अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले पाएन एक करोड भुक्तानी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले पाएन एक करोड भुक्तानी


२० फाल्गुन २०७७, बिहिबार


किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि भुक्तानी नदिँदा मजदूर समस्यामा परेका छन् । आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेको डेढ वर्ष बितिसक्दासमेत भुक्तानी नपाएको रौताहा कन्स्ट्रक्सन कम्पनीका निर्देशक भीमबहादुर थापाले जानकारी दिए ।

अरुण तेस्रो आयोजनाको ड्याम साइडमा भारतीय पटेल इञ्जिनीरिङ लिमिटेडले काम गरिरहेको छ । सोही कम्पनीसँग रौताहा कम्पनीले २० करोडको पेटी ठेक्कामा काम गरेको थियो । त्योमध्ये रु १७ करोड अरुण तेस्रोले भुक्तानी दिएको तर एक करोड ४९ लाख ९० हजार ६६ भुक्तानी लिन बाँकी रहेको निर्देशक थापाले बताए ।

काम सम्पन्न गरेर पटकपटक भुक्तानीका लागि धाउँदा पनि भुक्तानी गर्न आलटाल गरिरहेको उनले बताए। गत कात्तिक १ गते रु ८६ लाखको भ्याट बिल काटेर पनि अहिलेसम्म भुक्तानी नपाएको निर्देशक थापाले बताए । रौताहा कम्पनीले अरुण तेस्रोमा विसं २०७५ भदौदेखि काम शुरु गरी २०७६ साउनभित्र तोकिएबमोजिमको काम सम्पन्न गरेको छ ।

आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेर भुक्तानी माग गर्दासमेत बेवास्ता गरेपछि मजदूरलाई भुक्तानी दिन नसकिएको र बैंकले समेत धितो लिलाम गर्ने अवस्था सिर्जना भएको निर्देशक थापाको भनाइ छ । फ्याक्सिन्दा ड्याम साइडदेखि सुन्तले ब्रिज निस्कने अडिट दुईदेखि अडिट तीन जोड्ने क्षेत्रमा काम गरेको पैसा हालसम्म भुक्तानी नदिएको रौताहा कन्स्ट्रक्सनका निर्देशक थापाले बताए ।

सुरक्षागार्डले दुई वर्षदेखि भुक्तानी पाएनन्

अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसमा काम गर्ने सुरक्षागार्डले दुई वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । आयोजनाले गरुड सुरक्षागार्ड कम्पनीका सुरक्षागार्डलाई दुई वर्षदेखिको भुक्तानी नदिएको गरुड सुरक्षागार्ड कम्पनीका प्रदेश नं १ का प्रमुख देवराम राईले जानकारी दिए ।

अरुण तेस्रोले दुई वर्षदेखि सुरक्षागार्डलाई भुक्तानी नदिएको प्रमुख राईले बताए । अरुण तेस्रोले ९ लाखभन्दा बढी रकम भुक्तानी नदिएको उनले जानकारी दिए । अरुण तेस्रोमा अन्य निर्माण कम्पनी र मजदूरलाई समेत समयमा तलब, भत्ता नपाएको बताइएको छ । अरुण तेस्रोले समयमा पारिश्रमिक र काम गरेको पैसा नदिएको भन्दै पटकपटक आन्दोलन हुने गरेको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय एसजेविएन सतलज कम्पनी गरिरहेको छ । उक्त अरुण तेस्रो जलविद्युत् आयोजना मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्यामसाइट र चिचिला गाउँपालिका-३ पुखुवामा पावारहाउस निर्माण भइरहेको छ ।

उक्त अरुण तेस्रो परियोजनामा कूल  एक खर्ब ४४ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । सन् २०२३ भित्र आयोजना निर्माण सम्पन्न हुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस