नेतृत्वको दूरदर्शन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेतृत्वको दूरदर्शन


१२ पुस २०७७, आइतबार


३६० डिग्री मूल्याङ्कन परीक्षणको शासकीय विधामार्फत नेतृत्वको कौशलता मापन हुन्छ । अपरिमेय र अतिदीप्त ढङ्गले समाज विकासको रूपान्तरण सँगै नेतृत्व एकाकार भएर आउने गर्दछ । त्यही विन्दुमा नेतृत्व जन्मन्छ । यस्ता नेतृत्वबारे वैज्ञानिक समाजमा जनआकाङ्क्षा अनुरूप शासकीय तहमा नेतृत्वशैलीको ढङ्गले पर्दापण हुन्छ । राज्यको समृद्धि, नवनिर्माण, गुणात्मक ढङ्गको अर्थतन्त्र निर्माण, घरेलु अर्थतन्त्रको भरपुर उपयोग गर्दै राष्ट्रको ढुकुटी निर्माण गर्ने, राज्य कौशलता हासिल गर्ने, उम्दा शासकीय प्रबन्ध मिलाउने र राज्यका नागरिकहरूमा निरन्तर प्रगतिको नतिजा जनस्तरमा अनुभूत हुने गरी सम्प्रेषित गर्ने गुणहरू नेतृत्वमा हुनुपर्छ ।

दार्शनिक तथा वैचारिक पदचापको अन्वेषण गर्दा एथेन्स निवासी प्लेटो (ई.पु. ४२७) देखि अरस्तु, थोमस हब्स, जोन लक, इमानुअल कान्ट, कार्ल मार्क्स, लेनिन, माओ, नेहरु, गान्धी, भर्जिनिया उल्फ, रोजादेखि उत्तर आधुनिकतावादसम्म आईपुग्दा नेतृत्वहरुले राज्य निर्माणका ढाँचालाई युगानुकूल ढङ्गले संहिताबद्ध गरेको प्रशस्त उदाहरण छन् ।

अन्तर्विरोधी विश्व दृष्टिकोणलाई वैचारिक लयमा फर्काएर पुँजीवाद, समाजवाद वा मिश्रित अर्थ प्रणालीमा अटाउन सक्ने गराउने ध्येय नेतृत्वको कर्म हो । यो सार्वभौम बहसभित्रको नीति निर्माण हो । सामाजिक कार्यकारिणी, विधायन र कानुनी अङ्गहरूलाई राज्य निर्माणमा मौजुदा गर्न सक्ने तागत नेतृत्वमा पैदा हुनु पर्छ । त्यसै कारण नेतृत्व दूरदर्शनमा सबल हुँदै जानु पर्छ । नेतृत्वको क्षयीकरण हुनु भएन । नेतृत्वले राष्ट्रको राज्य नीति, अर्थतन्त्र, उत्पादन सम्बन्ध, बाह्य जगतको प्रभावलाई सूक्ष्म ढङ्गले केलाएर राज्यको दूर्बलीकरण दूर गराउन हर सम्भव प्रयत्न गर्छ । कतिपय नेतृत्व क्षणिकरूपमा विलय भई छाड्छन् भने कतिले युगकै दिशाबोध गर्दै राष्ट्रको भविष्यलाई काँधमा बोकेका हुन्छन् ।

साङ्गठनिक पद सोपानको नागरिक स्तरका नेतालाई गणपूरक मानेर समाज विकास हुँदैन । भूगोल, अर्थ राजनीति, संस्कृति अन्तर घुलन, धार्मिक सम्मिलन, मनोवैज्ञानिक आधार, सैन्य संरचना, राष्ट्रको कूटनीति लगायतका सारभूत सामर्थ्यमा नेतृत्वको भूमिका मूल्याङ्कन गरिन्छ । नेतृत्वमा राज्य निर्माणको १५–२० वर्षे भिजन र त्यस्ता मार्गचित्रहरूलाई कार्यान्वयन तहमा लैजान सक्ने देशको बजेट, नीति कार्यक्रम, योजना तथा मेगा आयोजनाको तीव्रतम घोषणा, श्रम शक्तिको तालिकीकरण, मानव संशाधन व्यवस्थापनको उच्च प्रयोग र अभ्यास, व्यवस्थापकीय औजारलाई प्राकृतिक स्रोत तथा अपार सम्पदालाई निरन्तर दीगो हिसाबले उपयोग गर्ने, वातावरणको विनिर्माण गर्न सक्ने नेतृत्व क्षमता चाहिन्छ ।

समग्रमा नेतृत्व युगान्तकारी छविको, चमत्कारिक, अनुयायीहरूलाई निरन्तर प्रभावमा पारिरहन सक्ने, अद्भुत सक्षमता, विलक्षण युक्त विशेषणहरूले युक्त युगद्रष्टा बन्नु पर्छ । यो नेतृत्वपना वा नेतृत्वशैली दुवै हो । के युगद्रष्टाहरुले इतिहासका खासखास कालखण्डहरूमा ठिक ढङ्गले राज्यसत्ता सञ्चालन गरे या गरेनन् ? त्यो इतिहासले मूल्याङ्कन गर्दै आएको छ । त्यो सायद इतिहासको निर्मम, कठोर र कष्टसाध्य विन्दु वा क्षण पनि हो । यो राजनीतिशास्त्र र कूटनीति वृत्तमा व्यापक चर्चा हुने गर्छ ।

अझ ग्लोबल लिडरसीप भनेको त परिपक्कता, इतिहासको सुल्टो वृत्त, सग्लो अभिभावकत्व, निपूर्णता र प्रौढताको गर्भबाट जन्मन्छ । लगत्तै त्यसको शृङ्खला र पूरावृत्तबाट सक्षम उत्तराधिकारीहरू जन्मन्छ । आत्मज्ञ तथा मर्मज्ञ भएर यथार्थवृत्त गर्दा नेतृत्वले दिव्यात्मक ढङ्गले पालक र अनुचारीको भूमिकालाई राम्रोसँग बुझेको हुन्छ । गलत प्रवृत्ति, पागलपन, बहुलठ्ठीपन वा हीन मनोग्रन्थीबाट ग्रसित भएर गलत खलनायकमा परिणत हुने आत्मघाती कदमबाट नेतृत्वलाई जोगाउन हर हमेशा सचेत बन्नु पर्छ । यो अनुयायीहरूको कर्तव्य हो । यो नेतृत्वको सक्षम कार्यभार हो ।

यस्ता अछल भाव भएका अकाट्य विचारका शिखर पुरुष वा महात्माहरूले ऐतिहासिक कालखण्डहरूमा कोबिद क्षमता मात्र राख्ने गर्दैनन्, जनरुचीका जननेतृत्व बनेर उच्च समझदार खास गरी आचरणमा ८५ प्रतिशत शुद्धता र १५ प्रतिशत अभिरुचि परीक्षणमा पारङ्गत/निपूर्ण हुँदै वृहत् सचेतना, अन्तरदृढता प्रदान गर्ने, गुरुकूलयुक्त उत्प्रेरणा प्रदान गर्दै प्रमाणिक नेतृत्वको पुष्टि गरेका हुन्छन् ।

नेतृत्वबाट राज्यस्तरका नागरिकले सिक्नु पर्ने ऐतिहासिक सबक वा भनौँ सम्प्राप्ती धेरै छन् । जस्तो वृहत् नागरिक समाजको निर्माण, निर्णय क्षमता, शैक्षिक परामर्श, कुशल प्रशासन सञ्चालन, कुशाग्र कूटनीति, संकटमोचनमा अग्रपङ्क्तिमा नेतृत्वको भूमिका, जोखिम बहनमा नेतृत्व, इतिहासबाट सिक्ने, स्वअनुशासनको अन्तस्करण नै दूरदर्शक नेतृत्वका उच्च मानक हुन् । नेतृत्व मोह वा भङ्ग त्यतिबेला हुन्छ भनिन्छ, जुनबेला परिस्थिति निर्माण महाविपत्तिमा गएर ध्वस्त हुन पुग्छ । शासन प्रणाली उल्टिन्छ । यो सांसारिक नियम हो । त्यतिबेला बचेखुचेको विचारधारा वा आम धारणामा बज्रपात टक्रिन्छ नेतृत्व एक पाइलाबाट हिँडेर हजार माइल पुग्नै लाग्दा गल्र्याम्म ढल्न पुग्छ । युगका दीर्घकालिक शान्तिदूत माओका महान् विचारधारात्मक सञ्जीवनीहरूलाई बदलिँदो चीन र यसका विश्वासिला उत्तराधिकारी सीजीङपीङमा नेतृत्व हस्तान्तरण भएको विषयलाई गतिलो उदाहरणको रूपमा लिन सकिन्छ ।

यो पनि सफल बहुपदीय नेतृत्वको अनुपम उदाहरण हो । सरसर्ती चीनलाई हेर्दा सी कै नेतृत्वमा छिट्टै ६० प्रतिशत विश्वजगतलाई जोड्ने चिनियाँ सापेक्षतामा आधारित “समाजवादको शिल्क अभियान” ले विश्वस्तरमा आर्थिक क्रान्तिको झण्डालाई स्थापित गरेको छ । आधुनिक चीनले ७६ औँ दिनमा नै कोभिड–१९ नियन्त्रण गरी राज्य नियन्त्रित अर्थतन्त्रलाई पुरानै लयमा फर्काएको छ । यो सँगै चीनप्रति विश्वजगत आशावादी बन्दै गएको छ ।

यता एकछत्र दोस्रो विश्वयुद्धपछि राज गरेको अमेरिका जर्ज वासिङ्टनपथबाट अग्रसर हुँदै बाइडेनको कार्यकालसम्म आइपुग्दा प्रजातान्त्रिक अर्थात् पुँजीवादी ध्रुवमा चमक ल्याउन त के कुरा विश्वमञ्चहरुबाट एकपछि अर्को गर्दै खुम्चिँदै गएको छ । उसको भूमिकालाई लिएर विश्व जगत् आश्चर्यचकित छ ।

यसरी हेर्दा, खासखास नेतृत्वहरुले विश्वसामु देखिएका सङ्कट जस्तो कोभिड–१९ लाई नियन्त्रण गरी विश्व हल्लाउने पहल कदमी लिन सफल भएको छ । विषम परिस्थितिले तहल्का मच्ची रहेको तहसनहसपूर्ण मानव चोला, कोभिड–१९, महारोग एड्स, दृष्टि रोग, बर्डफ्लु, विपद्, हतियारबद्ध त्रास, भूराजनीतिक असन्तुलन, आक्रामक ध्रुवीय सैन्य कूटनीति, बदलिँदो पुँजीवाद र समाजवादको फेरो, विश्व विकास बारेको अन्तर्विरोध, अरबौँ निम्न वर्गले फलो गरेको समाजवादी अर्थतन्त्रमाथिको गरमागरम बहसले विश्व व्यवस्था कता तर्फ जाने
हो ? द्वन्द्व छ ।

त्यसमाथि जो जो समाजवादी निकट छन्, समाजवादी हुन्, उनीहरूमाथि अमेरिकी विदेश नीति गतिलो ढङ्गले घेराबन्दीमा उत्रिरहेको यथार्थ चित्र हो । यो विश्वको नेतृत्व कसले लिने भन्ने द्वन्द्व हो । फेरी पनि नेतृत्व कै चर्चा गर्दा समाजवादी मात्र होइन फरक धारमा विषय उठान गर्दा, इन्डियाका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु, २०० वर्षे ब्रिटिश साम्राज्यवादसँग लड्ने आजाद हिन्द फौजका नेताजी, अहिंशात्मक आन्दोलनका प्रणेता गान्धी, महारानी एलिजावेथहरुका जीवित इतिहास शासन प्रणाली, निर्मित संविधान, नीति–निर्माण, बौद्धिक तीक्ष्णता, विज्ञानप्रतिको बोध, साहस र उच्च नैतिकताले हालको पुस्ता अनुकारी बनेको छ ।

अनुसन्धानविद् डा. प्रुसी विस्टनले नेतृत्वको बारेमा प्रष्ट भनेका छन् की नम्रता, अरूलाई सुन्ने, स्वनियन्त्रित, असल/खराब छुट्टाउने विशेषता हुनुपर्छ । नेतृत्वले खिर्राको बोटमा सुन्तला फल्छ भनेर अफवाह फैलाउनु भएन । नेपालको ब्यूरोक्रेसीमा त संस्थागत संस्मरण, पुस्तान्तरण, उत्तराधिकार योजना र निजामती सेवाको वृत्ति विकासमा रणनीतिक सुधार आएकै छैन । नेतृत्व विकास कमजोर छ । सरकार बाहिरका पात्रहरूको भूमिका रोलमोडल हुन सकेको छैन । बारम्बार दोहोरिने प्रधानमन्त्रीको रोलक्रम महारोग भएको छ । योजना आयोग पङ्गु भएको छ । संवैधानिक निकाय औचित्य पुष्टि भएको छैन । विश्वविद्यालयमा राजनीतिको भागवण्डा छ । नागरिक समाज विभाजित छन् ।

राष्ट्रिय सहमतिको राजनीतिक संस्कारमा मुलुक एकताबद्ध हुन सकेको छैन । सामाजिक क्षेत्रमा पटक्कै सुधार आएको छैन । नेपालका संस्थापक पुष्पलाल, वीपीका राष्ट्रिय अनुयायीहरूले अबका दिनामा राष्ट्रियतालाई केन्द्रविन्दुमा राख्नै पर्दछ । लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालादेखि शान्ति सम्झौताका कुशल प्रणेता तथा वर्तमानका नेता प्रचण्डसम्मले नेपालको अग्रगामी भविष्यप्रति कस्तो सङ्कल्प साकार पार्ने हुन् ?

यसमा विमर्श जारी छ । संसारको शीर सगरमाथा .८६ मिटर जसरी उचाइ थपिएर नयाँ रेकर्ड कायम गरेको छ, गरिमा बढाएको छ । त्यसरी नै यस धर्तीमा जन्मिएका विश्वशान्तिका अग्रदूत भगवान् गौतम बुद्धको सन्देश विश्वभर फैलाउन हामी नेपाली चुकिरहेका छौँ । वर्तमानमा विश्वलाई चिनाउने अग्रगामी नेतृत्वको नेपालमा जन्म हुनु नितान्त आवश्यक छ । यस धर्तीमा जन्मिएका कुलमान घिसिङ, पुष्पा बस्नेत, परराष्ट्रविद् कूलचन्द्र गौतम, समाजसेवी डा. गोविन्द के.सी., डा. भगवान् कोइराला, डा. सन्दुक रुइत, कर्मवीर महावीर पुन, संस्कृतविद् सत्यमोहन जोशी, राष्ट्रिय विलक्षण प्रतिभा डा. बाबुराम भट्टराई आदि हाम्रा साझा सम्पत्ति हुन् । यी राष्ट्रका गौरव हुन् । यस्ता सामाजिक नेतृत्वहरूबाट नेपाली समाजले विकास र समृद्धिको खाका सजिलै कोर्न सक्नेमा दुई मत नहोला ।

Tags :
प्रतिक्रिया दिनुहोस