चक्रीय अर्थ व्यवस्था र दिगो विकास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चक्रीय अर्थ व्यवस्था र दिगो विकास


२६ पुस २०७७, आइतबार


अर्थव्यवस्थामा वस्तु तथा सेवाहरू उत्पादन हुने, वितरण हुने, प्रयोग हुने र नास हुने कार्य निरन्तर रूपमा चलिरहन्छ । विश्वका प्रायः सबै अर्थतन्त्रहरू परम्परागत शैलीको लिने, उत्पादन गर्ने, उपभोग गर्ने र फोहोर विसर्जन गर्नेको रेखीय चरणबाट गुज्रिन्छन् । यसले अर्थतन्त्रमा साधनहरूको उपलब्धतालाई निरन्तर खुम्च्याउने मात्र होइन वातावरणमा पनि नकारात्मक असर पार्दछ । पछिल्लो समयको वातावरणीय दुष्प्रभावहरू खास गरी यसै चक्रीय अर्थ प्रणालीको साइड ईफेक्ट हो ।

दिगो विकास वातावरणमैत्री, अन्तरपुस्तामैत्री, समाजमैत्री विकास हो । यसबाट परम्परागत विकास दर्शनमा परिवर्तन गरी अर्थतन्त्रको व्यापक स्वरूप र संरचनामा परिवर्तन ल्याउने प्रयासको थालनी भए तापनि परम्परागत चक्रीय अर्थ प्रणालीको स्वरूप र संरचना रहे सम्म हामीले दिगो विकासका लक्ष्यहरू पाउने सम्भावना अत्यन्त न्यून छ । किनकि अर्थतन्त्रको संरचनाले नै उत्पादनका लागि विभिन्न प्राकृतिक श्रोत साधनहरूको माग गर्ने, त्यस्ता श्रोत साधनहरूबाट नयाँ वस्तु र सेवाहरूको निर्माण गर्ने र तिनै वस्तु तथा सेवाहरूको उपयोग गरी अन्त्यमा डिस्पोज गर्ने प्रणालीमा अनन्त काल सम्म पनि संसाधनको माग हुने र खेर जाने प्रणाली कायम रही रहन्छ । यसबाट सीमित मात्रामा रहेका प्राकृतिक श्रोत साधनहरूको खपत अत्यधिक भई श्रोतहरू रित्तिँदै जाने हुन्छ ।

रेखीय अर्थ प्रणालीमा प्राकृतिक संसाधनको असीमित प्रयोग हुने र उपभोग पश्चात् अवशेषहरूले वातावरणमा नकारात्मक असर पार्दछ । त्यसैले हालसम्मको मानव सभ्यताले रित्याएका प्राकृतिक श्रोत साधन र वातावरणमा परेको जलवायु परिवर्तन लगायतका अन्य जुनसुकै नकारात्मक प्रभावहरू अर्थप्रणालीको स्वाभाविक उपजका रूपमा लिनु पर्ने हुन्छ ।

हालैका दिनहरूमा परम्परागत रेखीय अर्थतन्त्रको बदलामा चक्रीय अर्थतन्त्रको चर्चा हुने गरेको छ । खास गरी रेखीय अर्थतन्त्रले सिर्जना गरेको फोहोरमैला व्यवस्थापनमा ठुलो लगानी भएको छ । तर पनि दिगो विकास लक्ष्य प्राप्तिमा विश्व समुदाय कोसौँ टाढा रहेको छ ।

२०५० सम्ममा विश्वको जनसङ्ख्या १० अरब पुग्ने अनुमान गरिएको छ । जनसङ्ख्यामा निरन्तर बढोत्तरी भई रहने र त्यसले रेखीय अर्थतन्त्रको स्वरूपमा प्राकृतिक श्रोत साधनहरूको उपयोग गरी रहने हो भने यसले वातावरण, प्रकृति र मानव समाजमै ठुलो असर गर्नेछ । त्यसैले अव अर्थतन्त्रको स्वरूपलाई खेरिएबाट चक्रीय संरचनामा लैजानु पर्ने चर्चा हुने गरेको छ ।

रेखीय अर्थव्यवस्थामा नयाँ संसाधनहरू ल्याइने र तिनै नयाँ संसाधनबाट वस्तुहरूको निर्माण गरी उपभोगमा ल्याइन्छ । उपभोग पश्चात् अवशेषका रूपमा तिनै श्रोत साधनहरू फोहोरकारूपमा दुर्गन्धित अवस्थामा वातावरणमा फालिन्छ । यस्तो व्यवस्था महँगो, वातावरण विनाशक, मानव स्वस्थ्ये प्रतिकुल हुन्छ । यसले आर्थिक संवृद्धि त ल्याएको छ तर स्वभावतः प्राकृतिक श्रोत साधनको दोहन पनि गरेको छ ।

रेखीय अर्थव्यवस्थाका कमजोरीलाई हटाउनका लागि चर्चामा आएको अवधारणा चक्रीय अर्थव्यवस्था हो । यस अर्थव्यवस्थामा प्रत्येक वस्तु तथा सेवाहरूमा टिकाउपना, पुनःप्रयोग र पुनर्निर्माणका सुविधाहरूबाट सुसज्जित हुन्छन् । प्रडक्ट डिजाइनबाट नै चक्रीय अर्थ प्रणालीको सुरुवात हुन्छ । डिजाइन, उत्पादन र सामाग्रीको उपयोगका चरणसम्मका प्रदूषण मुक्त प्रणालीको सिर्जना गरिएको हुन्छ । लगभग सबै वस्तुहरू पुनः प्रयोग गर्न सकिने र अवशेषलाई पुनः निर्माण गर्न सकिने ढङ्गबाट चल्ने अर्थ प्रणाली चक्रीय अर्थ प्रणाली हो । प्राकृतिक संसाधनको बुद्धिमत्तापूर्ण प्रयोगको उद्देश्यले यस्तो अर्थ प्रणालीलाई चर्चामा ल्याईको हो । यसले वातावरणमैत्री, अन्तरपुस्ता न्याय र विकासमैत्री अर्थप्रणालीको लागि योगदान गर्न सक्दछ । नयाँ क्षेत्रहरूको उदय, रोजगार सिर्जना र प्रविधिको विकासले अर्थव्यवस्थालाई चलायमान बनाउन पनि यस्तो अर्थव्यवस्थाको उद्भव जारी छ ।

चक्रीय अर्थ व्यवस्थामा एक प्रक्रियाका अवशेषलाई अर्को उत्पादन प्रक्रियाको इन्पुट वा कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ । विल्कुल नयाँ संसाधनहरूको प्रयोग अत्यन्त सीमित हुन्छ । अनन्त कालसम्ममा एक उद्योगको अवशेषलाई अर्को उद्योगमा प्रयोग गर्दै जाने प्रणाली भएकाले यो चक्रीय प्रणाली हो । यसमा व्यक्तिहरू कम भन्दा कम नयाँ संसाधनको प्रयोग गर्ने, कम से सकम अवशेषको उत्पादन गर्ने, सामानहरू बारम्बार प्रयोग गर्ने र अवशेषलाई पुनः प्रयोगकालागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने खालको औद्योगिक व्यवस्थापन गर्न जरुरी हुन्छ ।

तर चक्रीय अर्थव्यवस्थाको प्रयोग सबै उत्पादनमा हु बहु लागू हुन सक्दैन । जस्तो की कपडा उद्योगमा प्रयोग हुने कुल सामाग्री मध्ये ९७ प्रतिशत सामाग्री विल्कुल नयाँ हुन्छन् र प्रयोगको पश्चात् कुल सामाग्री मध्ये ७३ प्रतिशत सामाग्री अवशेषको रूपमा खेर जान्छ ।

दिगो विकास लक्ष्य नं. १२ मा जिम्मेवारीपूर्ण उपभोग र उत्पादनको माध्यमबाट दिगो विकास हासिल गरिने लक्ष्य तोकिएको छ । रेखीय अर्थव्यवस्थाले उपरोक्त लक्ष्य नं. १२ प्राप्त गर्न कठिन मात्र होइन कि असम्भव नै हुनेछ । यस कार्य अन्तर्गत विकसित र विकासोन्मुख देशहरूमा सफाइ र स्क्रेपिंगको लागत घटाउने र द्धितिय उपभोक्ता संस्कृतिको विकास गर्ने जस्ता क्रियाकलापहरू सञ्चालन गर्नु पर्ने हुन्छ । यस्तो अर्थव्यवस्थाबाट जलवायु परिवर्तनमा कमी, अर्थतन्त्रको समग्र लागतमा कमी आउने र फोहोर व्यवस्थापनमा पनि सुगमता हुने हुन्छ । पुन प्रयोग हुन नसक्ने खालका अवशेषहरूबाट ऊर्जा उत्पादन गरिन्छ ।

चक्रीय अर्थव्यवस्था कार्यमूलक अर्थव्यवस्था हो । यसको अर्थ यस प्रणालीमा खेर फाल्ने व्यवस्थालाई पूर्णतया नष्ट गर्नकालागि हरेक आवश्यक वस्तुहरू भाडामा लिने प्रणालीको अवलम्बन गर्नु पर्दछ । वस्तुहरुके डिजाइन ईको मैत्री हुन्छ । वस्तु जीवनचक्रका हरेक चरणहरूबाट वातावरणमा पर्ने प्रभावको मूल्याङ्कन गरी डिजाइन तयार गरिन्छ ।

रेखीय अर्थव्यवस्थाका धेरै खराबी हुँदा हुँदै पनि चक्रीय अर्थव्यवस्थालाई पूर्णतया सञ्चालन ल्याउन सकिने अवस्था तत्काल देखिँदैन । किनकि वस्तु उत्पादन चक्रमा हाल सम्मको वैज्ञानिक प्रविधिले कुनै न कुनै नयाँ इन्पुटको माग गरेकै छ । उत्पादित वस्तुबाट पनि कुनै न कुनै कचरा निस्केकै छ । एक निश्चित सीमा सम्म पुनप्रयोग गर्न सकिए पनि अनन्तकाल सम्ममा प्रयोग गर्दा वस्तुको गुणस्तरमा उल्लेख्य गिरावट आउँदछ । उदाहरणको लागि कागजको पुनः प्रयोग गर्दै जाँदा एक सीमा भन्दा बढी प्रयोग गरेको अवस्थामा कागजको गुणमा व्यापक फरक पर्दछ । त्यस्तै चक्रीय अर्थव्यवस्था निर्माणका लागि उच्च अग्रिम लागतको आवश्यकता पर्दछ । औद्योगिक प्रतिष्ठानहरू कम टिकाउपुर्ण सामानको प्रयोग गरी बारम्बार उपभोक्तालाई विक्री गरी नाफा आर्जन गर्ने परम्परागत रेखीय अर्थतन्त्रको मजवुद जग भएकाले तत्काल यसलाई निरुत्साहन गरी चक्रीय अर्थतन्त्रमा उत्पादनकर्ताहरू गई हाल्ने अवस्था पनि छैन ।

चक्रीय अर्थव्यवस्था निर्माणमा उपभोक्तावादी संस्कृति ठुलो वाधाको रूपमा रहेको छ । उपभोक्ताहरू नयाँ वस्तुको प्रयोग गर्न लालायित हुन्छन् । र पुराना थोत्रा वस्तुहरूको अधिकतम उपयोग नगरीकनै स्क्रेपका रूपमा फालिदिन्छन् । आधुनिक पुँजीवादी सोचले मनोवैज्ञानिकरूपमा उपभोक्तामाथि नियन्त्रण गर्ने भएकाले चक्रीय अर्थतन्त्रलाई सजिलै स्थापित गराउन सकिने अवस्था छैन ।

चक्रीय अर्थव्यवस्थाको निर्माणका लागि विश्वव्यापीरुपमा केही प्रयास भएका छन् । जर्मन सरकारले वातावरणीय दुष्प्रभाव कम गर्ने उत्पादनको डिजाइन गर्नका लागि प्रशस्त अनुदान दिने व्यवस्था गरेको छ । चिलीमा सबै प्लाष्टिकजन्य वस्तुहरूको पुनः प्रयोग गर्ने नीति सरकारले लिएको छ । त्यस्तै न्यादरल्याण्डमा वनको विनाश हुन नदिई गरिने कृर्षि प्रणालीमा सरकारी अनुदान दिने व्यवस्था गरिएको छ । युरोपियन कमिसनले प्लाटिकजन्य उत्पादनको उत्पादन र पुनर्नवीकरणको लागि कार्ययोजना नै बनाएको छ । अफ्रिकी देशहरूमा ग्रिन व्यवसायको अवधारणालाई अगाडि सारिएको छ । ईजराईलको एक स्टार्टअप व्यवसायीले हेर्दा प्लास्टिक जस्तो देखिने तर बायो डिग्रेडेवल प्याकिङ सामाग्रीको उत्पादन गरेको छ जसले परम्परागत प्याकिङ सामाग्री प्लाटिकलाई विस्थापन गर्ने सोच राखिएको छ ।

भारतले पनि चक्रीय अर्थव्यवस्थाको लागि विभिन्न सुरुवात गरेको छ । स्वच्छ भारत मिसन अन्तर्गत फोहोरको स्थानीय स्तरमै छँटनी गर्ने मानसिकताको विकास गरिँदै छ । मेक ईन ईन्डिया, डिजिटल ईन्डिया, स्टार्ट अप ईन्डिया जस्ता नयाँ अभियानहरूले पनि चक्रीय अर्थव्यवस्थालाई केन्द्र विन्दुमा राखेका छन् । जिरो ईफेक्ट जिरो डिफेक्ट जस्ता नवीनतम सोचहरूले भारतीय अर्थव्यवस्थाको सोचमा बिस्तारै परिवर्तन ल्याउने उद्देश्य राखेको पाइन्छ । फोहोरबाट बिजुली, पुराना कपडाबाट धागो निकालेर नयाँ कपडा बनाउने जस्ता प्रविधिको प्रयोग बढ्दै गएको छ ।

चक्रीय अर्थव्यवस्थाले उपभोक्ताको जीवनको गुणात्मकतामा गिरावट नआईकन र उत्पादकको आम्दानीमा गिरावट नल्याईकन समग्र अर्थ प्रणाली सञ्चालन गर्ने उद्देश्य राखेको पाइन्छ । यसकालागि परित्यक्त वस्तुहरूलाई नयाँ उत्पादनको कच्चा पदार्थका रूपमा स्वीकार गर्ने र पुन प्रयोग गर्ने संस्कृतिको विकास गर्नु जरुरी छ । सार्वजनिक निकाय र गैर सरकारी क्षेत्र तथा आम उपभोक्ताले दोहनकारी परम्परागत अर्थव्यवस्थालाई क्रमशः चक्रीय प्रणालीमा रुपान्तरण गर्न उल्लेख्य भूमिका खेल्न जरुरी छ ।

प्रणालीगत परिवर्तनका लागि प्रविधिको आविष्कार र प्रयोग गर्ने र सोही बमोजिमको उपभोग संस्कृतिको विकास गर्न जरुरी छ । यस्तो अर्थव्यवस्थाले नेपालजस्ता कम प्राकृतिक संसाधन भएका देशहरू उच्चतम संसाधन उत्पादकत्व भएका देशमा रुपान्तरण हुन सक्दछन् । नेपाल सरकारले अनुसन्धान निकाय, उद्योगी र सरकारका विचमा एक वृहत् समझदारी कायम गर्नु जरुरी छ । यसबाट फोहोरमैला व्यवस्थापनमा पनि सहयोग हुने, प्राकृतिक श्रोत साधनको दक्षतापूर्ण प्रयोग हुने, वातावरणमैत्री विकास हुने र समग्रमा दिगो विकास लक्ष्य १२ को प्राप्ति पनि हुने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस