पोखरामा एकैदिन थप ७ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

पोखरामा एकैदिन थप ७ जना कोरोना संक्रमितको मृत्यु


५ मंसिर २०७७, शुक्रबार


पोखरा । पोखरामा एकैदिन थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार राति र शुक्रबार बिहान गरी सात जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृत्यु हुनेमा कास्की महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एक जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका-२७ का ७१ वर्षीय संक्रमितको बिहीबार राति गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएके छ । अस्पतालका अनुसार कात्तिक २९ मा कोरोना पुष्टि भएका उनलाई बाइल्याटरन निमोनिया, उच्च रक्तचापको समस्या थियो ।

गण्डकी मेडिकल कलेजमै पोखरा-८ का ५४ वर्षीय पुरुषले शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक २३ मा कोरोना पुष्टि भएका उनी बाइल्याटरल निमोनिया, मृगौला रोग, उच्च रक्तचापबाट समेत पीडित रहेको जनाइएको छ ।

त्यसैगरी तनहुँको म्याग्दे गाउँपालिका-४ का ५१ वर्षीय पुरुषको मेडिकल कलेजमा उपचारकै क्रममा शुक्रबार बिहान अ मृत्यु भएको हो । उनलाई कात्तिक ३ मा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै पोखरा-९ का ६८ वर्षीय संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति ११ बजे मृत्यु भयो । बिहीबार नै कोरोना पुष्टि भएका उनलाई बाइल्याटरल निमोनिया र मधुमेहसमेत थियो । प्रतिष्ठानमै उपचारका क्रममा पोखरा-२१ का ७५ वर्षीय संक्रमितले बिहीबार राति ज्यान गुमाए । बिहीबार नै कोरोना पुष्टि भएका उनलाई पनि निमोनियाले च्यापेको थियो ।

त्यसैगरी शुक्रबार प्रतिष्ठानमा उपचारका क्रममा पोखरा-१७ का २९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शुक्रबार नै कोरोना परीक्षण पोजिटिभ आएका उनलाई निमोनिया र हातखुट्टा गल्ने समस्या देखिएको अस्पतालले जनाएको छ । पोखरा-१३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको प्रतिष्ठानमै उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । उनलाई निमोनिया, मृगौला रोग र मधुमेहको समस्या थियो ।

यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस