सिन्धुपाल्चोकका महाकाव्यकार न्यौपानेलाई देवकोटा पुरस्कार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिन्धुपाल्चोकका महाकाव्यकार न्यौपानेलाई देवकोटा पुरस्कार


२७ कार्तिक २०७७, बिहिबार


सिन्धुपाल्चोक । महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने ‘महाकवि देवकोटा पुरस्कार’बाट सम्मानित भएका छन् ।

नेपाली वाङ्मय प्रतिष्ठानले नेपाली महाकाव्य सिर्जना र प्रकाशनका क्षेत्रमा विशिष्ट योगदान दिएवापत न्यौपानेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

विसं २०२४ कात्तिक २८ गते सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट, कल्लेरी (हाल बलेफी गाउँपालिका वडा नं २) मा जन्मिएका न्यौपानेका दर्जन हाराहारी महाकाव्य प्रकाशित छन् । ‘चन्द्रयुग’ बृहत्तर महाकाव्य रचना र प्रकाशनपछि थप चर्चामा रहेका न्यौपानेले नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएका छन् ।

लोकभाकाको ‘पालुवा’ खण्डकाव्य प्रकाशन गरेर साहित्य यात्रामा उदाएका न्यौपानेका कथा, निबन्ध, नियात्रा, कवितासङ्ग्रह, समालोचना, उपन्यासलगायत चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् । न्यौपानेले नेपाली साहित्यका महाकाव्यकार र महाकाव्यको गहिरो अध्ययन अनुसन्धानसमेत गरेका छन् ।

लामो समयसम्म शिक्षण पेशामा रहनुभएका न्यौपानेले छन्दोबद्ध कविता, नयाँ छन्दकै सिर्जना र मौलिकताका कारण नेपाली साहित्यमा अलग्गै स्थान बनाउन सफल भई यसअघि पनि थुप्रै सम्मान एवम् पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष शैलेन्दुप्रकाश नेपालले रु १० हजार राशिको उक्त पुरस्कार वातावरणानुकूल भएपछि समारोह आयोजना गरी न्यौपानेलाई हस्तान्तरण गरिने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस