सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्छ : अध्यक्ष आचार्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्छ : अध्यक्ष आचार्य


प्रशासन संवाददाता

२० कार्तिक २०७७, बिहिबार


काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको कोरोनाले मिडिया क्षेत्रमा पारेको प्रभाव विषयक अन्तरक्रियामा उनले सरकार, महासंघ, मिडिया सञ्चालक मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

समस्या आएपछि मिडिया सञ्चालकहरुले पत्रकारहरुलाई बेतलवी बिदामा राख्ने गरेको भन्दै उनले मिडियामा समस्या रहेको बताए । अग्रभागमा रहेर काम गर्नुपर्ने पत्रकारले आफै स्वास्थ्य सुरक्षाको साधन किनेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

श्रमजीवि पत्रकारहरुको हक हितका लागि सम्झौताहिन ढङ्गले काम गर्ने बताउँदै उनले भने, ‘श्रमजीवीको पक्षमा कुनै सम्झौता हुन सक्दैन ।’ नेपालमा पत्रकारिता क्षेत्रमा भएका कानून कार्यान्वयनमा आउन नसक्दा कोरोना कहरको समयमा पत्रकारिता क्षेत्रमा समस्या आएको उनको भनाइ थियो । उनले भने, ‘कानूनमा भएका कुरा कार्यान्वयनमा आउन नसक्दा अहिले समस्या आएको हो ।’ समानुपातिक विज्ञापन प्रणाली, पत्रकार कल्याण कोषमा विज्ञापनको दश प्रतिशत रकम राख्ने, लेखन क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यक्रम गर्ने तयारी भइरहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

मिडिया वन्द हुनु जनताको आवाज वन्द हुनु भएको भन्दै उनले स्थानीय तहले पनि अहिले सहयोग गर्नुपर्ने बताए । स्थानीय तहले शिक्षा र चेतनामूलक सन्देश मिडियाबाट प्रकाशन, प्रसारण गरेर सहयोग गर्नुपर्नेमा उनले जोड दिए । देशभरमा ४ सय दश पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको सो अवसरमा जानकारी दिइयो । तीमध्ये ४ जनाको मृत्यु भई सकेको र ८० जना उपचारका क्रममा रहेका छन् । देशभरि १३ हजार जना नेपाल पत्रकार महासंघको सदस्य रहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लामा दश पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । जिल्लामा २१ अनलाईन, चार टेलिभिजन, २३ एफएम रेडियो, ६ दैनिक पत्रिका र १६ वटा साप्ताहिक पत्रिका सञ्चालनमा रहेका छन् । सो अवसरमा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शालिग्राम नेपाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार तिलकराम रिमाल, कोमलचन्द्र भगत, रमेश पौडेल, रमेशकुमार पौडेल, राजेश घिमिरे लगायतले अहिलेको अवस्थामा सञ्चार गृह संञ्चालनका लागि समेत कठिन भएको बताएका थिए ।

महासंघ र प्रेस काउन्सिलले देशभर विभिन्न जिल्लामा मिडियाको अवस्थाका बारेमा अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउने सो अवसरमा जानकारी दिइयो ।

Tags :
प्रतिक्रिया दिनुहोस