विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब राजनीतिमा बचाउन सम्भव नभएको बताएका छन् ।
विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्डले विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा. बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको ओलीको कटाक्ष थियो ।
उनले भने, ‘उहाँ (प्रचण्ड) लाई वैद्यले छाडे, त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ । अब झाँक्रीले बचाउन सक्नु हुन्न उहाँलाई, नेपालको राजनीतिमा बचाउन सम्भव छैन, सिध्धिसकेको प्रचण्डलाई मैले ठूलो ठाउँमा राखिदिएको थिएँ तर उहाँमा अहंकार चढेको छ ।’
उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न विराटनगरको सभा हेर्न पनि प्रचण्ड नेपाल समूहलाई चुनौति दिए ।
उनले केही मान्छेहरु पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन लागिरहेको बताए। उनले केही व्यक्तिहरुले पार्टी छाडेपछि सरकार र पार्टीको कामले गति लिएको बताए। सरकारले आफ्नो काम गर्न थालेपछि आत्तिएर नेपाल बन्द गरेका समेत ओलीको तर्क थियो।