वीरगन्जको हनुमान प्याकेजिङ्ग उद्योगमा आगलागी, लाखौँको क्षति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीरगन्जको हनुमान प्याकेजिङ्ग उद्योगमा आगलागी, लाखौँको क्षति


२६ कार्तिक २०७७, बुधबार


वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रतिमा चोकस्थित हनुमान प्याकेजिङ्ग उद्योगमा आज(बुधवार) राती ८ बजेतिर आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

कार्टुन बनाउने प्याकेजिङ्ग उद्योगमा अचानक बिद्युत् सर्ट भई आगलागी हुँदा उद्योगका मेशिनरी पार्टपुर्जा, उत्पादन गरिएका सामाग्री तथा कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा राजेश प्रसाद सिंहलगायतले सञ्चालन गरेको उद्योगमा आगलागीपछि भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

उद्योगमा लागेको आगो वीरगन्ज महानगरपालिकाका २ वटा, कलैया उपमहानगरपालिका र पोखरीया नगरपालिकाको थप १-१ वटा गरी चार वटा दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।

आगलागी भएको उद्योग सम्म जाने बाटो साँघुरो हुँदा आगो नियन्त्रणमा लिन करिब पौने २ घण्टा लागेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस