शिक्षक-प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतिमा नअलमलिन शिक्षामन्त्रीको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शिक्षक-प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतिमा नअलमलिन शिक्षामन्त्रीको आग्रह


२७ मंसिर २०७७, शनिबार


झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् ।

मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताए ।

झापाको नमुना विद्यालयका रूपमा चिनिएको आदर्श माविमा सङ्घीय सरकारको १६ लाख र प्रदेश नम्बर १ सरकारको ६ लाख ५० हजार गरी कूल २२ लाख ५० हजारका लागतमा विद्यालय परिसरमा पुस्तकालय भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले बताए ।

यसअघि मन्त्री पोखरेलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका नाममा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडमा सञ्चालित बहु प्राविधिक शिक्षालयको शनिवार बिहान उद्घाटन गरेका थिए । बिर्तामोड नगरपालिका–४ मा भवन भाडामा लिएर सञ्चालित शिक्षालयमा कृषि, जीव र वन विज्ञान सम्बन्धी पढाइ हुनेछ ।

शिक्षालयमा १२० जनाले तीन वर्षे डिप्लोमा तहको अध्ययनको अवसर पाउने प्रतिष्ठान झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताए । उनले शिक्षालयले जग्गा भाडामा लिएको र दुई वर्षभित्र आफ्नै भवनसमेत बनाउने तयारी गरिरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस