउँथ्यो र बिहे गर्छुभन्दा ? माग्न जाऊँ भने पनि म माथिका दाजुदिदीहरुको बिहे भको थिएन । भागी विवाह गरौँ भने कहाँ जाने ? के खाने ? केही कुराको आधार थिएन । अझ भनौँ आँटै थिएन ।

केही सीप नलागेपछि आफ्नै कर्म र भाग्यको दोष देखेँ ।

कार्यक्रमको औपचारिक समापनपछि सबै आफ्नो गन्तब्यतिर फर्कन थाले । म भने उनै चन्दासँगका विगत सम्झिई त्यसैमा रमाएछु । एकैचोटि मेरो नजिकै आएकी आयुषीले “कृष्ण सर !” भन्दा पो झसङ्ग हुन पुगेँ । म आफूलाई सम्हाली नजिकै आ कि आयुषीलाई अबिर लागेका गाला मायाले सुम्सुम्याउँदै बधाई दिएँ । उसलाई एउटा हातले डोराउँदै त्यहाँबाट निस्कँदै थिएँ । अघि पार्किङ गरेको त्यो निलो स्कुटी मेरो छेउमै आएर झ्याप्प रोकियो ।

“आयुषी, आऊ बस” भन्ने आवाजसँगै म झसङ्ग भएँ । जाने बेलामा मतिर औँलो तेर्साउँदै “ममी हाम्रो कृष्ण सर । मलाई कति माया गर्नुहुन्छ ।” उसको ममीलाई आयुषीले भनी । चन्दा भने अवाक् भई हेरिरहिन् मात्रै केही मलिन मुहार बनाउँदै । मेरो पनि त्यो पल वाक्य फुटेन, केबल बढिरह्यो मुटुको धड्कन ।

आयुषीले “बाई कृष्ण सर, सी यु ” भनेको आवाजसँगै बल्ल मेरा हातहरू चल्न थाले, तर ओठहरू चल्न सकेनन्, केवल लरबराए मात्रै । गोडाहरू पनि कत्ति डेग चलेनन् । बरु आयुषी बोलेका ती शब्द मलाई उही चन्दाले बोलेजस्तो भान पर्‍यो । सायद आमा छोरीको अनुहार काटीकुटी उस्तै भएर बोली पनि त्यस्तै लागेको हो कि ?

म हेरिरहेँ, उनीहरू पर नपुगुन्जेल । जति बेलासम्म मेरो आँखाले देख्न सकिरह्यो-उही निलो स्कुटी । तर त्यो स्कुटी पर–पर, झन् पर भई भाग्दै थियो मेरो नजरदेखि । तरपनि मेरो आँखामा अझै झुन्डिरहेछ त्यही निलो स्कुटी, अनि खोजिरह्यो……………उनैलाई।

Tags :
प्रतिक्रिया दिनुहोस