जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना


एजेन्सी

१८ मंसिर २०७७, बिहिबार


टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ ।

जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।

प्रधानमन्त्री योशिहिदे सुगाले गत अक्टोबरमा जापानलाई सन् २०५० भित्र कार्बन तटस्थ मुलुकको दाँजोमा उभ्याउन आवश्यक पहल गर्ने घोषणा गर्नु भएको थियो । प्रधानमन्त्री सुगाले आफ्नो नीति सार्वजनिक गरेलगत्तै ठूला कम्पनीहरुले कार्बन उत्सर्जनलाई नियन्त्रणमा ल्याउने योजनाको मस्यौदा निर्माण गर्न दबाब सिर्जना भएको थियो ।

जापानको उक्त कदमको वातावरण अभियन्ता र राष्ट्रसंघले स्वागत गरेका छन् । जापान अहिले पनि जैविक इन्धनमा ठूलो मात्रामा निर्भर रहेको छ । सरकारले भने जैविक इन्धनको विकल्पमा के कस्ता इन्धन प्रयोगमा ल्याइनेछ भन्ने विस्तृत कार्ययोजना सार्वजनिक गरिसकेको छैन ।

सरकारले सन् २०३० सम्ममा अति न्यून कार्बन उत्सर्जन गर्ने कार ९विद्युतीय र हाइब्रिड० को बिक्रीलाई ५०-७० प्रतिशत पुर्‍याउने लक्ष राखेको छ । सन् २०१९ मा न्यून कार्बन उत्सर्जन गर्ने कारको बिक्री ४० प्रतिशतको हाराहारीमा पुगेको छ ।

गत सेप्टेम्बरमा अमेरिकी राज्य क्यालिफोर्नियाले सन् २०३० सम्ममा आफ्नो राज्यमा बिक्री गरिने कार शून्य-उत्सर्जनयुक्त हुनुपर्ने घोषणा गरेको थियो ।

यसैबीच बेलायतले अझ महत्वाकाँक्षी योजना अघि बढाएको छ । सन् २०३० सम्ममा बेलायतमा सबै प्रकारका पेट्रोल र डिजेल संचालित कारमाथि प्रतिबन्ध लगाउने बेलायत सरकारले घोषणा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस