अन्तरपालिका सहकार्य « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अन्तरपालिका सहकार्य


२० मंसिर २०७७, शनिबार


केन्द्रीकृत संरचनाबाट संघीयतामा प्रवेश गरेसँगै देश विकेन्द्रीकरण तिर निर्देशित र अग्रसर भइरहेको छ । संघीयताको उच्चतम प्रयोग गर्दै जाँदा स्थानीय तहहरूमा जिम्मेवारीहरू थपिँदै जाने र अधिक भार पर्ने निश्चित छ ।

स्थानीय तहको विद्यमान स्रोत, साधन, जनशक्ति, अत्यधिक लागत र एकल जोखिम जस्ता कारणले बढ्दो विकेन्द्रीकरणका मागहरू सम्बोधन गर्न सक्ने अवस्था देखिँदैन । सेवा प्रवाहमा प्रभावकारिता र गुणस्तर, दिगो विकास र समस्या समाधानका लागि पालिकाहरू पारस्परिक लाभका क्षेत्र, समान समस्या, बृहत् पूर्वाधार, विपद् तथा वातावरण संरक्षणसँग सम्बन्धित योजना तथा परियोजनाका लागि पालिकाहरू आफ्नो परिधिबाट बाहिर निस्की आसपासका पालिकाहरूसँग समन्वय र सहकार्य गर्नु उचित विकल्प हो ।

अन्तरपालिका सहकार्य मोडलको अवलम्बनले सामूहिक लगानीलाई प्रोत्साहन गर्ने हुँदा पुँजी निर्माणमा सघाऊ पु¥याउनुका साथै लागत घटाउन समेत मदत गर्दछ । साधन स्रोत र पूर्वाधारमा गरिने दोहोरो लागत र कयौँ गुणा व्ययभार घट्ने छ । आर्थिक तथा उद्यमशीलताका क्षेत्रमा गरिने लगानी तथा क्रियाकलापबाट पालिकाहरूको आन्तरिक आयमा वृद्धि हुनेछ । फलस्वरूप पालिकाहरू एकीकृत र दिगो विकास तर्फ उन्मुख हुनुले नागरिकको विकासप्रतिको अपेक्षासमेत सम्बोधन गर्न सकिनेछ ।

युरोपेली देशहरूमा अन्तरपालिका सहकार्य मोडलको धेरै वर्ष अगाडी देखि अवलम्बन गरिँदै आएको छ । त्यहाँका स्थानीय पालिकाले यस मोडलको उच्चतम प्रयोग र सफल कार्यान्वयन गर्दै प्रतिफल हासिल गरिरहेका छन् । यो मोडल सामान्यता पालिकाहरूको पारस्परिक लाभका क्षेत्रमा लगानी, समान समस्याहरूको समाधान र समग्र विकासको अवधारणा भएता पनि नेपालको सन्दर्भमा वर्तमान अवस्थामा केही फोरम तथा सञ्जालहरूको निर्माण, सामान्य कार्यक्रम र एक आपसका सिकाई आदान प्रदान भएता पनि ठोस नीति तथा कार्यान्वयन मोडल र इकाई बनाई एकीकृत योजना, परियोजना र पूर्वाधार निमार्ण जस्ता कार्यान्वयनका चरणमा प्रवेश गरिसकेको अवस्था छैन ।

अन्तरपालिका सहकार्यका क्षेत्रहरू :
फोहर मैला व्यवस्थापन : फोहर मैला व्यवस्थापन विशेष गरी नगरपालिकाहरूका लागि सबैभन्दा जटिल विषय र अत्यधिक व्ययभारका कारण चुनौती भइरहेको छ । फोहर मैलाको उचित र कुशल व्यवस्थापन गर्ने सके पालिकाहरूको लागि समस्या हैन स्रोत बन्न सक्छ । अन्तर पालिका सहकार्य मोडलबाट यसको व्यवस्थापन र लगानी गर्दा ऊर्जा उत्पादनका लागि आवश्यक परिमाणको व्यवस्थापन, वर्गीकरणका लागि स्रोत साधनको व्यवस्था, पुनरुत्पादन र बजारीकरण, सवारी साधन, औजार र आवश्यक जनशक्ति एकै निकायबाट व्यवस्थापन र परिचालन गर्न सकिने छ । फलस्वरूप फोहर मैला व्यवस्थापनको दिगो समाधान र पालिकाहरूको कयौँ गुणा आर्थिक व्ययभार घट्नुका साथै ऊर्जा र पुनरुत्पादन मार्फत आन्तरिक आयसमेत बढाउन सक्दछन् ।

पर्यटन : नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । आन्तरिक तथा वैदेशिक पर्यटक प्रवर्द्धन हरेक स्थानीय तहको लक्ष्य हो र सम्भावनाहरू समेत रहेका छन् । पर्यटनका वृहत् पूर्वाधारहरूको निर्माणमा एकल पालिकाको लगानी पर्याप्त नहुनुका साथै जोखिम पनि धेरै रहन्छ ।

निश्चित क्षेत्र समेटी पर्यटन पूर्वाधारहरूको निर्माण, संस्कृति संरक्षण, पर्यटकीय सेवा सुविधाको व्यवस्था, पद यात्रा, जल यात्रा, विभिन्न साहसिक तथा मनोरञ्जनपूर्ण बृहत् पर्यटकीय स्थलहरूको विकास, प्रचार प्रसार तथा विभिन्न प्याकेजहरू बनाई पर्यटकको बसाई लम्ब्याउन सके समग्र पालिकाहरूले लाभ लिन सक्दछन् ।

जलविद्युत् तथा नवीकरणीय ऊर्जा : ऊर्जामा लगानी प्रतिफलमुखी हुने भएता पनि स्रोत साधन तथा लगानीको दृष्टिकोणले एकल पालिकाले सञ्चालन गर्न कठिन हुन्छ । साना तथा मझौला किसिमका जलविद्युत् आयोजना तथा वायु, सौर्य जस्ता नवीकरणीय ऊर्जाको उत्पादनका क्षेत्रमा अन्तरपालिका सहकार्य मोडल उपयुक्त हुन्छ ।

वातावरण संरक्षण, विपद्को पूर्व तयारी तथा व्यवस्थापन : वातावरणका विभिन्न क्षेत्रहरूको संरक्षण गर्दै जलवायु परिवर्तनका असरहरूको न्यूनीकरणका लागि एकल पालिकाको प्रयास असम्भव देखिन्छ । यो क्षेत्र बृहत् र अन्तर सम्बन्धित भएकोले अन्तरपालिका सहकार्य अपरिहार्य छ । विपद्को पुर्वतयारी र व्यवस्थापन एक अत्यन्तै चुनौतीपूर्ण कार्य हो । विपद् व्यवस्थापनका उपकरण तथा औजारहरू, अनलाइन विपद् सूचना प्रणालीको जडान र अनुगमन स्थल तथा एकाइहरू, कुशल जनशक्तिको उत्पादन तथा परिचालनमा ठुलो लगानी आवश्यक हुनुहुँदा एउटै संयन्त्रका विभिन्न एकाइ बाट सञ्चालन गर्दा ठुलो लागतमा कमी ल्याउनुका अलावा विपद् व्यवस्थापन सहज बन्दछ ।

यातायात प्रणाली, प्रदूषण नियन्त्रण तथा सुरक्षा : अन्तरपालिका सडक र सवारी साधन, सहरी यातायातका साधनहरू जस्तै मेट्रो/मोनो रेल, केबलकार, हरित यातायात, नगर बस, बिसौनीहरू, ट्राफिक पणाली, सुरक्षित सडक र मापदण्ड सडक अनुशासन जस्ता क्षेत्रहरूमा समन्वय तथा सहकार्य, प्रदूषण नियन्त्रणका लागि एउटै नीति तथा सुरक्षाका लागि सी.सी.टी.भि. जडान, अनलाइन सूचना पणाली तथा अनुगमन र नियन्त्रण इकाईको निर्माण जस्ता विषय एकल प्रयासमा सम्भव देखिँदैन ।

सूचना प्रविधि पूर्वाधार : दैनिक कार्यसम्पादन तथा सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाइराख्न, नागरिकको सूचनामा पहुँच र सुसूचित गर्न, नागरिक र पालिकाबीचको सम्बन्ध बनाई राख्न विभिन्न अनुप्रयोगहरूको सञ्चालन तथा पालिकाहरूमा प्रयोग हुने सफ्टवेयरका लागि तथा सूचना प्रविधिका विभिन्न आयामका निम्ति सूचना प्रविधिका पूर्वाधारहरू जस्तै उच्च गतिको इन्टरनेट, अप्टिकल फाइबर, भिडियो कन्फ्रेन्सको सुविधा, अनलाइन सूचना तथा सुरक्षा पणाली जस्ता प्रविधिमा सामूहिक लगानी र प्रयोगमा सहकार्य गर्न सकिन्छ ।

सामान्य अध्ययन अनुसन्धान, एकल अधिकारका विषयहरूमा निर्माण गर्नु पर्ने कानुन, नीति रणनीतिहरू जस्ता सफ्टवेयर कार्यक्रमदेखि ठूला पूर्वाधार, भौतिक निर्माणका उपकरण, औजार तथा साधन स्रोतहरूको प्रयोगमासमेत सहकार्य गर्दै सामूहिक लगानीमा गर्न सके थोरै लगानी तथा साधन स्रोतबाट धेरै फाइदा लिन सक्ने अवस्था छ ।

अन्तरपालिका समन्वय र सहकार्यका आधारहरू : सामान्यता समन्वय र सहकार्यका लागि कुनै निश्चित भूगोल र सिमाले निर्धारण गर्न नसकेता पनि आवश्यकता, सामूहिक प्रतिफल, लगानी र क्षेत्रगत विकासका लागि नेपालको सन्दर्भमा निम्न आधारहरू लिन सकिन्छ ।

जलाधार क्षेत्र : एउटै जलाधार क्षेत्र भित्रका पालिकाहरुबीच समन्वय र सहकार्यको संयन्त्र निर्माण गरी वातावरण संरक्षण गर्दै जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, कृषि तथा सहकारीको प्रवर्द्धन, जडीबुटी तथा औद्योगिक कच्चा पदार्थको उत्पादन, प्रशोधन तथा बजारीकरण, भूमि बैङ्कको स्थापना तथा रोजगारी सिर्जना, ग्रामीण सडक, पदयात्रा र पर्यावरण पर्यटन, जलविद्युत् आदि क्षेत्रमा सहकार्य गर्न सकिन्छ ।

राजमार्ग कोरिडोर : आर्थिक सामाजिक रूपान्तरणका लागि एउटै राजमार्गमा अवस्थित पालिकाहरू बीचको सहकार्य उपलब्धिमूलक हुन सक्दछ । निश्चित दुरी तथा सिटी राजमार्गलाईनै आधार बनाई आर्थिक क्रियाकलाप, उद्योग कलकारखानाका लागि सेजको निर्माण, अन्तरपालिका हुलाकी सडक, सूचना प्रविधिका पूर्वाधार, विपद् व्यवस्थापन, सडक बत्ती, ट्राफिक व्यवस्थापन, पार्क उद्यान, बस बिसौनी, फोहरमैला व्यवस्थापन आदि कार्यहरूमा सहकार्य गर्न सकिन्छ ।

नदी/खोला करिडोर : एक मूल नदी वा खोलालाई आधार मानी सोसँग जडित क्षेत्र भित्रका पालिकाहरूले आफ्नो सहकार्यको क्षेत्र र संयन्त्र तयार गर्न सक्दछन् । जलयात्रा, साहसिक पर्यटन, सिँचाई, जलविद्युत, वातावरण संरक्षण, नदी नियन्त्रण तथा कोरिडोर सडक जस्ता क्षेत्रमा सहकार्य गर्न सकिन्छ ।

उपत्यका/ठुला सहर र जडित क्षेत्र : नेपालमा बसोबासका हिसाबले सुगम क्षेत्रका उपत्यकाहरू घनात्मक हुँदै गइरहेका छन् । समग्र मानव र बस्ती विकासका दृष्टिकोणले उपत्यका उपयुक्त बसोबास स्थान समेत हो । ठूला सहरहरूको निर्माण हुनुले देशको आर्थिक सामाजिक रूपान्तरणमा सघाउ पर्याउँदछ । तर सहरी सेवा सुविधा, सुरक्षा, विपद् व्यवस्थापन, फोहर मैला व्यवस्थापन, वातावरण संरक्षण, सहरी यातायातका विभिन्न माध्यमहरूको निर्माण तथा सञ्चालन सहरी पालिकाहरूको लागि अति नै चुनौतीपूर्ण एवं महत्त्व हुने गरेको छ । उपत्यका क्षेत्र, सम्भावित र विद्यमान ठुला सहर र आसपासका क्षेत्र समेटी मेट्रो सिटीकोेरुपमा विकास गर्न सकिने भएता पनि वर्तमान अवस्थामा कानुनी जटिलताका कारण उपत्यका, ठुला सहरी पालिका र जडित पालिकाहरूको समन्वय र सहकार्य गर्नुको विकल्प देखिँदैन ।

उल्लेखित आधारका अलावा विशेष क्षेत्र, कला, संस्कृति, ऐतिहासिक धरोहर तथा पुरातत्त्व, भाषा, बहुल समुदाय, मौलिक पहिचान, स्थानीय मुख्य उत्पादन, राम सार, सिमसार लगायत कुनै निश्चित परिधि कायम गर्दै नगर – नगर, गाउँ – नगर र गाउँ–गाउँ पालिकाबीच समन्वय र सहकार्यको आधार तय गर्न सकिन्छ ।

लेखक हाल रुरल एण्ड अर्वन कन्सल्ट प्राविमा प्रबन्ध निर्देशकको रूपमा कार्यरत छन्

Tags :
प्रतिक्रिया दिनुहोस