बुखेँचा ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुखेँचा !


२९ कार्तिक २०७७, शनिबार


तजबिजवाला र बुद्धिजीवी झैँ
महाराजको ठसकमा
टक्क बुँखेचा उभिएको देखेर
हाँसोको फोेहोर छुट्न खोज्छ
मर्यादाको घेरामा फसी
बाध्यताले गाँजेको छ
हाँसोलाई भित्र भित्रै दबाएर
औपचारिकतालाई पूर्णता दिई
मर्यादाको सलामी चढाऊँ छु ।
कारिन्दा भएकै कारण
बुखेँचा हरपल उसको डरले
मेरो शिर झुकेको हेर्न चाहन्छ

लम्पसार परेर
हजुरको साइनो लगाई
वरिपरि घुमेको मन पराउँछ
डरले थुर्रर काँपेर
झरीको जुरेली झैँ बनेको हेर्न आतुर हुन्छ ।

आस्थाको पर्खाल ढलेको कयौँ भयो
विश्वास र भरोसाको बार भत्किएको वर्षौँ भयो
वरिपरि कोकले र कागले घेराबन्दी गरिसक्दा,
सुन ढुकुरले कुरी कुरी गर्दा
मक्किएको अस्तित्वको घमण्ड बोकेर
टक्क महाराजकै ठसकमा उभिइरहन्छ ।

आफूले टेकेको खुट्टा मक्किएको
फिँजाएका हात टुक्रिएर झरेको पत्तो नपाई
खोक्रो विचारको भ्रम छरी
लक्ष्य विहीन पैताला बजारेर
अझै महाराजकै ठसकमा
टक्क उभिन्छ बुखेँचा ।

आवरणमा भरोसा गर्नेहरू
आफैलाई धोका दिइरहेका छन्
रङ्गी विरङ्गी फुलको रस लिन
भमरा झुक्किएका छन्
नाची नाची
अनेकन् बालीनालीको
सुवास र स्वाद लिन
गौँथली र भगेराहरु छुटिरहेको छन् ।

कागले टाउकोमा टेकेर
ओहोर दोहोर गर्दा
हावाको झट्का थाम्न हम्मे हम्मे छ
तर पनि महाराजकै ठसक नछोडी
टक्क उभिएर डर देखाइरहेछ बुँखेचा
मर्यादाको घेराबन्दी छ
मक्एिको थाहा छ
बुँखेचा भए पनि उ सँग
रखवारको मान पदमी छ
त्यसैले मर्यादाको सलामी चढाइरहन बाध्य छु ।

Tags :
प्रतिक्रिया दिनुहोस