ग्राण्डी अस्पतालमा मिर्गौला प्रत्यारोपण पुनः शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ग्राण्डी अस्पतालमा मिर्गौला प्रत्यारोपण पुनः शुरु


४ पुस २०७७, शनिबार


काठमाडौँ । टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालन आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विसं २०७६ चैतदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीसँगै स्थगित भएको सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।

विसं २०७३ असारदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको ग्राण्डीले हालसम्म ५६ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिसकेको अस्पतालका प्रशासक हरि खड्काले जानकारी दिएका छन् । ग्राण्डीले अस्पतालभित्र हुने शल्यक्रियालाई आवश्यक पर्ने रगतका लागि आफ्नै ‘रक्तसञ्चार केन्द्र’ समेत स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

दुई सय शय्यामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको ग्राण्डीले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि ५४ शय्या छुट्याएर भेन्टिलेटर, आईसीयूसहित सेवा प्रदान गर्दै आइरहेको छ । ग्राण्डीले हालसम्म ३३० कोरोना सङ्क्रमित बिरामीको उपचार सम्पन्न गरिसकेको छ ।

कोभिड सङ्क्रमणसँगै ग्राण्डीमा बिरामीको चापसमेत घटेको छ । हाल दैनिक २०० देखि ३०० बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेको अस्पतालका महाप्रबन्धक विकासमान सिंहले जानकारी दिए ।

कोभिड सङ्क्रमणको समयमा ग्राण्डी अस्पतालमा शल्यक्रियासमेत घटेको छ । कोभिड–१९ अगाडि मासिक ४०० व्यक्तिको विभिन्न रोगको शल्यक्रिया गर्दै आएको ग्राण्डीले कोभिड शुरु भएसँगै महिनाको १०० हाराहारीमा शल्यक्रिया गरेको छ । कोभिडको समयमा सामान अभावसँगै भाउ बढ्दा उपचारमा समेत समस्या आएको उनको भनाइ छ ।

सरकारले कोभिड–१९ को उपचारका समयमा निजी स्वास्थ्य सेवा प्रदायक संस्थासँग छलफल नगरी एकतर्फी निर्देशिका जारी गर्दा समस्या परेको महाप्रबन्धक सिंहको भनाइ छ । विसं २०६९ पुसमा स्थापना भएको ग्राण्डी अस्पतालमा हाल एक हजार स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस