अदालतको आदेशपछि ककनी–पिपलटार सडक निर्माण अवरुद्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अदालतको आदेशपछि ककनी–पिपलटार सडक निर्माण अवरुद्ध


२० फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ ।

सो सडक निर्माणका लागि पटकपटक अवधि थप गरिए पनि निर्माण व्यवसायीले ढिलाइ गरेकाले बालाजु–त्रिशूली/छहरे–विदुर सडक योजनाले ठेक्का तोड्ने निर्णय गरेको थियो । गत असार १६ मा ठेक्का तोड्ने निर्णय भएको याजनाका प्रमुख जगत प्रजापतिले बताए ।

निर्माण व्यवसायीले सो निर्णय भएको भोलिपल्ट नै अदालतमा मुद्दा हालेकाले अदालतले नयाँ ठेक्का अघि नबढाउन आदेश दिएको थियो । निर्माण शुरु भएको वर्षौं बित्दासमेत निर्माण व्यवसायीले निर्माणमा ढिलाइ गरेकाले ठेक्का तोड्नुपरेको उनले बताए। उनले भने, ‘सात पटकसम्म अवधि थप्दा पनि काम सकिएको छैन ।’

अदालतको आदेशमा अन्तिम निर्णय नभएसम्म निर्माणको काम नगर्ने र नगराउने भन्ने उल्लेख भएकाले तत्काल अर्को ठेक्काबाट अघि बढ्ने अवस्था नभएको प्रमुख प्रजापतिले बताए । योजनाले पहल गरेपछि अहिले बल्ल मुद्दा अघि बढिरहेको छ ।

अदालतले ठेक्का तोड्ने पक्षमा फैसला गरेमा सो सडकमा थप काम गराउँदा व्यवसायीबाट असुल गराउने उनले जानकारी दिए । उनले भने, ‘अदालतबाट निर्णय भएपछि नयाँ ठेक्कामा जानका लागि अहिले सबैको काम भइरहेको छ ।’

यो सडकको लम्बाइ ३४ किमी रहेको छ । अहिले बालाजुबाट ककनीसम्म सडकको नालीको काम भइरहेको छ । अहिले चिसोले गर्दा कालोपत्र रोकिए पनि केही समयपछि कालोपत्र गर्न सकिने योजनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस