‘सिमाना’ मुक्तक सङ्ग्रह सिमानामा विमोचन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘सिमाना’ मुक्तक सङ्ग्रह सिमानामा विमोचन


८ कार्तिक २०७७, शनिबार


काठमाडौँ । साहित्यकार महानन्द ढकालको नविनतम् कृति सिमाना मुक्तक सङ्ग्रह नेपाल–भारतको सिमाना बाँकेको जमुनाहा दशगजा क्षेत्रमा विमोचन गरिएको छ ।

कार्यक्रममा उपस्थित साहित्यकारहरू केशव सिग्देल, सन्तोषी विष्ट, कपिल अन्जान, बद्री ढकाल हीरामणि, विक्रम शिशिर, सुमित्रा न्यौपाने, केशव निमेष, उषातानी सुवेदी र कृतिकार महानन्द ढकालले दशगजा क्षेत्रमा उभिएर संयुक्त रूपमा सिमाना मुक्तक सङ्ग्रहको विमोचन गरेका हुन् । झन्डै तीन दशकदेखि साहित्य साधनामा क्रियाशील ढकालको यो पाँचौँ कृति हो ।

देश काल परिस्थितिलाई राम्रोसँग बुझेका ढकालका यस कृतिमा समेटिएका धेरै मुक्तकहरू देश प्रेमले भरिएका छन् । पटक पटक हुने सीमा माथिको अतिक्रमणले हरेक लेखकको मन छुने हुनाले ढकालले पनि सामाजिक विकृति, विसङ्गति एवम् सीमा रक्षाका लागि लेखिएका मुक्तकहरूलाई सिमाना मुक्तक सङ्ग्रहमा सङ्ग्रहित गरेका हुन् ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका ढकालले ‘खण्डित आत्मा’ गजल सङ्ग्रह , ‘उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरू’ संयुक्त गजल सङ्ग्रह र ‘अव्यक्त प्रत्यासा’ गजल सङ्ग्रह र ‘घाम उदाए’ हाइकु सङ्ग्रह पछि पाँचौँ कृतिको रूपमा सिमाना मुक्तक सङ्ग्रह लिएर आएका हुन् ।

यो मुक्तक सङ्ग्रह सिमाना हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशन गरेको हो । विभिन्न कृतिहरू प्रकाशन गरेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले यस पटक फरक तरिकाले कृतिको विमोचन गरेको छ । सीमासँग सम्बन्धित पुस्तक भएकोले संस्थाका अध्यक्ष महानन्द ढकालको कृतिको विमोचन सिमाना मै गर्ने निर्णय गरिएको बताए ।

(८७+१३) पृष्ठमा समेटिएको मुक्तक सङ्ग्रहमा सङ्कलित हरेक मुक्तकहरूको शब्द चित्र कलाकारहरू विक्रम शिशिर र आयुष्मा ढकालले कोरेका हुन् । कृति आवरण वरिष्ठ कलाकार देवेन्द्र थुम्केलीको रहेको छ ।

कृति विमोचन पश्चात् साहित्यकारहरू सकारात्मक सन्देश प्रवाह गर्नका लागि भारतको लक्ष्मणपुर बाँधका कारण प्रत्येक वर्ष डुबानमा पर्ने नेपालको अत्यन्तै प्रभावित राप्ती पारीका क्षेत्रहरूसम्म पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस