नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, कारोबार रकममा नयाँ रेकर्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, कारोबार रकममा नयाँ रेकर्ड


११ मंसिर २०७७, बिहिबार


काठमाडौँ । बिहिबार शेयर बजार परिसूचक नेप्सेले उच्चतम विन्दुको कीर्तिमान कायम गरेको छ । नेप्सेले बिहीबार झण्डै दुई वर्षअघिको १८ सय ८१ विन्दुको रेकर्ड तोडेको हो ।

नेप्से १८.४३ अङ्कले बढेर १८ सय ९३.२४ विन्दुमा पुगेको छ । दिउँसो सवा १२ बजे नेप्से १९ सय २६ अङ्कसम्म पुगेको थियो । तर व्यापार होटल, विकास बैंक, माइक्रो फाइनान्स र जीवन बीमा समूहको शेयर ओरालो लागेपछि नेप्से १८ सय ९३ विन्दुमा रोकिएको हो । बिहीबार बैंकिङ समूहको ३७, अन्य समूहको १५ र जलविद्युत् समूहको शेयर झण्डै सात अङ्कले बढेको छ ।

नेप्सेले कारोबारमा पनि नयाँ रेकर्ड बनाएको छ । यसअघि मङ्सिर ७ गतेको ६ अर्ब ९० करोड रुपैयाँको रेकर्ड तोड्दै नेप्सेमा बिहीबार सात अर्ब ६१ करोड ३० रुपैयाँको कीर्तिमानी कारोबार भएको छ । जसमा दुई सय एक कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर किनबेच भए । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ५८ करोड १३ लाख, नबिल बैंकको ३८ करोड १४ लाख, शिवम् सिमेन्टको २८ करोड ९१ लाख र दूरसञ्चार कम्पनीको २८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आँखुखोला जलविद्युत् आयोजना, हिमालयन ऊर्जा विकास कम्पनी, पाँचथर पावर कम्पनी र एनएमबी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस