नेपालमा भ्रष्टाचार नियन्त्रण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा भ्रष्टाचार नियन्त्रण


२२ मंसिर २०७७, सोमबार


मानिस स्वभावैले सर्वश्रेष्ठ प्राणी हो । मानिसको विकासक्रम क्रमशः विभिन्न चरण र युगहरू पार गर्दै यहाँसम्म आइपुगेको ऐतिहासिक पृष्ठभूमि छ । जसबाट हामीले बुझ्दै, जान्दै र सिक्दै आएका छौँ । यही सचेत प्राणीलाई आफ्नो हित अनुकूलका कार्यहरू गर्न र सहजता कायम गर्न मन लाग्नु स्वाभाविक नै हो । अन्य प्राणीको विकासको तुलनामा मानिसको विकासक्रम तीव्र रूपमा हुन गएकोले यहाँसम्म आइपुगेको छ ।

यही विवेकशील प्राणी मानिसले राम्रो र नराम्रो, हित तथा अहित, अनुकूल प्रतिकुल सबै चिन्न सक्ने भएर नै सुविधा सम्पन्न संरचनाहरू, स्रोत साधनहरूको समुचित प्रयोग गर्न सक्षम भएको छ । तर यति विवेकी प्राणी भएर पनि मानिसमा यदाकदा अनावश्यक लोभ सृजना हुन गई कहिले काहीँ आफ्नो मात्र स्वार्थ हेर्ने गरेको कारण अवाञ्छित गतिविधिमा संलग्न हुने र अस्वाभाविक कार्यहरू गर्न पनि पछि नपर्ने प्राणीको रूपमा समेत हाल देखा पर्न थालेको छ ।

यसैको प्रतिफलको प्रारूप नै भ्रष्ट आचरण भएको अनुभूति महसुस गर्ने, स्वाभाविक अस्वाभाविक गतिविधि भए नभएको, त्यस्तो कार्य गरे नगरेको भनी छुट्याउने अभिभारा पनि यसै प्राणीको जिम्मा रहेको पाइन्छ । यति हुँदाहुँदै र थाहा पाउँदा पाउँदै पनि मानिसले नै आफ्नो बुद्धि विवेक सही तवरले प्रयोग नगरी दुरुपयोग गर्न पछि नपर्ने काम पनि गर्दै आएको भेटिन्छ ।

भ्रष्टाचार भन्ने शब्द नै मानिस र निजको स्वभाव एवं आचरण तथा सो को प्रतिफलको कार्यसँग प्रत्यक्ष सम्बन्ध रहेको विषय हो । मानिसद्वारा नै हुने तथा गरिने कार्य भएको हुनाले र त्यस्तो कार्य भएको बुझ्ने तथा महसुस गर्ने पनि मानिस नै भएकोले यस भ्रष्टाचार शब्दलाई विन्यास गरी भ्रष्ट र आचार नामकरण गरिएको पनि छ । जन मानसमा यो भ्रष्टाचार भन्ने शब्द नै खराब भन्ने अर्थ दिने शब्दकोरुपमा परिचित भएको छ । यति हुँदा हुँदै पनि मानिसहरूले त्यस्तो अस्वाभाविक कार्य गर्न र त्यस्तो कार्यमा किन र कसरी संलग्न हुने गर्दछन् त भन्ने कुरा सबैको चासोको विषय बन्ने गरेको छ । भ्रष्टाचार उपलब्ध साधन स्रोत शक्ति पद अधिकारको दम्भबाट सृजना हुने र सो का आधारमा घटाइने घटना तथा गरिने कार्य हो ।

यो हरेक क्षेत्रमा हुने गरेको भएता पनि मुख्यतः आर्थिक गतिविधिसँग प्रत्यक्ष रूपमा संलग्न हुने क्षेत्रमा छिटो तथा प्रष्ट रूपमा देखा पर्ने र अनुभव गर्न सकिने भएको कारणले पनि रकम कलमसँग सम्बन्धित रहेर तुलनात्मक रूपमा व्याख्या गरी हेर्ने गरिन्छ । किनकि अन्य क्षेत्रमा आर्थिक क्षेत्रको झैँ गरी छिटो असर र प्रभाव परेको प्रत्यक्ष रूपमा नदेखिने भएकोले पनि भ्रष्टाचार भएको भनेर मान्ने गरिएको छैन ।

हुन त भ्रष्टाचार शब्दको परिभाषा भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रस्टै रूपमा उल्लेख गरिएको छ । तर पनि यथार्थतामा हेर्ने हो भने आर्थिक कारोबार भन्दा फरक विविध क्षेत्रमा हुने गरेका कार्यहरूलाई समेत वर्तमान समयमा भ्रष्टाचार कै रूपमा लिनुपर्ने देखिन आएको छ । उदाहरणको लागि कोही कसैले आफ्नो जिम्मेवारी भित्रको कार्य समयमा सम्पादन नगर्नु, अनावश्यक रूपमा विना कारण ढिलासुस्ती गर्नु, गलत मनसाय बोकेर अस्पष्टता अन्यौलता कायम गराउने, कामचोर प्रवृत्ति देखाउने जस्ता विषयहरू लाई समेत भ्रष्टाचार भित्रै समावेश गर्नु पर्ने भएको छ । विश्वमा कुनै पनि मुलुक भ्रष्टाचारको चपेटामा नपरेको भनी किटानी साथ भन्न सकिने अवस्था वर्तमान समयमा रहेको छैन । विश्वको जुन सुकै मुलुक कुनै न कुनै रूपमा भ्रष्टाचारको चपेटामा परेको नै पाइन्छ तर यति मात्र हो कि भ्रष्टाचारको क्षेत्र, मात्रा र परिमाण मात्र विभिन्न मुलुक अनुसार फरक भएको हुन सक्छ ।

विकसित राष्ट्रका सचेत नागरिकहरूमा त त्यस्तो खराब आचरण यदाकदा घुसेको पाइन्छ भने नेपाल राज्य र अशिक्षित नेपाली नागरिकको माझमा भ्रष्टाचार रहित अवस्थाको समाज र नागरिकको सहजै कल्पना तथा अनुमान गर्न सकिने स्पष्ट आधार र ठाउँ भने रहेको अवश्य पनि छैन । त्यस कारण नेपाल र नेपाली नागरिक यस भ्रष्टाचार शब्द र यसका गतिविधिसँग अछुतो रहेको पक्कै पाइएको छैन । किनभने दैनिक जसो भ्रष्टाचारका गतिविधि भएको र त्यस्ता कार्यहरूमा संलग्न व्यक्तिहरू भेटिने गरेको समाचारहरूले पनि पुष्टि गर्दै आएको पाइएको छ ।

आखिर किन र के कारणले हुने गर्दछन् त यस्तो भ्रष्टाचारजन्य कसुर गतिविधि र कार्यहरू भन्ने विषयको सूक्ष्म अध्ययन गरी कारण पत्ता लगाउनु पर्ने चुनौतीपूर्ण कार्य एकातर्फ छ भने अर्कोतर्फ भ्रष्टाचार कसरी प्रभावकारीरूपमा नियन्त्रण गर्न सकिन्छ त भन्ने विषयको वैकल्पिक मार्ग पहिल्याउनु पर्ने जटिल काम पनि नेपालमा ज्युँ का त्युँ रहेको अवस्था छ ।

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि समयानुकूल ऐन कानुन नियम नियमावली कार्यविधिहरू नबनेका नबनाइएका भने पक्कै होइनन् । त्यस्ता विधि विधानहरू कागजमा मात्र सीमित रहने तथा त्यस्ता अवाञ्छित गतिविधिहरूको रोकावट एवं नियन्त्रण गर्न भनेर संरचनागत सङ्गठनहरू स्थापना नभएका नगरिएका पनि त हैनन् । र पनि आखिर किन प्रभावकारी कार्य हुन सकेको छैन त भन्ने जिज्ञासा जनमानसमा सधैँ उब्जी रहनु पनि अस्वाभाविक भने हैन ।

नेपालमा भ्रष्टाचारका गतिविधि नियन्त्रण तथा रोकावट गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक संरचनात्मक साङ्गठनिक रूपमा गठन गरिएको छ भने भ्रष्टाचार निवारण ऐन २०५९ समेत प्रमुख रूपमा परिचालित र कार्यान्वयनमा रहेको प्रस्टै छ । यस ऐनमा उल्लेख गरिएको दफागत व्यवस्था अक्षरशः पालना र प्रयोग गर्ने तथा कार्यान्वयन हुने हो भने धेरै हद सम्म भ्रष्टाचार जन्य कसुर अवश्य घटेर जाने निश्चित छ । फेरी त्यो ऐन कार्यान्वयन तथा सङ्गठनले कामै गरेको छैन त भनी प्रश्न उठाउने हो भने केहिहद सम्म त काम गरेको र कार्यान्वयनमा रहेको पनि देख्न र सुन्न पाइएको नै छ ।

तर कुरा यति मात्र हो जुन स्तरमा कार्य होला भनेर आशा अभिलाषा अपेक्षा जनमानसमा रहेको थियो त्यो स्तरमा कार्य अघि बढेको छ भनेर भन्न सकिने स्पष्ट आधार भने रहेको पाइएको छैन । किनकि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारीहरूबाट हुने गरेको प्रत्यक्ष आर्थिक अनियमितताका गतिविधिहरू माथि मात्र नियन्त्रणको कार्यक्षेत्र बनाएको आधारमा सहजै अनुमान लगाउन सकिने यथेष्ट प्रमाण रहेको बाट पनि प्रष्टै हुन आएको छ ।

के भ्रष्टाचार केबल कर्मचारीहरूबाट हुने गरेको अनि आर्थिक रूपमा अनियमितता भएकोसँग सम्बन्धित मात्र हो त ? अन्य नीतिगत निर्णयहुने स्थान राजनीतिक क्षेत्रमा लगायत सामाजिक परिवेशमा औद्योगिक व्यापारिक न्यायिक जस्ता अन्य विविध क्षेत्रहरूमा भ्रष्टाचार नहुने नै भएर हो त कानुन तथा साङ्गठनिक निकायले त्यस क्षेत्रमा नजर लगाउनु नपरेको ? यदि होइन भने किन त्यस्ता क्षेत्रमा भ्रष्टाचार नियन्त्रणका कार्यहरू अगाडी बढाउन नसकिइएको । तर जेहोस नेपालमा भ्रष्टाचार जन्य कसुरको सम्बन्धमा हुँदै गरेका प्रयास तथा कार्यहरूलाई विशेष धन्यवाद नागरिकहरुले दिइरहेको नै पाइएको छ ।

जन अपेक्षाअनुरूप काम गर्न कस्ता-कस्ता विकसित मुलुक साधन स्रोतले भरिपूर्ण राष्ट्रले समेत नसकेर आलोचना खेपिरहेका छन् भने नेपाल जस्तो मुलुकले गरेको यस प्रकारको कार्यलाई विशेष धन्यवाद दिनु नै पर्छ । किनकि यहाँको राजनीतिक अस्थिरता जनचेतनाको कमी भौगोलिक विकटता सामाजिक संस्कार साधन स्रोतको अपर्याप्तता आवश्यक जनशक्तिको अभाव लगायतका विविध पक्षहरूको आधारमा हालसम्म सम्पादन भएको कार्यको मूल्याङ्कन गरेर हेर्दा स्पष्ट नै हुन आउँछ । यस्ता विविध बाधा व्यवधान चुनौती हर्को बाबजुदको कार्य अति सह्रानीय नै रहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने प्रत्यक्ष रूपमा आर्थिक अनियमितता जुन नितान्त व्यक्तिगत लाभ सँग सम्बन्धित रहेको छ त्यसले राष्ट्रिय अर्थतन्त्रलाई दूरगामी असर नपारेको हुन सक्छ, त्यस्तालाई नियन्त्रण गर्नु त आवश्यक नै छ ।

जसले राष्ट्रलाई भन्दा पनि सामाजिक संस्कारलाई नकारात्मक असर पारिरहेको हुन्छ तर त्यो भन्दा पनि बढी दूरगामी रूपमा राष्ट्रिय अर्थतन्त्र लाई नै प्रभावित पार्ने क्षेत्रमा हुन जाने भइरहेको भ्रष्टाचार जन्य कसुर जुन अप्रत्यक्ष रूपमा लुप्त रही अस्पष्ट रूपले प्रभाव पार्न खोजेको छ त्यस्तो क्षेत्रमा पनि यस निकाय तथा विधि विधानले सहज रूपमा काम गर्न सकोस् र नियन्त्रणका कार्य गर्ने अवसर विना व्यवधान प्राप्त गरोस् भन्ने अपेक्षा जनमानसमा रहेको छ ।

आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका कार्यमा संलग्न ऐन नियम कार्यविधि लगायत काम गर्ने निकायहरूले निष्पक्ष रूपमा काम गर्न सक्ने गरी अवसर प्रदान गर्नु पर्ने भएको छ । यसका लागि नेपालमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन, राजनीतिक पूर्वाग्रही रहित व्यक्ति स्वच्छ निष्पक्ष रूपमा अनुसन्धान प्रमुखको पदमा नियुक्ति हुने व्यवस्था मिलाउनु पर्छ । जो यस अगाडी त्यस्तो आर्थिक अनियमितता हुने क्षेत्रमा संलग्न नभएको स्वच्छ निष्पक्ष तटस्थ भएको हुनु पर्दछ । त्यस्तो भएमा मात्र नीतिगत व्यवस्थालाई अक्षरशः पालना गर्न सक्ने सम्भावना प्रबल रहन्छ अन्यथा “बोल बोल माछा मुख भरी पानी” भन्ने उखान जस्तै हुन आउँछ ।

यस अगाडी भएको र हुने गरेको कारबाहीको अवस्था कार्यान्वयनको स्थिति यसै अनुसार भएको कारणले पनि अपेक्षित उपलब्धि प्राप्त हुन नसकेको देखिन आएको हो । यस्ता निकायमा कार्यरत प्रमुखहरू जो निष्पक्ष कर्तव्यपरायण निडर अनि शक्ति सम्पन्न साधन स्रोतले भरिपूर्ण हुनु पर्छ तर तिनीहरूले शक्ति र पदको दुरुपयोग गर्न लागेमा तुरुन्तै निजलाई कारण सहित कारबाही स्वरूपको निष्कासनको व्यवस्था समेत गर्न सक्ने अर्को छुट्टै निकाय रहेको हुनु पर्छ । नेपालको सन्दर्भमा संसद् र सर्वोच्च अदालत लाई त्यस्तो अधिकार प्रदान गरेको पाइन्छ । तर तिनै निकायहरू समेत कतिपय अवस्थामा मौन रहने गरेको कारण पनि नेपालमा भ्रष्टाचार नियन्त्रणको पक्षमा भएका कार्यहरू जन अपेक्षा अनुसार हुन नसकेको देखिन आएको छ ।

आगामी दिनमा अवश्य पनि यस्ता विविध पक्षहरूमा सुधार हुन गई भ्रष्टाचार नियन्त्रणको पक्षमा धेरै उपलत्र्धिमुलक कार्यहरू हुने छन् भनी जन अपेक्षा बढेर गएको पाउन थालिएको छ । जसमा राजनीतिक प्रतिबद्धता, राजनीतिक सहमति सहकार्य समेतको कारणले यस विषयमा महत्त्वपूर्ण भूमिका खेल्न थालेको कारण पनि चुनौतीहरू भन्दा अवसरहरू बढेर आएको पाइएको छ । यसै अनुरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार नै काम गर्न सहज परिस्थिति बनोस् भन्ने नागरिकहरूको समयानुसारको अपेक्षा रहेको पाइएको छ ।

अधिकारी माछापुच्छ्रे गाउँपालिका, कास्कीका वडा सचिव हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस