कोरोनाविरुद्धको खोप आजदेखि लगाउन सुरु, १० बजे प्रधानमन्त्रीले उद्घाटन गर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोरोनाविरुद्धको खोप आजदेखि लगाउन सुरु, १० बजे प्रधानमन्त्रीले उद्घाटन गर्ने


१४ माघ २०७७, बुधबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९ ) विरुद्धको खोप नेपालमा आजदेखि लगाउन सुरु गरिने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्रीले उद्घाटन गरेपछि खोप लगाउन सुरु गरिने भएको हो ।

आज खोप अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवि शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकसाथ गरिने छ । प्रधानमन्त्री ओलीले भच्र्युअलरुपमा उद्घाटन गर्ने छन् । आज ६६ वटा जिल्लाका खोपकेन्द्र एकसाथ १० बजे भच्र्युअलमार्फत बालुवाटार जोडिएर औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा कोभिड–१९ विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले लगाउने भएका छन् ।

शुक्रराजबाट शुरु हुने खोप अभियान देशका ७७ वटै जिल्लामा आजबाटै सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोपका लागि काठमाडौँमा १० र उपत्यका बाहिर तीनसय खोप केन्द्र तोकिएको छ ।

कोभिड–१९ विरुद्धको खोप अभियान अन्तरगत सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स तथा शब बाहन चालक र अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी गरि ४ लाख ३० हजार नागरिकलाई खोप दिँदैछ । त्यसका लागि काठमाडौँ उपत्यकामा १७ सहित १५ वटा खोप केन्द्र तोकिएको छ ।

नेपालमा पनि पहिलो डोज दिएको १ महिनापछि दोस्रो डोज दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप काठमाडौँका केन्द्रहरुमा आज बिहान पुर्याइने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका १२ वटा हब अस्पतालहरुलाई खोप केन्द्रका रुपमा तोकेको छ । केन्द्रीय भन्डारण कक्षमा राखिएको खोप बुधबार बिहान एकैसाथ १२ वटा केन्द्रमा पठाइने छ । खोप केन्द्रका रुपमा सबै जिल्लाका हब अस्पतालहरुलाई तोकिएको छ । एउटै क्षेत्रमा पर्ने हब र स्याटलाइट अस्पतालहरुमा यिनै केन्द्रबाट खोप वितरण हुनेछ ।

कोरोनाविरुद्धको खोप लगाइने काठमाडौँमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मोडेल अस्पताल, बागबजार, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, सहिद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज, अत्तरखेल र वीरेन्द्र सैनिक अस्पताल, छाउनीबाट कोरोना खोप लगाइने छ ।

भारतको अष्ट्राजेनिका र सिरम कम्पनीको उत्पादन कोभिशिल्ड खोप अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले प्रमाणित गरी १२ वटाभन्दा बढी देशले मान्यता दिइसकेको खोप हो । यो खोप ४ हप्ताको फरकमा २ डोज दिइन्छ ।

खोप लगाएपछि सामान्य शारीरिक असर देखिए पनि नआत्तिन विज्ञहरुले सुझाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस