कास्की निर्वाचन क्षेत्र नं १: रु आठ करोडका ७७ योजना सार्वजनिक « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कास्की निर्वाचन क्षेत्र नं १: रु आठ करोडका ७७ योजना सार्वजनिक


२२ मंसिर २०७७, सोमबार


गण्डकी । कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम एवं प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रम २०७७/०७८ अन्तर्गत छनोट भएका योजना सार्वजनिक गरिएको छ ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी तथा प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र दीपक कोइरालाले रु आठ करोड बराबरका ७७ योजना संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

निर्वाचन क्षेत्रअन्तर्गत रुपा गाउँपालिकामा छ योजनामा रु एक करोड २० लाख, मादी गाउँपालिकाका नौ योजनामा रु एक करोड २५ लाख र पोखरा महानगरपालिकाका १० वडामा रु एक करोड ५५ लाख विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य अधिकारीले जानकारी दिए ।

योजनाअन्तर्गत रुपा गाउँपालिकास्थित रामकोट-रामदी सडकमा रु ५२ लाख, मज्ञ्याङकोट–माउडाँडा सडकमा रु ३० लाख, मादी गाउँपालिका गोर्जे सामुदायिक भवनमा रु २० लाख, कदममार्ग सडक खानेपानी योजनामा रु २५ लाख र पोखरा-२८ स्थित डुडखोला पुलमा रु २५ लाख राखिएको छ ।

त्यसैगरी पोखरा-२७ तालचोक कृषिउपज सङ्कलन तथा बिक्री केन्द्रमा रु २५ लाख, शिवचण्डी मोटर बाटो रुपामा रु २५ लाख, रुपा गाउँपालिका डेरी तथा कृषिउपज सङ्कलन केन्द्रमा रु २० लाखलगायत योजना छनोट गरिएको छ ।

योजना सार्वजनिक गर्दै सांसद अधिकारीले सबैको साथ र सहयोगबाट गुणस्तरीय तथा समयमा विकासनिर्माणका योजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य गुरुङ र कोइरालाले सडक, खानेपानीसंँगै उत्पादनमा जोड दिने गरी योजना छनोट गरिएको जानकारी दिँदै पुस महिनाभित्र योजना सम्झौता गरिनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले विकासनिर्माणको अनुगमनलाई प्रभावकारी बनाइँदै आएको बताउँदै यसमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस