प्रमबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रमबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित


१८ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को आज लोकार्पण गरेका छन् । सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दै यसका पक्षमा जनतालाई निरन्तर जागरूक र सचेत गराउन आग्रह गरे।

“सधैँ सत्यका पछि लाग्नुपर्छ । यस क्रममा एक्लै भए पनि सत्यका पछि लाग्दा अन्ततः सत्यकै विजय हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ ।” वर्तमान सरकारकै कार्यकालमा उक्त भूमिलाई नेपालको नक्सामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको थियो ।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घका नेता अधिकारी सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर) का अध्यक्षसमेत हुन् । अधिकारीले राष्ट्र, राष्ट्रियता, समृद्ध नेपाल र सामाजिक सद्भावका विषयमा रच्नुभएका लोकभाकासहितका छ गीत एल्बममा सङ्कलन गरिएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद डा विजय सुब्बा र प्रा. केशव सुवेदीले गीतकार र गायकलाई शुभेच्छा व्यक्त गरेका थिए ।

कमला अधिकारीको निर्माण रहेको सो एल्बममा गायक, संकलक तथा रचनाकार अधिकारी हुन् । सङ्गीत संयोजन अशोक लोहरुङ राई गर्नुभएको छ भने गायनमा दुर्गा परियार र विना भट्टराईले साथ दिएका छन् ।

यसैबिच प्रधानमन्त्री ओलीसँग आज अभिनेत्री मनीषा कोइरालाले प्रधानमन्त्री निवासमा भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस