आयोगको आदेश अटेरी गर्ने त्रिविका शिक्षाध्यक्ष भुसाललाई ५ हजार जरिवाना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आयोगको आदेश अटेरी गर्ने त्रिविका शिक्षाध्यक्ष भुसाललाई ५ हजार जरिवाना


३० मंसिर २०७७, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिलवाल भुसाललाई राष्ट्रिय सूचना आयोगले कारवाही गरेको छ ।

शिक्षाध्यक्ष भुसाललाई आयोगले वि.सं.२०७६ चैत्र ६ गते दिएको आदेशबमोजिम सूचना संरक्षण गर्नुको सट्टा मातहतका कार्यालयमाथि जिम्मेवारी पन्छाउन खोजेको, आयोगको आदेश र पत्राचारको वेवास्ता गरी ‘जिम्मेवारी पालनामा गैरजिम्मेवार रहेको’ ठहर गर्दै ५ हजार जरिवाना गराउने निर्णय गरेको हो ।

२०७६ असोज १४ मा आयोगले दिएको निर्देशनको वेवास्ता गरेर अभिलेख धुल्याएपछि जवाफ दिएको भन्दै आयोगले सूचनाको हक सम्बन्धी ऐन-०६४ बमोजिम कारवाही गर्ने निर्णय गरेको हो । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचना आयुक्त कमला ओली थापा र रत्नप्रसाद मैनालीले आवश्यक छलफलपछि सो निर्णय गरेका हुन् ।

त्रिविका एक विद्यार्थीको उजुरीका आधारमा सूचना आयोगले स्नातकोत्तर तह, भौतिकशास्त्र प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको ०७५ पुस २९ मा संचालन भएको परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका ‘संरक्षण गर्नु’ भन्ने निर्देशन दिएको थियो ।

राष्ट्रिय सूचना आयोगलाई नागरिकको संविधान र कानुनप्रद्धत्त हकको प्रचलन गराउनु मूख्य दायित्व रहँदै आएको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालय, किर्तीपुरका कार्यालयप्रमुख शिक्षाध्यक्षले कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन गरेको आयोगले ठहर गर्दै भुसालमाथि कारवाही गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस