काग र कोइलीको बथानमा अलमलिएको राजनीति  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काग र कोइलीको बथानमा अलमलिएको राजनीति 


११ पुस २०७७, शनिबार


नेकपाको वर्तमान सरकार बहुमत हुँदाहुँदै संसद् विघटन हुन पुग्यो । नेकपामा दुई पक्ष मध्ये सरकारको नेतृत्व गरेका नेताले संसद् विघटन गरे भने अर्को पक्षले संसदपुनःस्थापनाकै लागि सडक सङ्घर्षका कायक्रमसँगै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नाममा वामपन्थी र कम्युनिष्ट भएकै नाममा ३ वर्ष पहिले एकीकृत भएका यी पार्टीहरूको यो अवस्थाले जनस्तरमा उत्साह जगाउनुको सट्टा निराशा उत्पन्न भएको छ तर आम कार्यकर्ता कागको पछि लाग्ने कि कोइलीको पछि लाग्ने भन्ने रनभुल्लमै छन् ।

खास गरी काग र कोइली दुवै कालो रङका मानिन्छन् तर पनि कोइली अन्य विविध रङका पनि हुन्छन् । त्यसै गरी कागमा पनि काले काग र माले कागको रूपमा पनि वर्गीकृत छन् । काग र कोइली दुवै सन्देश बाहक पंक्षिको रूपमा लिने गरिन्छ । कोइली चराले कहिल्यै आफ्नो गुँडमा फूल पार्दैनन् । कोइली मध्ये काफल पाक्यो भन्ने कोइलीले चिबे चराको गुणमा फूल पार्छ र चिबेले कोइलीको फूलबाट बच्चा निकाल्दछ भने अन्य कुहू कुहू भन्ने कोइलीले कागको गुणमा फूल पार्छ र कागले बच्चा कोरल्दछ । यसरी हेर्दा कोइलीले अरूको गुँडमा फूल पार्छन् बच्चा हुर्काउने कार्य अरूलाई नै थोपर्छन् । कालो रङ्गको कोइलीले काग नभएको मौका छोपी कागको गुँडमा फूल पार्ने र बच्चा हुर्काउने पठाउने बठ्याइँ पनि कम चाखलाग्दो मानिँदैन  । कोइली नेपालको लागि आगन्तुक चराको रूपमा मानिन्छ भने काग नेपालको रैथाने चराको रूपमा मान्ने गरिन्छ । वर्गीयरूपमा यी दुवै खासमा एउटै प्रजाति भित्र पर्ने पंक्षि हुन् ।

नेपालमा पार्टी फुट्नु र जुट्नु कुनै नौलो मानिएको छैन । कुनै बेला अति चर्चामा आएका पार्टीहरू पनि वर्तमान अवस्थामा कुनै अवशेष पनि देखिँदैन । निश्चित समय र क्षणिक उद्देश्य लिएर जन्मिएका पार्टीहरूले निरन्तरता नपाउनुलाई सामान्य नै मान्नु पर्दछ । वर्तमान अवस्थामा एउटा पार्टीले पार्टीको एउटा अध्यक्षलाई कारबाही गरी निर्वाचन आयोगमा पत्र पठाउँछ भने अर्को पार्टी अध्यक्षले केन्द्रीय सदस्य थप गरेर निर्वाचन आयोगमा पत्र पठाउँछ । यस हिसाबमा निर्वाचन आयोगलाई कुन कोइलीको फूल हो ? कुन कागको फूल हो ? छुट्टाउन गाह्रो देखिएको छ । एउटा पार्टीमा देखिएको असन्तोष, गुटबन्दी र खिचातानीले सिङ्गो मुलुक बन्धक बन्नु विडम्बनायुक्त नै मानिन्छ । राजनैतिक दर्शन आयातित हो वा आफ्नै हो छुटाउन पनि सकिँदैन । आगन्तुक चरा झैँ दर्शन पनि आयातित जस्तै रटाने राजनीति जस्तो मान्नु पर्ने अवस्था आएको छ

२०७४ सालको चुनाव हुँदा नेपाली नागरिकले राजनैतिक स्थिरता कै लागि विभिन्न क्षेत्रबाट निर्वाचित हुन् । पार्टीका लोकप्रिय मतसमेत यिनै पार्टीहरूलाई बुझाएको थियो । त्यसैको आधारमा यिनीहरूले सरकार गठनको लागि पर्याप्त अवसर पाएका हुन् । नागरिकहरूले यिनीहरूलाई माले काग र काले काग वा चिबे र कोइली एउटै प्रजातिका हुन् यिनले कहाँ गुँड बनाउँछन् कहाँ बच्चा कोरल्छन् भन्ने सम्बन्धमा कुनै जानकारी राखेनन् । सोलोडोलो एउटै प्रकृतिमै राखे तर बच्चा कोरल्दै जाँदा गुडबाट नै यिनले कोइली र कागको बचेरालाई आफैतिर तानिरहेको अवस्था देखिएको छ ।

कागको एउटा आँखाले मात्र देख्छ भनिन्छ । भलै दुइवटै आँखा भए पनि एउटा आँखाले मात्र काम गर्दछ । कोइलीलाई कादम्बिनी पनि भनिन्छ उसको स्वरले निस्तब्ध स्थानमा निकाल्ने आवाजले जो कोहीलाई पनि आकर्षित गरेको पाइन्छ । कागको एउटा आँखाले काम गरेजस्तै देशको संविधानको व्याख्या एउटै आँखाले मात्र हेर्ने र त्यसलाई आफ्नो अनुकूलको व्याख्या गर्ने अवस्था एउटाले गरेका छन् भने अर्काले आफ्नो बक्षमा बहस गर्न कोइलीको स्वर निकालेको पाइन्छ । यिनीहरू दुवैले आफू कुन बथानको हुँ भन्ने बारेमा स्पष्ट नै पार्दैनन् । यस किसिमको परिपाटीले उनीहरूले त कुनै न कुनै तवरबाट मुक्ति पाउलान् तर आम नागरिकले मुक्ति पाउँछन् कि पाउँदैनन् गम्भीर प्रश्न उठेको छ ।

राणा शासनको अन्त्यपछि नेपाली जनताले बारम्बार चाहेको राजनैतिक सङ्क्रमणको मुक्ति  हो । तर त्यसलाई कहिले राजाले, कहिले काँग्रेसले कहिले आफूलाई वामपन्थी भन्न रुचाउनेहरूकै कारण राजनैतिक सङ्क्रमणको अन्त्य हुन सकेन । यिनीहरू आफूलाई कहिले काग र कहिले कोइलीको स्वरूप देखाउने बाहेकअरु पाइएको छैन । कहिले काहीँ नेपालका पार्टीहरू चिवेचराको जस्तो गुँड पनि प्रदर्शन गर्दछन्  । चिवेचरा चाँडो उड्न सक्ने भएकोले चिल बाज जस्ता ठुला सिकारी चराहरूसँग पनि टक्कर लिएको जस्तो हाम्रा छिमेकी शक्ति राष्ट्रसँग टक्कर लिएको पनि देखाइएको छ । हरेक १० वर्षमा हुने परिवर्तनलाई यिनै सङ्केत गरेको पाइन्छ । चिबेले टक्कर लिए जस्तो राजनैतिक पार्टीहरूले भने त्यो स्थिति कायम गर्न सकेको देखिएको छैन ।

राजनैतिक रूपमा ओथारो बस्ने बच्चा जन्माउने गरिन्छ तर त्यसको बचाउ भने कहिल्यै गर्न सकेनन् यसले पनि आम नागरिकलाई राजनीतिमा वितृष्णा जगाउने गरिएको छ । कोइलीको जस्तो आवाजमा समृद्धि र विकासको लागि जतिसुकै सुरिलो आवाजमा आकर्षण गर्न खोजे पनि कोइलीले आगन्तुक चराकै रूपमा आफूलाई स्थापित गरेजस्तै नेपालका पाटीहरु पनि मौसम अनुसार मात्र देखा पर्ने जस्तो पाइन्छ ।

राजनीति वुझनेहरुले पनि के देखिरहेका छन् भने कोइलीका बच्चाहरू कोइलीतिर र कागका बच्चाहरू कागैतिर लहसिएको पनि पाइन्छ । यिनीहरूको गुणमा न कोइलीले आफूलाई चिनाएको छ नत कागले नै आफूलाई प्रष्टाउन नसकेको जस्तै राजनैतिक आफै पनि कुहिरामा अलमलिएको काग जस्तै देखिन्छन् ।

नेपाली जनताको चाहना राजनैतिक स्थिरता, गणतन्त्रको संस्थागत विकास, लोकतन्त्रको रक्षा गर्दै आमनागरिकको अभिभावकत्व कायम गरुन् भन्ने हो तर यिनीहरू काग र कोइलीतिर विभाजित भइरहँदा संवैधानिक संकटमात्र निम्ताएनन् राजनैतिक अस्थिरता खडा गर्ने कार्य भएको छ । यसले नेपाली जनताको त्याग र सङ्घर्षबाट ल्याएको राजनैतिक परिवर्तनलाई कुनै वास्ता हुन सकिरहेको पाइँदैन ।

नेपाली जनताले राजनैतिक परिवर्तनको लागि निकै ठुलो जोखिमयुक्त यात्रा गरेका छन् तर नेतृत्वमा पुग्नेहरूले त्यसलाई खेलाँचीको रूप दिइरहेका छन् । गणतन्त्र, राष्ट्रियता, धर्म सापेक्ष वा निरपेक्षता र भ्रष्ट आँचरणहरुमा सुधार ल्याई समृद्धिको बाटोमा पुग्ने अपेक्षा गर्दछन् । हाम्रा मूल्य अर्थात् गणतन्त्रको मुख्य गुण नै बिर्सिदिने र मान्यताको नाममा हुने जुन आधारहरू छन् ती सबै आधारहरूलाई नै अङ्गीकार नगरेकै कारण यो स्थिति आएको हो । राजनैतिक पार्टीका भाषा र परिभाषाहरू फरक खालका देखिए । कोइलीले त आफ्नो आवाज मात्र निकालेको हो कुहू कुहू र काफल पाक्यो भन्ने तर आम नागरिकले कुहू भन्दा आफैलाई बोलाएको अनुभूति गर्ने र काफल पाक्यो भन्दा बनमा काफल पाकेछ भनेर बन तिरै हुइँकिने जस्ता चरित्र देखाइएको छ । कोइली आगन्तुक चरा हो भन्ने नै बुझेनन् ।

कोइली गृष्मकालीन समयमा आउँछ केही समय बस्छ अनि जान्छ भन्ने कुरा नै बुझेनन् । राजनैतिक सङ्घर्ष गर्दा दौरा सुरुवाललाई घृणा गर्थे तर सत्ताको माथिको राज्य सञ्चालन गर्ने स्थानमा पुग्ने मनोगत चाहनामा लबेदा सुरुवाल सिलाएर राखिहाल्ने । यस प्रकारको दुई जिब्रे राजनीति हो वा नेपाली नागरिकले कोइली र कागको झगडा छुटयाउन नसकेका हुन वा सबै नागरिकलाई अलमलाई रहेका हुन् त्यसबारेको पहिचान कसरी पाउलान् हेर्न कति दिन कुर्नु पर्ने हो ।

Tags :
प्रतिक्रिया दिनुहोस