काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।
सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीले बताएको छ । केही महिना यता सुरुङमा पुनरावलोकनको काम भइरहेको उनले बताए । उनले भने, ‘सम्भावित सबै ठाउँमा पुनरावलोकन भइरहेको छ ।’
मङ्सिरसम्ममा त्रुटि सच्याए पनि काठमाडौँमै पानी झार्न भने माघ मसान्तसम्म लाग्ने देखिएको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता शाक्यले जानकारी दिए । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उनले जानकारी दिए । उनले भने, ‘पानी भित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ छैन थाहा हुन्छ, समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ ।’
सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ ।
उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले जानकारी दिए । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ । उनले भने, ‘पानी झरेपछि पुरानो संरचनाबाट पानी पठाउने र नयाँ विच्छाइएका पाइपको परीक्षण एउटै समयमा हुनेछ ।’
यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो ।
दुर्घटनाका बारेमा बुज्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।
सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् ।
सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र गेट निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरुले जिम्मेवारी लिएका थिए । इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पीआईएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सीएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सीएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।
काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो ।
विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो ।
केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ ।