अमेरिकी विदेश मन्त्री भारतमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी विदेश मन्त्री भारतमा


११ कार्तिक २०७७, मंगलबार


अमेरिका । संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ सोमबार भारत आइपुगेका छन्।

भारत–अमेरिका मन्त्री स्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँ दिल्ली आएका हुन्। बैठकमा विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइएको छ ।

छलफलमा भारतीय पक्षबाट विदेश मन्त्री एस जय शंकर र रक्षा मन्त्री राजनाथ सिंह रहने अधिकारीहरूले जनाएका छन्। मंगलबार हुने भारत र अमेरिकाबिचको यो बैठक तेस्रो उच्चस्तरीय बैठक हो।

भारत प्रस्थान गर्नु अघि अमेरिकी विदेश मन्त्री पोम्पेओले ट्विट गर्दै भनेका थिए, म भारत, श्रीलङ्का, मालदिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदै छु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरूबिच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो।

भारत र अमेरिकाबिचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबिचको अन्तरक्रिया तथा प्रतिरक्षा व्यापारका बारेमा पनि छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यसअघि दुई मुलुकबिच सेप्टेम्बर २०१८ मा नयाँ दिल्लीमा र सन् २०१९ मा वासिङ्टन डिसीमा यस्तै मन्त्री स्तरीय बैठकहरू भएका थिए।

प्रतिक्रिया दिनुहोस