के मंगल ग्रहमा जीवन सम्भव थियो ? हेरौँ केही तस्विर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

के मंगल ग्रहमा जीवन सम्भव थियो ? हेरौँ केही तस्विर


२० फाल्गुन २०७७, बिहिबार


एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको अनुसन्धानका लागि पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले मंगलग्रमा खिचेका तस्विरहरु सार्वजनिक गरेको छ । रातो ग्रह नामले चिनिने मंगल ग्रहको नासाले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा मंगल ग्रहका विभिन्न तस्विरहरु सार्वजनिक भएका छन् ।

सात महिना लामो यात्रा गरेर मंगल ग्रहको सतहमा पर्सिभिरेन्स गत फेब्रुअरी १८ मा ल्यान्ड भएको थियो। अहिले पर्सिभिरेन्सको ६ पांग्रे रोभरले जेजेरो कार्टरमा कुनै बेला मंगल ग्रहमा जीवन सम्भव थियो कि थिएन भनेर अनुसन्धान गरिरहेको छ। ल्यान्ड भएयता उसले त्यहाँ खिचेका तस्बिरहरू नासालाई पठाइरहेको छ।

जेजेरो कार्टरमा कुनै बेला ताल भएको अनुमान गरिएको छ। मंगल ग्रहमा विगतमा जीवन सम्भव थियो कि थिएन भन्ने अध्ययन गर्न नासाले सोही क्षेत्रमा यान पठाएको हो।

२.७ अर्ब डलर खर्च भएको दुई वर्ष लामो यो अभियानको मुख्य उद्देश्य रातो ग्रह भनेर पनि चिनिने मंगल ग्रहमा जीवनको अवशेष खोज्नु हो। सूर्यदेखि चौथो टाढाको ग्रहमा ३ अर्ब वर्षपहिले न्यानो र पानीको मात्रा भएकाले त्यहाँ जीवन सम्भव थियो भन्ने वैज्ञानिकहरूको अनुमान छ।

पर्सिभिरेन्सले जेजेरो कार्टरको सतहमा उत्खनन् गरेर अवशेषको अध्ययन गर्ने छ। नासाका वैज्ञानिकहरूले अमेरिकाले मंगल ग्रहमा पठाएका २० मध्ये यो सबैभन्दा महत्वाकांक्षी मिसन भएको बताएका छन्।

पर्सिभिरेन्सले आफूसँग एउटा सानो हेलिकप्टर पनि लिएर गएको छ। आफै चार्ज भएर त्यो हेलिकप्टर मंगल ग्रहमा उड्ने छ। एक ग्रहबाट अर्को ग्रहमा उडाइएको यो पहिलो उडान हुनेछ। यदि उडान सफल भयो भने १.८ किलोग्रामको उक्त हेलिकप्टरले मंगल ग्रहको हवाइ अवलोकन पनि गर्नेछ।

 

Tags :
प्रतिक्रिया दिनुहोस