चैत्र ११ गतेदेखि बन्द रहेको लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चैत्र ११ गतेदेखि बन्द रहेको लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला


३ मंसिर २०७७, बुधबार


बुटवल। कोरोना भाइरस संक्रमणको सन्त्रासका कारण चैत्र ११ गतेदेखि लकडाउनसँगै बन्द भएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र बुधबारदेखि पर्यटकका लागि खुला गरिएको छ ।

पर्यटकीय स्थलहरु खुला गर्ने सरकारले गरेको निर्णयसँगै कोषको पदाधिकारी स्तरीय बैठकले लुम्बिनी क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो ।

लुम्बिनी बिकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार सरकारको यस्तो निर्णयसँगै अब पर्यटकहरु मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा लगायतका स्थानहरुमा घुम्न सक्नेछन् । लुम्बिनी क्षेत्र खुल्ला गरिएपनि मायामादेबि मन्दिर भने अझै खुल्ला गरिएको छैन् ।

योजना प्रमुख भट्टराईले तत्कालका लागि मन्दिर खुल्ला गर्ने निर्णय भने नभएको बताए । उनका अनुसार लुम्बिनी क्षेत्र घुम्नेहरुका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ ।

पर्यटकहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । बिभिन्न स्थानहरुमा ज्वरो नाप्ने,हातमुख धुने लगायतका ब्यवस्था गरिएको छ । सुरक्षाकर्मी र कोषका कर्मचारीहरुले स्वास्थ्य सुरक्षा मापदण्डबारे निगरानी गर्नेछन् ।

कोषले कोरोना संक्रमणबाट जोगिन र सजगता अपनाउनका लागि पर्यटक बोक्ने ट्याक्सी तथा रिक्साहरुलाई सुरक्षा तालीम दिएको छ । लुम्बिनी क्षेत्रका होटल तथा पर्यटन ब्यवसायीहरुले लुम्बिनी क्षेत्र खुल्ला गर्न पटक पटक माग गर्दै आएका थिए । पर्यटकहरुलाई आकर्षित गर्न लकडाउनकै अवधिमा लुम्बिनी क्षेत्रमा सरसफाई गरेर चिटिक्क पारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस