काठमाडौं । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सप्तरीका दुई जना र मोरङका एकजनाको बिहीबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।
सप्तरीको राजविराज-१ की २३ वर्षीया युवतीको कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि १९ गते उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।
एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका पिडित उनको बिहिबार बिहान ३ः१५ बजे मृत्यु भएको डा.श्रेष्ठले बताए ।
त्यसैगरी सप्तरीकै राजविराज-८ का ६५ वर्षीय पुरूषको बिहान ८ बजे मृत्यु भएको श्रेष्ठले बताए । ६५ वर्षीय पुरूषमा भने कात्तिक १५ गते संक्रमण पुष्टि भएको र सोही दिन उनी अस्पताल भर्ना भएका थिए ।
त्यसैगरी कात्तिक ९ गते अस्पतालमा भर्ना भएका मोरङका ५९ वर्षीय पुरूषमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो । डा. श्रेष्ठका अनुसार उनी हाइपरटेन्सन र मुटुका रोगी थिए ।