प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम निरङ्कुशतावादी र फासीवादी : वैद्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम निरङ्कुशतावादी र फासीवादी : वैद्य


१६ पुस २०७७, बिहिबार


काटमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरंकुशतावादी र फासीवादी कदम भएको टिप्पणी गरेको छ ।

वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापना आवश्यक रहेको बताएका छन् । जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसँग किरणले आग्रह गरेका हुन् ।

पार्टीको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको संसद विघटनको कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम भएको ठहर गरेको छ ।

‘वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यस प्रकारको सङ्कटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै सक्दैन । यस सङ्कटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, सङ्घीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्तछ,’ पार्टीद्वारा विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस