विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाबाट एक जना ६५ वर्षीय भुटानी शरणार्थी र इलामको की ८४ वर्षीया वृद्धा महिलाको बुधबार बिहान मृत्यु भएको हो ।
झापाको दमक-३ बेलगाँडी शरणार्थी शिविरमा बस्दै आएका भुटानी शरणार्थी ६५ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएकोभन्दै कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि ल्याइएका पुरुषलाई त्यही दिन कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताए । ‘अस्पताल भर्ना हुँदा अवस्था गम्भीर बनिसकेको थियो,’ उनले भने, ‘उपचार थाल्दै बचाउने प्रयास गरिएको भए पनि ६ दिनपछि मृत्यु भयो ।’
त्यस्तै इलामको चुलाचुली-६ की ८४ वर्षीया वृद्धा महिलाको पनि बिहान २ बजेतिर मृत्यु भएको छ । उनलाई पनि दमको पुरानै समस्या रहेको दाहालले बताए । श्वासप्रश्वासमा समस्या रहेकोभन्दै वृद्धालाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
अस्पताल भर्ना गरेर उपचार थाल्दै स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आएको प्रबन्धक दाहालको भनाइ छ । ‘उपचार सुरु गरेर पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भयो,’ उनले भने, ‘थप उपचारका लागि तत्काल आइसोलेसनमा भर्ना गरिएको केही घण्टामै वृद्धाको मृत्यु भएको हो