मुकेश चौरसिया हत्या प्रकरण : प्रहरीले जाहेरी दर्ता किन गरेन ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुकेश चौरसिया हत्या प्रकरण : प्रहरीले जाहेरी दर्ता किन गरेन ?


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौं । पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीमा कात्तिक ६ गते नेकपाको सपथ ग्रहण कार्यक्रममा कुटपिटबाट हत्या भएका मुकेश चौरसियको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेताहरुले माग गरेका छन् । उक्त घटनामा पीडित पक्षले दिएको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको पनि नेकपा पर्साले जानकारी दिएको छ ।

बुधबार नेकपा पर्साका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत हत्यामा संलग्नलाई कारबाही गर्न तथा चौरसियालाई शहीद घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

नेकपा नेताहरु मातृका यादव, विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झालगायतका नेताहरुले संयुक्त विज्ञप्ति निकालेर पीडित निवेदकको यथाशीघ्र जोहरी दर्ता गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

गत बिहीबार विन्दवासिनी–५ प्रसौनीमा गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रमस्थलमा नेकपाकै दुई समूहबीच झडप हुँदा घाइते चौरसियाको उपचारक्रममा शुक्रबार मृत्यु भएको थियो । मृत्यु भएको ६ दिन बितिसक्दा पनि प्रहरीले कर्तव्य ज्यानको जाहेरी दर्ता गर्न मानेको छैन ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै स्थायी कमिटी सदस्य यादवसहितका ३७ जना केन्द्रीय सदस्यले चौरसियाको हत्याबारे गम्भीर ध्यानाकर्षण भएको बताउँदै घटना सुनियोजित भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको प्रकृति हेर्दा सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ । घटनाको जति भर्त्सना गरे पनि कमै हुन्छ, त्यसैले यस घटनाका सम्पूर्ण दोषीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्छ ।’

यस्तै प्रहरीले पीडित पक्षको जाहेरी दर्ता नगरी कानुनी राज्यको खिल्ली उडाएको भन्दै नेकपाका नेताहरुले प्रहरी आफ्नो कर्तव्यबाट च्युत भएको बताएका छन् ।

उनीहरुले भनेका छन्, ‘जाहेरी दर्तासमेत नगरेर प्रहरीले कानुनी राज्यको खिल्ली उडाएको देखिन्छ । प्रहरी आफ्नो कर्तव्यबाट च्यूत भएको छ । झन् जिल्ला प्रहरी प्रमुखबाट अमूक व्यक्तिको नाम राख र अमूक व्यक्तिको हटाऊ भन्नुले अपराधलाई प्रश्रय दिएको देखिन्छ, पीडितको जाहेरी यथाशीघ्र दर्ता गरी हत्यारालाई कारवाही, मृतकलाई सहिद घोषणा, परिवारलाई राहत, घाइतेहरुको नि:शुल्क उपचार र कर्तव्यच्यूत भएका जिल्ला प्रहरी प्रमुखलाई उचित कारवाहीको माग गरिएको छ ।’

नेकपा विन्दवासनी गाउँपालिकास्तरीय कमिटी विस्तारका क्रममा आसन ग्रहण गराउने विषयमा भएको कुटाकुटमा परी गम्भीर घाइते भएका चौरसियाको यही कात्तिक ७ गते मृत्यु भएको थियो । चौरसिया हत्याको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

परिवारले दिएको किटानी जाहेरी दर्ता नभएसम्म चौरसियाको शव नबुझ्ने अडानका कारण पाँच दिनदेखि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस