दमकलको क्षमता र हाईराईज बिल्डिङ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दमकलको क्षमता र हाईराईज बिल्डिङ


१६ मंसिर २०७७, मंगलबार


विश्वभरि नै हाईराईज बिल्डिङ्ग निर्माणको तीव्ररूपमा भएको देखिन्छ । व्यवस्थित सामूहिक आवास र एकीकृत व्यापारको अवधारणाको विकासले यस्ता भवन संरचनाहरू निर्माण भएका हुन् । हाईराईज बिल्डिङ्ग निर्माणसँगै यसमा अग्नि जोखिम र नियन्त्रण कार्य पनि कठिन हुन थाल्यो । आगलागीबाट ठुलो मात्रामा जनधनको क्षति भए पछि हाईराईज बिल्डीङ्ग, अपार्टमेन्टलाई अग्नि सुरक्षा सम्बन्धी कानुनी व्यवस्था गरेको पाइन्छ । सन् १९७६ मा मलेसियामा क्याम्पवेल नामक अठार तले अफिस तथा सपिङ्गमल रहेको हाईराईज बिल्डिङ्गमा आगलागी पछि मलेसियाले हाईराईज बिल्डिङ्ग सम्बन्धी कानुनी व्यवस्था गरेको देखिन्छ ।

काठमाडौँ उपत्यकामा हाईराईज बिल्डिङ्गको संस्कृति बढ्दै गएको छ । सहरमा भवनहरूको उचाइ बढ्दै जाँदा अग्नि जोखिमसँगै नियन्त्रणमा पनि समस्या बढ्दै गएको छ । नेपालमा हाईराईज बिल्डिङ्गको कानुनी व्यवस्थाको बारेमा स्पष्टरूपमा सर्वसाधारणले बुझ्ने गरी सूचना प्रवाह गरेको देखिँदैन । हाईराईज बिल्डिङ्ग, अपार्टमेन्टको नक्सा पास गर्ने निकायलाई यसको व्यवस्थापनको स्पष्ट कानुनी अधिकार दिएमा मात्र यस्ता भवनहरूलाई अग्नि सुरक्षित गर्न सकिन्छ ।

नेपालमा हाईराईज बिल्डिङ्गको मापदण्ड मिति २०७२÷९÷६ को नेपाल सरकार मन्त्री स्तरीय निणर्यनुसार स्वीकृत भई मिति २०७३÷७÷२९ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागबाट जारी गरेको हो । जसलाई राष्ट्रिय भवन संहिता २०७२ नेशनल बिल्डीङ्ग कोड भनिन्छ । यस मापदण्डले व्यवस्था गरे अनुसार पाँच तला वा सोह्र मिटर भन्दा मुनीको उचाइको भवनलाई सामान्य आवासीय भवन भनिएको छ ।

छ तला देखि आठ तला वा सोह्र मिटर देखि माथि पच्चिस मिटर भन्दा तलको भवनलाई मिडियम राईज भनिएको छ । नौ तला देखि उनन्चालिस तला वा पच्चिस मिटर देखि सय मिटरसम्मको भवनलाई हाईराईज बिल्डिङ्ग उल्लेख गरिएको छ । चालिस तला भन्दा माथि र एक सय मिटर माथिको भवनलाई स्काईस्क्रेपर्स भनिएको छ । तर स्काईस्क्रेपर्स भवनको लागि उचाइ र तला बाहेक अन्य मापदण्ड यसमा तोकिएको छैन । हालसम्म नेपालमा स्काईस्क्रेपर्स भवन बनेका छैनन् ।

हाईराईज भवनको तला र उचाइ तोकिए पनि यस्ता संरचनामा अग्नि नियन्त्रणका औजार उपकरण जडान सम्बन्धी सिष्टमको विस्तृत विवरणहरू राईजर, होज रिल, स्प्रीङ्गकलर, स्टेण्डपाईप, होज, नोजल, फायर एक्सटीङ्गगुईसर, होज क्याबिनेट, आगलागी नियन्त्रणको लागि मात्र प्रयोग हुने भूमिगत पानी भण्डारण टयाकीको क्षमता । हाईराईज बिल्डिङ्गको तल्लो तलादेखि माथिल्लो तलासम्म एकनासले पानी फाल्ने क्षमताको इलेक्ट्रिक पम्पको साथै पानीको प्रेसर नियमित गर्ने जक्की पम्पको व्यवस्था हुनु पर्दछ ।

विद्युत् सप्लाई नभएको बेला फायर फाईटिङ्गको सिष्टम चल्न पावर ब्याकअपको लागि डिजेल पम्प अनिवार्यरूपमा हुनु पर्दछ । आगलागीको सूचना दिने पूर्व चेतावनी प्रणाली जडान हुनु पर्दछ । यी सबै कुराको कानुनी व्यवस्था भए पनि यसको नियमनकारी निकायको बारेमा उल्लेख गरिएको छैन । जसको कारण हामी कहाँ भएको हाईराईज बिल्डिङ्गको सेफटी अडिट र नियमित सुरक्षा ड्रिल हुने गरेको छैन ।

यस्ता भवनमा अग्नि सुरक्षाको लागि सेफ्टी अडिट नियमित ड्रिल गराई दमकल कार्यालयले फायर सेफ्टी प्रमाण पत्र जारी गर्ने व्यवस्था हुनु पर्दछ । यो व्यवस्था भएमा मात्र यस्ता भवनमा बस्ने मानिसहरूलाई आगलागीको बारेमा सचेत गराई आगलागी भई हालेमा भवनमा जडान भएको यन्त्र उपकरणको मदतले आगो नियन्त्रण गर्न र सुरक्षित किसिमले घर बाहिर निस्कन सिकाउन सकिन्छ ।

नेपालमा हाईराईज बिल्डिङ्गको अन्तर्राष्ट्रिय मान्यताअनुसार विद्युतीय प्रणाली, धुवाँको व्यवस्थापन तथा लिफ्टको सुरक्षा मापदण्ड तोकिएको पाइँदैन । हाईराईज बिल्डिङ्ग निर्माणमा प्रयोग गरिने सामाग्री जसलाई फायर प्यासीब सिस्टम भनिन्छ । यस्ता वस्तुहरू आगो प्रतिरोधी हुन्छन् जसमा आगो लाग्दैन । यी सबै सुरक्षात्मक व्यवस्था नेपालमा भएको पाइँदैन । जापान र मलेसियामा हाईराईज बिल्डिङ्ग निर्माणको नक्सा पासमा भवन निर्माणसँग सम्बन्धित निकायसँगै दमकल कार्यालयको पनि संलग्नता रहने गरेको पाइन्छ । जसले गर्दा यस्ता भवन संरचनामा निर्माणको प्रभावकारी अनुगमन नियन्त्रण हुन्छ । आगलागी भएमा कसरी आगलागी नियन्त्रण र उद्धार गर्ने भन्ने कुराको योजना दमकल कार्यालयले बनाई दिन्छन् ।

नेपालमा हाईराईज बिल्डिङ र अपार्टमेन्टहरू बनेका छन् । खासगरी काठमाडौँ उपत्यका भित्र रहेका अपार्टमेन्टहरू एघार तला देखि उन्नाइस तलासम्म रहेको पाइन्छ । हालसम्म अड्सठी मिटर अग्लो हाईराईज बिल्डिङ्गको निर्माण भइसकेका छन् । हाईराईज बिल्डिङ्गमा हुन सक्ने आगलागी घटना तथा सो घट्नालाई प्रतिकार्य गर्ने दमकल कार्यालयहरूको जनशक्ति,औजार उपकरणको क्षमतालाई हाईराइज बिल्डिङ्गको उचाइ सँगै बिस्तार गर्नु पर्दछ । यसमा हामी चुकेका छौँ। भोलिका दिनमा यस्ता भवनमा आगलागी हुँदा दमकल कार्यालयको क्षमताले नभ्याएर आगलागी नियन्त्रण तथा उद्धार कार्य हुन सकेन भने स्थिति भयावह हुन सक्छ । बेलैमा पूर्व तयारी गरौँ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

काठमाडौँ दमकलसँग तीस मिटर उचाइसम्मको आगो निभाउने क्षमता छ । उपत्यकामा अड्सठ्ठी मिटरसम्मको हाईराईज बिल्डिङ रहेका छन् । स्मरणीय कुरा के छ भने अग्नी नियन्त्रणको लागि प्रेसरसहितको पानी जरुरी पर्दछ । यस्ता बिल्डिङ्गमा आगलागी भएमा दमकलको पम्पले प्रेसरमा पानी माथिसम्म पुर्याउन सक्दैनन् । सहरी दमकलमा एक हजार पाँच सयदेखि बढीमा चार हजार लिटरसम्म पानी बोक्ने क्षमता हुन्छ । यति पानी यस्तो बिल्डिङ्गको अनी नियन्त्रणको लागी पर्याप्त हुँदैन । हाईराईजमा आगलागी हुँदा भवनमा भएको आगलागी नियन्त्रणको स्थायी संरचना राईजर सिस्टमलाई उपयोग गरी फायर फाईटरहरुले अग्नि नियन्त्रण गर्नु पर्दछ । आपतकालीन अवस्थामा भवनको सिस्टम चुस्त भएन भने ठुलो मात्रामा जनधनको क्षति हुन सक्छ । यस्तो अवस्था आउन नदिनको लागि हाईराईज बिल्डिङ्गको नियमित ड्रिल र सेफटी अडिट गरी अग्नि सुरक्षा प्रमाण पत्र दमकल कार्यालयले जारी गर्नु पर्दछ ।

नेपालमा हाइराईज अपार्टमेन्टको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यसबाट उत्पन्न हुने समस्या चुनौतीकोरूपमा रहेको छ । यस्ता अपार्टमेन्ट र हाईराईज बिल्डिङ्गमा आगलागी भएमा चार तलासम्म फायर फाईटरले ग्राउन्ड ल्याडरको प्रयोग गरी अग्नी नियन्त्रण तथा उद्धार कार्य गर्न सक्छन् । चार तला भन्दा माथि आगलागी भएमा प्रभावकारी अग्नी नियन्त्रण तथा उद्धारको लागि ल्याडर ट्रक आवश्यक पर्दछ । काठमाडौँ दमकलसँग पच्चिस र तीस मिटर क्षमताको दुईवटा ल्याडर ट्रक रहेको छ । तीस मिटरको ल्याडर ट्रकको क्षमता बढीमा दश तलासम्मको हाईराईज बिल्डिङ्गको आगलागी नियन्त्रण तथा उद्धार कार्य गर्न सक्छ । सन १९८० मोडेलका ती ल्याडर ट्रक हाल पूर्णक्षमतामा कार्य गर्न सक्ने अवस्थामा छैनन् ।

आगलागीमा ल्याडर ट्रक घटनास्थलमा परिचालन गर्नको लागि फराकिलो बाटो वरिपरि रुख, बिजुली, टेलिफोनको खम्बा र केबलका तारहरू हुनु हुँदैन । ल्याडर ट्रक भनेको ट्रकमा जडान भएको हाईड्रोलिक सिष्टमबाट चल्ने एक प्रकार स्वचालित भर्याङ्ग हो । यसको टुप्पोमा बकेट हुन्छ । बकेटमा बसेर फायर फाईटरहरुले घटनास्थलमा आवश्यकता अनुसार भर्याङ्गलाई लामो छोटो, दायाँ बायाँ तल माथि गर्न सकिने मेसिन हो । ३६० डिग्री घुम्न सक्ने क्षमता भएको यो मेसिनबाट पीडितको उद्धार र घटनास्थलमा पानी तथा आवश्यक सामाग्री पुर्याउनको लागि जमिन र आकाशमा पर्याप्त खुला ठाउँको जरुरी पर्दछ ।

तर हामी कहाँ भएका हाईराईज बिल्डिङ्गहरुमा यस प्रकारको खुला स्थान धेरै कम अपार्टमेन्टमा मात्र होला । ल्याडर ट्रकबाट अपार्टमेन्टको आगलागी नियन्त्रण तथा उद्धार गर्नको लागि आवश्यक पर्ने खुला स्थानको बारेमा अपार्टमेन्ट सञ्चालकहरूलाई सायद जानकारी पनि छैन होला ।

अर्को महत्त्वपूर्ण कुरा ल्याडर ट्रक हाईराईज बिल्डिङको अग्नि नियन्त्रण तथा उद्धार कार्यको लागि एउटा सहायक साधन मात्र हो । यसको सहायताले अग्ला स्थानमा भएको आगलागीमा फायर फाईटरको पहुँच पुर्याउने मात्र हो । आगलागी भएको भवन संरचना भित्र प्रवेश गरी अग्नी नियन्त्रण तथा उद्धार कार्य गर्ने फायर फाईटरले नै हो । यसको लागि आवश्यक पर्ने तालिम, आधुनिक औजार उपकरणको व्यवस्था हामी कहाँ भएको छैन । विपदको बारेमा जानकारी राख्ने तथा अग्नि विपद् व्यवस्थापन गर्ने दमकलको क्षमताको बारेमा थाहा पाउने नागरिकको अधिकार हो । आगलागी नियन्त्रण तथा उद्धारको पूर्वतयारी, आफ्नो जनशक्ति र क्षमताको बारेमा दमकल कार्यालयहरू पारदर्शी र नागरिक प्रति उत्तरदायी हुनु पर्दछ । अग्नि प्रतिकार्य तथा उद्धारको लागि फायर फाईटरलाई आवश्यक तालिमको लागि दमकल कार्यालय सधैँ प्रयत्नशील रहनु पर्दछ ।

आगलागी नियन्त्रणको लागि साधन, श्रोत, जनशक्ति, तालिम मात्र पनि पर्याप्त हुँदैन । आगलागीको प्रतिकार्यको लागि फायर फाईटरहरुले पूर्व तयारी गर्नु पर्दछ । नियमित रूपमा औजार उपकरणको अभ्यास गर्नु पर्दछ । बेला बेला सरोकारवालासँगको सहकार्यमा कृत्रिम अभ्यास गर्नु पर्दछ । यस्तो ड्रिलले सेवाग्राहीमा सचेतना ल्याउँछ भने फायर फाईटरहरुमा आफ्नो कामप्रति आत्म विश्वास बढाउँछ । दमकल कार्यालयहरूले आफ्नो क्षेत्रमा भएका हाईराईज बिल्डिङ्गको लगत राख्नु पर्दछ । उक्त क्षेत्रमा बाटोको अवस्थाको बारेमा पूर्ण जानकारी राख्नु पर्दछ । अपार्टमेन्टको प्रवेशद्वार त्यसमा बस्ने मानिसको जनसङ्ख्या भवनको आपत्कालीन सुरक्षा योजनाको बारेमा स्थलगतरूपमा नै जानकारी लिनु पर्दछ ।

यस्ता भवनको सुरक्षा व्यवस्थाको बारेमा दमकल कार्यालयहरू जानकार हुनु पर्दछ । यस प्रकारको सूचनाले विपदको बेलामा प्रभावकारीरूपमा छिटो छरितोरूपमा प्रतिकार्य गरी क्षति न्यूनीकरण गर्न सकिन्छ । यसको लागि दमकल कार्यालय र अपार्टमेन्टको व्यवस्थापन बीच समन्वय र सहकार्य हुनु जरुरी छ । हामी कहाँ यस्तो समन्वयको संस्कार विकास भएको पाइँदैन । जसको कारण घटना पछि सूचना र समन्वयको अभावमा प्रभावकारी प्रतिकार्य हुन सक्दैन र आगलागीबाट क्षति बढी हुन्छ । जहाँ समन्वय हुँदैन त्यहाँ एकले अर्कालाई दोष देखाउँदै जिम्मेवारीबाट पन्छिने प्रवृत्ति हाबी हुन्छ ।

भट्टराई काठमाडौँ दमकलका पूर्व प्रमुख हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस