इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव


प्रशासन संवाददाता

२६ कार्तिक २०७७, बुधबार


बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

इलाका प्रशासन कार्यालयमा भदौ देखि शाखा अधिकृत नभएपछि नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका सबै काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

एकजना शाखा अधिकृत, दुईजना नायब सुब्बा, एकजना सहलेखापाल, एकजना सहायक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एकजना नायब सुब्बा र एकजना कार्यालय सहयोगी मात्रै रहेका छन् । २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारी अभावले सेवा प्रभावित हुँदै आएको छ ।

‘इलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, नाबालिग प्रमाण पत्र र सिफारिस दिने गरेको थियो । तर कर्मचारीको अभाव ती सेवाहरु रोकिएका छन् ,’सहायक प्रमुख जिल्ला अधिकारी नेगीले भने, ‘हामीले इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव भएको विषयमा गृहमन्त्रालयमा पत्राचार गरिसकेका छौँ । तर,अहिलेसम्म कर्मचारी पठाएको छैन् ।’

नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीबासीहरुले सदरमुकाम धाउनु परेको उनले गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस