ओलीको उपस्थितिबिना पनि बैठक सञ्चालन गर्ने प्रचण्ड–नेपालको तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओलीको उपस्थितिबिना पनि बैठक सञ्चालन गर्ने प्रचण्ड–नेपालको तयारी


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने बैठकमा ओलीको उपस्थिति बिना पनि बैठक बस्ने प्रचण्ड नेपालको तयारी रहेको छ । मङ्गलवार बसेको बैठकमा ओलीले उपस्थित हुन नसक्ने जानकारी दिएपछि प्रचण्ड नेपालले ओलीको उपस्थिति नभए पनि बैठक बस्ने तयारी गरेका हुन् ।

मङ्गलवार बसेको सचिवालय बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल भएको थियो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच प्रचण्डको प्रतिवेदनलाई लिएर चर्काचर्की भएको थियो । प्रचण्डको प्रस्तावमाथि छलफल हुन नसक्ने, प्रचण्डले माफी माग्नुपर्ने, अल्पमत र बहुमत नमान्ने र बुधवारको बैठकमा आफू नआउने ओलीले मङ्गलवारै सङ्केत गरेका थिए ।

नेकपा सचिवालय आज पनि : ओली उपस्थित नभए नेकपाको भविष्य अनिश्चित

तर अरू नेताहरूले ओलीको भनाइको प्रतिपाद गर्दै अनौपचारिक संवादसँगै औपचारिक छलफल नरोक्ने अडान लिएका थिए । सोही अनुसार बुधवार दिउँसो १ बजे बैठक बस्ने गरी बैठकले निर्णय गरेको थियो ।

तर, बुधवार बिहान साढे १० बजेसम्म पनि नेताहरुबीच कुनै अनौपचारिक छलफल नभएको ओली र प्रचण्डको सचिवालयले जनाएका छन् ।

नेकपा विवाद : अनौपचारिक र औपचारिक दुवै छलफल जारी रहने

आजका लागि पूर्वनिर्धारित बैठक नरोकिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘पूर्वनिर्धारित बैठक रोकिँदैन ।’ उनले प्रधानमन्त्री तथा अध्यक्ष ओली बैठकमा सहभागी हुने नहुने १ बजे बालुवाटार पुगेपछि मात्रै थाहा हुने बताए ।

नेकपाको स्थायी कमिटी बैठक मङ्सिर १८ मा बोलाइएको छ । यस्तै केन्द्रीय कमिटी बैठक मङ्सिर २५ देखि बोलाइएको छ । ओली स्थायी र केन्द्रीय समितिसमेत निर्धारित मितिबाट पर सार्नुपर्ने पक्षमा छन् । तर प्रचण्ड लगायतका नेताहरू त्यसमा सहमत छैनन् ।

गत कार्तिक २८ गते प्रचण्डले र मङ्सिर १३ गते ओलीले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची बैठकको छ । तर ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोप पत्रको संज्ञा दिँदै उक्त प्रस्ताव अस्वीकार गर्नुपर्ने पक्षमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस