पुस ५ देखि २० गतेसम्म ठैव-बाडेगाउँ मूल सडक अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पुस ५ देखि २० गतेसम्म ठैव-बाडेगाउँ मूल सडक अवरुद्ध


१ पुस २०७७, बुधबार


ललितपुर । सातदोवाटो-गोदावरी सडक खण्डअन्तर्गतको ठैव-बाडेगाउँ मूल सडक यही पुस ५ देखि २० गतेसम्म अवरुद्ध हुने भएको छ । सो सडक स्तरोन्नतिलगायत कालोपत्रका लागि नाली तथा ढल व्यवस्थापनको कार्य गरिने भएकाले आउँदो आइतबारदेखि अर्को हप्ता सोमबारसम्मका लागि बन्द हुने भएको हो ।

सो सडकअन्तर्गत ठाउँठाउँमा प्वाल खन्ने काम भइरहेको छ । आवश्यक प्वाल खन्न र पाइप हाल्न अनि यसलाई सुकाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न गोदावरी नगरपालिका–१४ का वडाध्यक्ष जगनाथ महर्जनले अनुरोध गरे । उनले भने, ‘तीस मिटर अन्तरमा सडक खनेर नाली तथा ढलका सामग्री हालिने भएको छ । यो काम हुँदा यस सडक यात्रा नगरिदिएर सहयोग पुर्‍याउन साविकका गोदावरी, बडिखेल, हाँडेगाउँ र बाडेगाउँवासीलाई विशेष आग्रह गर्दछु ।’

ती दिनमा गोदावरी र बडिखेलवासीले झरुवारासी अनि हाडेगाउँ तथा बाडेगाउँवासीले दमैटारको सडक प्रयोग गरिदिँदा दिनभरिको कामलाई निरन्तर अघि बढाउन सकिने महर्जनको बुझाइ छ । ‘यदि मौसम परिवर्तन तथा प्राविधिक समस्या हुन गएमा कार्यको मिति तथा समय पनि हेरफेर हुन सक्नेछ’, उनले थपे।

केही वर्ष अघिदेखि सातदोवाटो–गोदावरी सडकको अवस्था एकदमै दयनीय बन्दै गइरहँदा आफूहरुले विभिन्न समस्या भोग्नुपरिरहेको स्थानीयवासी सविता महर्जनको गुनासो छ । ‘सडकमा भएका खाल्डाखुल्डी, हिलो र धुलोका कारण वर्षैपिच्छे दुर्घटना हुने र सडक छेउमै घर भएका कारण दैनिक उड्ने धुलोले भित्रसमेत बस्न कठिन भइरहेको छ’, महर्जनले भने।

यसैगरी लगनखेल हुँदै गोदावरी एक टिप यात्री बोकेर गन्तव्यमा पुर्‍याउन पनि एक घण्टा बढी समय खर्च गर्नुपरिरहेको यहाँको चालकका आ-आफ्नै मर्म छन् । कहिले पूर्णरुपमा सातदोवाटो गोदावरी खण्डको सडक सुधार होला भन्ने कुरा अझै अन्योलमा नै रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस