पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन : मन्त्री गुरुङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन : मन्त्री गुरुङ


४ पुस २०७७, शनिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन् । नेकपा दोलखा जिल्ला समिटीले आज बिहान चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलिसभामा मन्त्री गुरुङले सो धारणा राखेका हुन।

‘पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन, विभाजन हुन दिँदैनौँ’, मन्त्री गुरुङले भने, ‘मुलुकको स्थायित्व र समृद्धिका लागि नेताहरुले पार्टी विभाजन हुन दिदैन भन्ने विश्वास छ ।’ उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे । बुधबार निधन भएका पार्टीका नेता लामा इमान्दार व्यक्ति भएको स्मरण गर्दै मन्त्री गुरुङले उनको इमान्दारीबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिए ।

यसैबीच सञ्चारमन्त्री गुरुङले आज बिहान भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको शिलान्यास गरे । साथै, मन्त्री गुरुङले भीमेश्वर नगरपालिकाले तयार पारेको ‘भीमेश्वर नगर बृहत योजना’ को समेत विमोचन गरे । तीनदिने भ्रमणका क्रममा गृहजिल्ला पुगेका मन्त्री गुरुङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमन समेत गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस