कुण्ठाको बुद्धि विलास « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कुण्ठाको बुद्धि विलास


२ पुस २०७७, बिहिबार


संसारमा विद्वानहरू थुप्रै छन् र त्यो भन्दा बढी वुध्दिव्यवसायीहरु छन् । विद्वान गुमनाम प्रायः बित्छन्, वुध्दिव्यवसायीहरु पीठो बेच्ने धन्दा सफल पार्दछन् । संसार चाहेजस्तो त बन्न सक्दैन नै, त्यै अलि बढी बस्न योग्य, अलिकता कम कुण्ठाग्रस्त, थोरै प्रसन्न, थोरै उदार र उपकारी होस् भन्ने चाहनु तर कसरी बनाउने भन्ने थाहा हुँदाहुँदै ‘म मात्रले गरेर के हुन्छ ?” सोच्नु वर्तमान सत्य हो । अझै सजिलो त पन्छिनु, पन्छाइदिनु ‘त्यसले गर्दा पो’ भन्नु ।

भालेनीति राजनीति र त्यसका अवयव, त्यसले चलाउने अड्डातन्त्र र त्यहाँका ‘कार्यकर्ता’, जहीँतहीँ त्यस्ता व्यवसायीहरू छन् जो आफूले साह्रै उत्तम सम्पादन गर्छन् र काम बिग्रेको अर्कैले गर्दा हो भन्ने सिद्ध गर्न बुध्दिविलास गरी बस्दछन् । अन्तरआत्माले पत्याएकै हुँदैन तर आत्माविरुद्ध जालसाजीपूर्ण कागजको चाङ आफै प्रमाणित गरेर इजलास जितेको भ्रम गुत्छन् ।

चोखो कोही भेटिँदैन र यसरी बिटुलो हुने क्रम राज्य शक्तिको एक नम्बर अभ्यासबाटै सुरु हुन्छ । कमिसनको वार्गेन गरेको टेप आउँछ, खाएको त छैन नि भनिदिनुपर्छ । खाएको कुरा आउँछ, कहाँ खायो ? फिर्ता गरेको देखेनौँ भन्नुपर्छ । आत्मालाई ढाँटेरै जित्न खोजिन्छ । यही क्रम र तर्तिव दुई, तीन,…हुँदै एक्काइस, बाइस, नप्पाइस् (केही नपाउने भोटदाता) सम्मै पुग्छ । ‘हाम्रो प्रणाली यस्तै छ त’ चित्त बुझाउने सजिलो उत्तर ।

मौरीले जसरी जम्मा गर्नुपर्ने राज्यकोषमा भोका भवँराहरुले मात्रै हालीमुहाली गरिरहन्छन् । अघिल्लो पुस्ताले देख्न र सुन्न कम पाउँथे, हाम्रो ‘डिजिटल’ पुस्ताले सबै देख्न र सुन्न पाउँछ र त सामान्य चेत भएको, रैती नबन्न चाहने हर कोहीले आफू ठगिएको प्रस्ट देख्छ। तर प्रश्न गर्ने हैसियत पुग्दैन, पुगिहाले हावा ठहर्छ । आत्माविरुद्धको जालसाजीको निरूपण गर्नुपर्ने इजलास त्यही ‘एक—नप्पाइस्’ बीचकै घन चक्करमा रुमल्लिइरहन्छ । यसैको सेरोफेरोमा बुद्धि–व्यवसाय भने खुबै फस्टाउँछ । मिडियाको नाउँमा, दलको नाउँमा, एनजीओको नाउँमा, विज्ञको नाउँमा, कन्सल्टेन्सीको नाउँमा, अड्डा हाकिमको नाउँमा, समाजसेवी वा यस्तै विभिन्न छद्म नाउँमा । अधिकांशको धन्दा जालसाजी वा यसको शुद्धीकरण नै हो जसको लागि असङ्ख्य टाउकाहरू दिनरात आफ्नो मासी खियाइरहन्छन् ।

व्यापारी–व्इवसायीका पैसाले दल नामका अतिरिक्त कम्पनी चल्दछन् जसबाट लगानीको अतिरिक्त फल स्वतः अपेक्षित हुन्छ त नीति नियम कसरी जनतामैत्री बनाउन पाइयो ? वर्ग यसरी बनेपछि लगानी गर्ने वर्ग प्राथमिकतामा पर्नु अस्वाभाविक कसरी ? पेटमा परेको नुन नसामा पुगेपछि त्यसको बाङ्गो गर्न हिम्मत कसले गर्ने ? ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्टवाला थिअरी’ जाये भाँडमे ।

बिना जागिर,व्यवसाय, तलव वर्षौंसम्म राजनीतिका नाममा खर्च, राजसी दैनिकी, उनैका नामबाट उपहार, दान, चन्दा र उनैका आलिसान घर, गाडीको स्रोत कसले खोजेको छ ? भन्सारको ‘अन्डरविलिङ्ग’ कसले देखेको छैन ? डोका, पोकादेखि चामलभित्र भित्रिने खोका तस्करी कहाँ छिपेको छ ? वरिपरि ‘’मध्य–व्यवसायी” (बिचौलिया किन भनूँ) को ठेलमठेल, ती सबै रातारात शून्यबाट ‘’भनसुन्य’’ कसरी हुन्छन् कसले सोचेको छ ? दरबारमार्ग – न्यूरोड तिरका पसल सिजनल्ली अनुभ्रमण, केही दिन बन्द, पुनः पूर्ववत् कारोबार यो चक्र किन चलिरहन्छ ? यो देख्नुपर्ने एक नम्बर, दुई नम्बर, अर्थमन्त्री वा अनर्थमन्त्री को हो भनी कसले प्रश्न गरेको छ ? सुनका डल्ला किन भित्रिन्छन्, कहाँ जान्छन्, कसले बुझेको छ ?

जागिर रोज्नेले राजश्व किन पहिलो रोज्छन् ? वा हालसम्म पहिलो भएर पनि नरोज्ने कोही रह्यो, कसैले खोजेको छ ? उनीहरूको दैनिकीको अन्तरमा कसैले खोज गरेको छ ? मालपोत, यातायातमा कहिलेसम्म भिडभाडै हुनुपर्ने भनेर कहीँ उल्लेख छ ? त्यहाँका पियनसम्मको दिनचर्या के कसैले कल्पना गरेजस्तै छ ? त्यो भन्दा बढी मन्त्रालय (कार्यकक्ष कम क्यान्टिन बढी) मा कारिन्दाको भीड नदेख्ने मन्त्री–सचिवको ’हाइपरमेट्रोपिक’ आँखामा लगाउनुपर्ने चस्माको पावर कहाँ तोकिएको छ ? मालमा रजिस्ट्रेसन पास राजश्वबाट फिर्ता हुनुपर्ने ‘’सतसट्ठी रुप्पे खै ?’’ भनेर कसैले माग्न सकेको छ ? नारायणी नकटेको सप्तरीको मानिसको भेरीको लाइसेन्स र दाङसम्म नटेकेको दैलेखीको जनकपुरबाट लिएको लाइसेन्सको सत्यापन गर्न कसैले आँटेको छ ? सत्र जना विदेशीलाई छोरा करार गरी नेपाली नागरिकता दिने दिलाउनेलाई कसैले समातेको छ ? कालो माटोको तरकारी कालीमाटी पुग्दा हुर्केको भाउ कसैले नापेको छ ? खर्दार सर र मा.वि. का सरको जोडिएको घरको आयाम नाप्नेले फेसबुकमा कुण्ठा पोख्नुबाहेक छोरालाई ‘मास्टर भएस्’ भनी दशैंमा आसिक दिने हिम्मत गरेको होला त ?

महालेखाको कर्मकाण्ड बाहेक सालिन्दा कार्यालयमा फर्निचर, मेसिनरी भनेर बजेट थप्नुपर्ने कारण कसले खोजेको छ ? पोहोर किनेका कार्पेट निकालेर कहाँ ‌ओछ्याइन्छ कसले देखेको छ ? घरमा बाउले किनेको कम्प्युटर अझै चलिरहँदा अफिसमा वर्षको तीन पटक मर्मत किन गर्नुपरेको हो कसले बुझेको छ ? प्रशासनको खरिदार जिन्सी नपाए विद्रोह गर्नुपर्ने व्यवस्था कुन ऐनमा छ ? हरेक सरकारी किनमेलका धन्दामा अडिट खर्च छुट्याउनुपर्ने अलिखित कानुन किन बनाएको हो ? सरकारी भ्रमण÷दैनिक भत्ता खाएर ज्वाइँसरि आई ले–खा–परीक्षण गरी फर्किनेको झोला कसले खानतलासी गरेको छ ? बेरुजु वा भ्रष्टाचार कसरी करार गरिन्छ ? अख्तियारका हालसम्मका हाकिम कस्ता गए कसैले चिनेको छ ?

लोकल नेताले ढुङ्गा–गिट्टी कसरी चपाई निल्छन् र चुनाउका बेला कसरी पेट्रोल (मिट्टिका तेल) निकाल्छन् ? त्यसैका बलमा महिनौँ धुलो उडाउने ‘’ट्यापे मेला” आयोजनाको उद्देश्य के ? गावैँ कुरूप हुने गरी झुण्ड्याइने फ्लेक्सपताका भर्लाका पातबाट बन्ने हुन् ? पैसै पर्ने जिनिस भए चुल्ठे राखेर गिटिवालुवा दुहुने बाहेक अन्य केही स्रोत पनि थियो कि भनेर कसले हिसाब राखेको छ ? साइकलमा तेल कताबाट घुसारिन्छ ? कुनै घर बेटीले कसैलाई सित्तैमा बङ्गला किन अर्पन्छ ? मैले ‘नाती–पर्ने’को कलेजा–मृगौला छोडौँ बङ्गारा समेत लिन कुन कानुनले दिन्छ ? यी सबै कुरा फुर्सदमा कसैले सोचेको छ ?

प्राइभेट कम्पनीले भ्याट विल काट्नै मात्र पटके कर्मचारी किन राख्छन् ? अन्तःशुल्क हेर्ने सुब्बासावको स्केलमा कति उपहार मिल्छ ? राजश्वले गर्ने अडिट के कुरामा अडिन्छ ? जग्गा किनबेच गर्दा वास्तविक कारोबारको हुन आउने राजश्व बुझाएका माइकालालहरु नेपालमा कति जना होलान् ? वकिलसावहरुले आफ्नो कारोबारको लेखा र परीक्षण त रुजु नै गर्नुहुन्छ होला है ? श्रीमानहरूको भुँडी तलबले नै त बढायो होला नि ? सोच्ने कोही छ ? सिडिओसावको पिएलाई चिन्ने कोही छ होला कि ? कर्साव÷एसपीसावहरुका अड्डाका बग्रेल्ती कालिज र बँदेल फाराम देखेको कोही होला कि ? सहकारीमार्फत सहकार्य गज्जबै त चल्छ होला ? अड्डापिच्छेबाट ‘महिने’का रूपमा पेट्रोल उठाउने पत्रकारहरूले कम्तीमा यी प्रश्न उठाइरहेकै त होलान् नि है ? पोथी चौपायाको वध गर्नु दण्डनीय रहेको देशमा दैनिक सयौँ ट्रक पुच्छरमा बाँधिएका भैँसी पाल्नकै लागि त काठमाडौँ पोखरा लगिन्छ होला नि है !

बरा ! विचरावर्ग यी प्रश्नको उत्तर जान्ने पल्टिन्छ तर भाग्यले हजार नयाँ प्रश्न तेर्स्याइसिन्छ । मथिङ्गल हल्का बनाउन सिस्टमलाई सराप्छ, आफूबाहेक सबैलाई धिक्कार्छ। अन्ततः लतक्क आफै गल्छ र त्यही सिस्टम ओढ्छ, ओछ्याउँछ, खान्छ, पिउँछ र डकार्छ। तर पनि तन्द्रामा यी सबैको जवाफ जानेकै भ्रममा गुटमुटिएर निदाउँछ । यो ‘’कुण्ठापत्र’’कार पनि बुीद्ध व्यवसायबाट ब्रेक मिल्दाको बखत पाएको अख्तियारको दुरुपयोग गर्दै सरकारी मसी खर्चेर सबै तिथिमा आफै मात्र बस्ने गरी व्यवस्था गरेको नामको अतिथि गृहमा दाइँ मच्चाउँदै लेखिएको त होला नि है !  फुर्सद हुनेले बुद्धिविलास गरी पत्ता लगाउनुहोला ल !

Tags :
प्रतिक्रिया दिनुहोस