नेकपा सचिवालय आज पनि : ओली उपस्थित नभए नेकपाको भविष्य अनिश्चित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेकपा सचिवालय आज पनि : ओली उपस्थित नभए नेकपाको भविष्य अनिश्चित


१७ मंसिर २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज पनि बस्दै छ । बैठक आज पनि दिउँसो १ बजे बालुवाटारमा बस्ने छ ।

मङ्गलवार बसेको बैठकले दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गरेको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दश दिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर सचिवालयका अन्य सदस्यहरूले बैठक कुनै पनि हालतमा रोक्न नहुने बताएका थिए । अधिकांश सदस्यहरूले प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए । ओलीले भने यो बैठकको कुनै औचित्य नभएको प्रतिक्रिया दिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार आजको बैठकमा ओली उपस्थित हुने सम्भावना न्यून रहेको छ । मङ्गलवारको बैठकमा नै ओलीले आजको बैठकमा उपस्थित हुन नभ्याउने बताएका थिए । तर, ओलीको उपस्थिति बिना पनि आजको बैठक बस्ने बताइएको छ । नेकपा सचिवालयले दिएको जानकारी अनुसार ओली उपस्थित नभए पनि बैठक बस्ने छ । सचिवालयका बहुमत सदस्यहरू सचिवालयमा पेस भएका सबै दस्ताबेज स्थायी कमिटीमा लैजाने पक्षमा छन् ।

मङ्गलवारको बैठकमा पनि चर्काचर्की भएको सचिवालयका सदस्यहरू बताउँछन् । यस अघि मङ्सिर ३ गते बसेको बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बैठक तय गरेको थियो ।

नेकपाका अधिकांश नेताहरूले भने आजको बैठकमा ओली उपस्थित नभए नेकपाको भविष्य नै अनिश्चित हुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस