चर्चा र चासोको विषय नेकपा स्थायी कमिटी बैठक आज दिउँसो १ बजे « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

चर्चा र चासोको विषय नेकपा स्थायी कमिटी बैठक आज दिउँसो १ बजे


१ पुस २०७७, बुधबार


काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

यसअघि आइतबार बसेको स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।

आजका लागि बोलाइएको स्थायी कमिटी बैठकलाई आम चासोका साथ हेरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याए । त्यसपछि पार्टीभित्र झन असन्तुष्टि भइरहेको छ । पार्टीभित्र र सरकारमा कुनै पनि परामर्श नगरिकनै अध्यादेश ल्याइनुमा नेताहरु प्रधानमन्त्रीप्रति रुष्ट बनेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत अधिकांश नेताहरूले अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरिरहेका छन्।

यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएकोप्रति असन्तुष्टि जनाएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्नुको सट्टा अध्यादेश ल्याएपछि ओलीसहित राष्ट्रपतिको समेत आलोचना हुन थालेको छ।

यसअघि प्रधानमन्त्रीले परामर्शबिनै राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका थिए । तर त्यसको चर्को विरोध भएपछि अध्यादेश फिर्ता गरिएको थियो । बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस