नरवणेको भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउनेछ : भारत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नरवणेको भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउनेछ : भारत


१८ कार्तिक २०७७, मंगलबार


काठमाडौं । भारतले बुधबारदेखि हुने आफ्ना स्थल सेना प्रमुखको नेपाल भ्रमणले दुई देशका सेनाबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सञ्‍चारकर्मीहरुको जिज्ञासामा काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता नविन कुमारले त्यस्तो धारणा राखेका हुन् ।

‘जनरल नरवणेको प्रमुखले दुई देशका सेनाबीचको लामो र परम्परागत मित्रवत सम्बन्धलाई थप सुदृढ बनाउनेछ,’ प्रवक्ता कुमारले भनेका छन् । साथै उनले भ्रमणले दुई पक्षीय रक्षा साझेदारीका क्षेत्रका विषयमा छलफल गर्न अवसर प्रदान गर्ने र आपसी हितका लागि त्यसलाई थप सुदृढ बनाउन नयाँ अवसरहरुको ढोका खोल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

भारतीय स्थलसेना प्रमुख नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा बुधबार नेपाल आउँदैछन् । नरवणेले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन् । दुई देशबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परा रहँदै आएको छ । सोही परम्पराअनुसार प्रधानसेनापति थापाको औपचारिक निम्तोमा नरवणे नेपाल आउन लागेका हुन् ।

रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले सोही दिन औपचारिक भेटवार्ता गर्ने छन् । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस