जागिरेलाई दशैँ–तिहार ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जागिरेलाई दशैँ–तिहार !


२५ कार्तिक २०७७, मंगलबार


दशैँ–तिहार भन्नासाथ नयाँ लुगा लगाउने, मिठो खाने, साथीभाइ, परिवार तथा समाजका बुद्धिजीवी व्यक्तिहरूसँग बसेर भलाकुसारी गर्ने पारिवारिक सद्भाव, श्रद्धा अनि खुसीयालीले भरिएका अत्यन्तै महत्त्वपूर्ण दिनहरूका रूपमा लिइन्छ । तर विडम्बना महामारीले गर्दा अहिले आफ्नैबाट डराउनुपर्ने अवस्था आइलाग्यो । जुन कल्पना बाहिरको कुरा थियो ।

गत वर्षको डिसेम्बर २०१९ को अन्ततिरबाट चीनमा देखिएको कोभिड–१९ महामारीले त्यहाँ मच्चाएको वितण्डालाई अन्तरमनले नियाली रहेको थियो । त्यो बेला नै मनमा लागेको थियो की यो महामारी नेपालमा पनि आइपुग्यो भने यहाँको अवस्था के होला ? नभन्दै चैत्रको पहिलो हप्ता नेपालमा पनि सङ्क्रमित व्यक्ति फेला परे ।

यो जागिरे जीवनमा कार्यालयमा जनतालाई विषम महामारीको अवस्थामा सेवा प्रवाह गर्दा सङ्क्रमितको सम्पर्कमा पनि पुगियो होला । महान् पर्व दशैँ, तिहार, छठ जस्ता महान् पर्वहरू अनि मन डर त्रासले भरिएको छ । वर्ष भरी काम गरी आफ्ना परिवार, साथीभाइ भेट्ने इच्छा मनभरि छ । तर पनि केही निर्णय लिन सकिएका
छैन ।

त्यसो त विश्वमा यस्ता महामारी नदेखिएका होइनन् स्पेनिस फ्लु–१९१८, ब्ल्याक डेथ (कालो मृत्यु)–१३४७, एचआइभी/एड्स १९८१ देखि हालसम्म, बिफर (स्मलपक्स)–१५२०, प्लेग अफ जस्टिनियन (सन् ५४१), तेस्रो प्लेग–१८५५ तथा अन्य केही महामारीले धेरैलाई घरबार विहीन र उनीहरूको जीवनशैली नै परिवर्तन गरिदिएको थियो । तर त्यति बेला महामारी एकबाट अर्कोमा सर्न आजका दिनहरू जस्तो प्रविधिमय वातावरण तथा विविध तीव्र विकास थिएन र स्रोतसाधन पनि थिएन । जुन देशमा बढी सङ्क्रमण देखियो त्यहीँ देशमा मानिसहरूलाई नै प्रत्यक्षरुपमा बढी प्रभाव पर्‍यो ।

यो पुस्ताले धेरै प्राकृतिक विपत्तिहरू सहन परेको अवस्था सबैलाई थाहा छ । विक्रम संवत् २०५१/०५२ बाट जन आन्दोलन सुरु भयो करिब १७ हजार मानिसले ज्यान गुमाए भने धेरै मानिसहरूले घरबार विहीन हुनु पर्‍यो । २०७२ सालको भूकम्पबाट करिब ८०२० जनाको ज्यान गयो । करिब १६००० अशक्त भई दुःखी जीवन बिताइरहेका छन् । हालै विश्व भरी महामारीको रूपमा फैलिइरहेको कोरोनाले नेपालमा डेढ लाख बढी सङ्क्रमित भइसकेका छन् । मृतकको सङ्ख्या पनि बढी रहको छ ।

आफ्नो रित्ती, रिवाज, धर्म, संस्कृति कोही कसैले छोड्न सक्ने अवस्था पनि छैन । यो विषम अवस्थामा हामीले धेरै कुराहरूमा ध्यान दिन जरुरी देखिन्छ । यो साल बाँचियो भने सायद अर्को वर्षसम्म यो महामारी केही नियन्त्रण भइहाल्यो भने यो सालको रमाइलो पनि अर्को वर्ष गरौँला पहिले यहाँ सबै बाँच्नु र बचाउनु छ ।

सँधैभरी कति रमाउनु यो वर्ष आफ्नो घरमा मात्र बसी चाडबाड मनाऔँ नेपाल सरकारले तोकेको सुरक्षा मापदण्डको पालना गरौँ । यो महामारीलाई तपाईँले सामान्य बनाउनु हुन्छ कि जटिल तपाईँको हातमा छ । तपार्इँले सुरक्षा मापदण्ड र सबै खाले निर्देशनहरुलाई पालना गर्नुभएमा यो महामारीबाट बच्न सकिन्छ ।

यहाँ सबै भन्दा बढी दैनिक मजदुरी गर्ने कामदार, कर्मचारी, व्यापारिक केन्द्र तथा विभिन्न जात जातिका शक्तिपिठहरुमा प्रत्यक्षरुपमा प्रभाव परेको हामीले थाहा पाउन सक्छौँ । त्यसैले यी क्षेत्रहरूमा आवत जावत गर्ने जो कोहीले पनि सुरक्षा सम्बन्धी मापदण्डहरूलाई १०० प्रतिशत ध्यान दिन जरुरी देखिन्छ । किन कि त्यस्ता ठाँउहरुमा मानिसहरूको बाक्लो भीड अनि सहभागिता बढी हुने गर्दछ ।

यी क्षेत्रहरूलाई हालको अवस्थामा बन्द गरी बस्न सक्ने अवस्था रहेको देखिँदैन । मजदुरी गर्ने, व्यापार गर्ने तथा आफ्नो घर व्यवहार चलाई दैनिक गुजारा गर्नेहरूलाई यो असम्भव नै छ । तर पनि यसलाई नियन्त्रण गर्न हामी सबैले साथ र सहयोग गर्न अहिलेको अवस्थामा एकदम जरुरी देखिन्छ ।

अत्यावश्यक काम बाहेकका लागि घरबाहिर ननिस्कौँ, टाढाबाट घरमा जाँदै हुनुहुन्छ भने पि.सि.आर. जाँच गरेर मात्र सकभर घरमा जाऔँ सबै मिलीजुली लाग्यौँ भने मात्र यसलाई जित्न सफल हुनेछौँ ।

यदि कसैलाई यो महामारीले सङ्क्रमण गरिसकेको अवस्था छ भने उसलाई माया अनि सहयोग गरौँ । तिरस्कार नगरौँ । आज उहाँलाई सङ्क्रमण भएको छ भोलि हजुरलाई नहोला भन्न सक्ने अवस्था रहँदैन । यो विषम परिस्थितिमा चलिरहेको चाडबाडहरूको माहौललाई मनोरञ्जनको साथमा लैजाऔँ । यो महामारीलाई परास्त गर्नलाई सबैले सहयोग गरौँ । सबैले नयाँ सोचका साथमा लडौँ । अनि मात्र हामी हाम्रो समाज कोरोना मुक्त हुनेछ । अनि देश उज्यालो हुनेछ । यस्तो अवस्था अबको पिँढीले भोग्न नपर्ने वातावरण सिर्जना गरौँ । भोलि इतिहासका पानामा सुनौला अक्षरले यो महामारीलाई परास्त गरेको अभिलेख रहने छ । अनि पुस्तौँ पुस्ताले यो अवस्थालाई सूक्ष्म रूपले अध्ययन गर्ने छन् । अनि भन्नेछन् ‘हाम्रा अग्रजहरू कति भाग्यमानी र कति सहयोगी अनि कति ठुलो आत्मबल’ ।

यो डर र विषम परिस्थितिमा हामी आफ्नैबाट जगजगी मान्नु पर्ने अवस्थामा विजया दशमी तथा शुभ दीपावलीको रौनकले आफन्त र स्वयम आफूलाई नै पिरोलिरहेको छ । हामी सबैलाई यो अवस्थामा विमाता (सौतेनी आमा)ले गर्ने व्यवहारको आवश्यक परेको नभई त्राण (सहारा) को आवश्यकता रहेको छ । पहिले यो महामारीलाई जितौँ अनि मेन्डोलिन, मादल, बाजा, सनाई, मुरलीलगायत विविध वाद्यवादन धुन–सुरमा नाचगान गरी पौँठाजोरी खेल देखाई महामारीलाई परास्त पारौँला । अनि त्यो महामारीको क्रन्दन (रुवाई)को वेदना भित्री मनले श्रव्य गरी सहृदयी (दयालु) मनले आफ्ना कुण्ठा (दबिएका इच्छा) लाई नित्य (सधैँ) का लागि निश्चल, निष्कपट, स्निग्ध अनि पुलकित भई उल्लासका साथ सबैलाई देखिने गरी प्रदर्शन गरी रमाऔँला र दुःखान्तक अवस्थालाई स्मृति पुञ्ज बनाई सज्जी–सजाई गरी राखौँला ।

अहिलेको यो समय डढेर महामारीसँग जुध्ने र सामना गर्ने हो । हामीले यो महामारीलाई परास्त पार्नै पर्छ । सबैभन्दा बढी जोखिमको संघारमा रहेका भगवानरुपी व्यक्तित्वहरूमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सबै क्षेत्रमा काम गर्ने कर्मचारीहरू तथा विविध क्षेत्रका स्वयमसेवकहरुलाई यो महामारीसँग जुध्ने र लड्ने क्षमता दुर्गामाता तथा लक्ष्मीमाताले प्रदान गरुन् । सबै हामी जहाँ छौँ त्यहीँबाट एक आपसमा यो महामारी विरुद्ध आजैका दिनबाट लागौँ । हामी सबै सफल हुनेछौँ । अनि मात्र हाम्रा सबै सपनाहरू साकार हुनेछन् ।

अन्त्यमा यो जगतमा मानिसले मानिसकै लागि सहयोगको भावनाले एक अर्कालाई यस्तो महामारीको अवस्थामा सहायता गरेन भने त्यो मानिस र बाटोमा हिँडिरहेको जनावरबीच के नै भिन्नता होला र ?

प्रतिक्रिया दिनुहोस