नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई


१३ मंसिर २०७७, शनिबार


झापा, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन् ।

झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उनले भने, ‘भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो ।’

मन्त्री भट्टराईले नेकपामा देखिएको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा पार्टी अघि बढ्ने बताउँदै पार्टीको सचिवालय बैठकले समस्या निकास दिन नसके स्थायी कमिटीको बैठकले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिनेछ भने । उनले भने, ‘स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ ।’

नेकपा अहिलेको अप्ठेरो परिस्थितिबाट विभाजनलाई क्रमभङ्ग गर्दै अघि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपन्थी र चरम वामपन्थीको चलखेललाई विफल तुल्याइने दाबी गरे ।

आगामी वर्ष आन्तरिक पर्यटन वर्ष हुने

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिए । उनले कोभिड-१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पुर्‍याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

मन्त्री भट्टराईले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएर छुट्टीको अवधिलाई आन्तरिक पर्यटन अभिवृद्धिमा लगाउन आफूले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको उल्लेख गर्दै कोरोना महामारीको सङ्कटबाट गुज्रिएको नेपाली पर्यटन क्षेत्र अब अगाडि बढ्न थालिसकेको बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस